‘अनि म स्थायी जागिर खाने निर्णयमा पुगेँ’
शिवराम रोकाया लेखा अधिकृत
सीटीईभीटी कर्णाली प्रदेश कार्यालय, सुर्खेत
प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद् (सीटीईभीटी) कर्णाली प्रदेश कार्यालय सुर्खेतका लेखा अधिकृत हुन् शिवराम रोकाया । जागिरको दौरानमा सहकारी, इन्सोरेन्स कम्पनी, बैंक र अस्पताल हुँदै २०७२ सालदेखि उनी सीटीईभीटीईमा जोडिएका छन् । जीवनमा अभावको सामना गर्नुपर्छ ।
परिवारमा आर्थिक अवस्था कमजोर हुँदा सोचेका योजना र बुनिएका रहरहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्ने हुन्छ । त्यसमा पनि गाउँमा बसोबास भएका व्यक्तिलाई अझ सहरमा पसेर उच्च शिक्षा हासिल गर्ने र स्थायी जागिर खानु भनेको सहज छैन । तर पनि शिवरामले निरन्तर मेहनत गरे । जसले आफ्नो सपना पूरा गर्न सफल पनि भए । प्रस्तुत छ, उनै रोकायको जीवन भोगाइ र रोजगारीको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :
संघर्षमै वित्यो बाल्यकाल
बुवा स्व. मानबहादुर रोकाया र आमा मोतीकला रोकायाका साइला छोरा हुन् शिवराम रोकाया । विसं २०४३ बैशाख ५ गते सुर्खेतको चिङगाड गाउँपालिका वडा नं. २ पारीलेखमा उनको जन्मभयो । निम्न बर्गिय परिवारमा हुर्किर्एका उनको बाल्यकाल सुखद् रहेन । उनी १० बर्षकै छँदा बुवालाई गुमाए ।
साथीभाईसँग हाँस्ने र खेल्ने उमेरमा उनले कुटोकोदालो गरे । घाँसदाउरा मेलापात र खेतबारीमा आमालाई सघाए । जीवनसाथी गुमाउँदाको पीडामा छटपटाएकी आमाको घाउमा मलम लगाए । उनले हिम्मत हारेनन् । आमालाई दुखमा सघाए ।
पढ्नका लागि संघर्ष
जनता माध्यमिक विद्यालय रानीवासीबाट शिवरामले औपचारिक पढाइ सुरु गरे । कखरादेखि एसएलसी सम्मको पढाइ रानीवासबाट पुरा गरे । तर पढ्नका लागि भने उनले निकै संघर्ष गर्नुप¥यो । कक्षा ४ मा पढ्दै गर्दा बुवाको मृत्यु भयो । त्योबेला उनी भर्खर १० बर्षका थिए । ‘बुवाको मृत्युपछि घरायसी काममै व्यस्त भएँ’ उनी भन्छन्, ‘केही बर्षसम्म त नियमित स्कुल जानै पाइँन ।’ नियमित स्कुल नगए पनि परीक्षा दिन भने छुटाएनन् ।
‘स्कुलमा त सधै गयल हुन्थँे, तर परीक्षा दिन छोडिनँ’ उनी थप्छन्, ‘९ कक्षामा पनि ५० प्रतिशत मात्रै स्कुल जान्थेँ ।’ कक्षा दशमा निकै मेहनत गरे । सधै निल हुने रानीवासबाट २०५९ सालमा तीनजना एसएलसी पास भए । त्यहीमध्ये एक थिए शिवराम । ‘मसहित तीन जनाले रानीवासबाट नियमित (रेगुलर) एसएलसी पास गरेका हौँ’ उनी भन्छन्, ‘२०५९ सालमा हामीले इतिहास नै रच्यौँ ।’
माध्यमिक तह पुरा भएपछि शिवराम उच्च शिक्षा पढ्न वीरेन्द्रनगर झरे । अमरज्योति माध्यमिक विद्यालय नेवारेबाट व्यवस्थापन विषयमा प्लसटु गरे । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट स्नातक र महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट स्नातकोत्तर गरेका छन् । पढाइमा उनी मध्यमस्तका विद्यार्थी थिए ।
पढ्दै जागिर गर्दै
कमजोर आर्थिक स्थिती र सानैमा बुवा गुमाउनु पर्दा शिवरामलाई उच्च शिक्षा अध्ययन गर्न सहज थिएन । गाउँमा उच्च शिक्षा पढाइ हुने क्याम्पसहरु थिएनन् । उच्च शिक्षा पढ्न वीरेन्द्रनगर झर्नै पथ्र्याे । वीरेन्द्रनगरमा बस्नलाई आर्थिक अभाव थियो । तर उनलाई उच्च शिक्षा पढ्ने ठूलो इच्छा थियो । यहीकारण उनले जागिर गर्दै उच्च शिक्षा पढ्ने योजना बनाए । संयोग एसएलसीपछि गाउँकै एउटा सहकारी संस्थामा काम गर्ने अवसर पाए । प्लसटु सकिएपछि एशिएन लाइफ इन्सोरेन्स कम्पनीमा जागिर गरे ।
थप सेवा सुविधा पाउने भएपछि प्राइम लाइफ इन्सोरेन्नमा जोडिए । स्नातक तहमा पढ्दै गर्दा प्राइम लाइफमा जागिर गर्न दैलेख पुगे । स्नातक सकिएपछि भने इन्सोरेन्स कम्पनीको जागिर छोडिदिए । त्यसपछि मेघा बैंकमा जागिर गर्न थाले । बैंकमा पनि थोरै समय काम गरे । स्थानीय जागिरको तयारी गर्न काठमाडौं पुगे । काठमाडौंमा जागिर गर्दै लोकसेवा आयोगको तयारी गरे । २०६९ देखि २०७२ सम्म निजामति कर्मचारी अस्पताल सेवा गरे ।
जब बैंकको जागिर छोडे…
बैंक तथा वित्तिय क्षेत्रमा काम गर्ने शिवरामको सानैदेखिको सपना हो । त्यही सपना पुरा गर्ने उद्देश्यले उच्च शिक्षा अध्ययन गरे । सहकारी, इन्सोरेन्स र बैंकमा जागिर गरे । तर एकदिन अस्थायी जागिरले जीन्दगी सहज रुपमा चलाउन नसकिने निष्कर्ष निकाले । ‘अस्थायी जागिरको के भर ? जतिबेला जे पनि हुनसक्छ ? फेरि दुःख अनुसारको पारिश्रम पनि पाउन मुश्कील पर्छ । एक दिन उनले यस्तै कुरा मनमा खेलाए । तर मनको कुरा मनमै राख्न सकेनन् । जीवनसाथी यादवी खत्रीसँग मनको कुरा साँटे ।
त्योबेला यादवी एनसीसी बैंकमा जागिर गर्थिन् । ‘स्थायी जागिर त खानैपर्छ’ यादवीले शिवरामको मनकै कुरा गरिन्, ‘जागिर गरेर म पैसा पठाउँछु, तपाइँ काठमाडौँ गएर लोकसेवा पढ्नोस् ।’ त्यसपछि उनले बैंकको जागिर छोडेर काठमाडौं पुगे । जुनसुकै क्षेत्रमा भए पनि स्थायी जागिर गर्न योजना बनाएका शिवरामले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को परीक्षामा उत्तिर्ण भए । २०७२ साल साउन ४ गतेदेखि सीटीइभीटीईमा जोडिएका उनले तत्कालीन पश्चिम क्षेत्रिय कार्यालय कोहलपुर, भेरी प्राविधिक शिक्षालय नेपालगञ्ज, सहिद नेत्रलाल अभागी बहुप्राविधिक शिक्षालय सल्यानमा पुगेर सेवा गर्ने अवसर पाए । २०७६ सालदेखि उनी सीटीइभीटीइको प्रादेशिक कार्यालय कर्णाली सुर्खेतमा लेखा अधिकृतको रुपमा कार्यरत छन् ।
प्राविधिक शिक्षाको गुणस्तरमा सुधारौं
प्राविधिक शिक्षा जीवन उपयोगी शिक्षा हो । प्राविधिक शिक्षा अध्ययन गरेका प्रायः व्यक्तिहरु बेरोजगार हुँदैनन् । अर्थात प्राविधिक शिक्षा अध्ययन गरेपछि सहजै रोजगारीको अवसर पाउन सकिन्छ । त्यहीकारण पछिल्लो समय प्राविधिक शिक्षाप्रति धेरैको झुकाव छ । प्राविधिक शिक्षा राज्यको पनि प्राथमिकतामा छ । कर्णाली प्रदेशकै करिव ९० प्रतिशत क्षेत्रमा प्राविधिक शिक्षा पुगिसकेको छ । विडम्बना प्राविधिक शिक्षाको गुणस्तरमा भने सोचे अनुसार हुन सकेको छैन ।
सामुदायिक विद्यालय र आंगिक क्याम्पसमार्फत गाउँगाउँमा प्राविधिक शिक्षा पुगिसको छ । तर प्राविधिक शिक्षा अध्ययन गराउने जनशक्ति भने ठूलो अभाव छ । प्राविधिक शिक्षाका लागि स्थायी दरबन्दी छैन । दरबन्दी नहुँदा अस्थायी जनशक्तिले काम चलाउनुपर्ने बाध्यता छ । निजी स्रोतबाट शिक्षकलाई तलव खुवाउनुपर्ने बाध्यताका कारण विद्यालयहरुले कोर्ष पुरा हुन वित्तिकै शिक्षकलाई विदाइ गर्नुपर्ने बाध्यता छ । जसले गर्दा प्राविधिक शिक्षाको गुणस्तर सोचे जस्तो छैन ।
यहीकारण प्राविधिक शिक्षाको गुणस्तर कायम गर्न स्थायी जनशक्ति व्यवस्थापन गर्नुपर्ने शिवरामको सुझाव छ । संघीय संरचना अनुसार ऐन संशोधन र प्रादेशिक कार्यालयहरुमा अधिकारहरु दिनुपर्ने उनी बताउँछन् । ‘२०४५ सालमा बनेको ऐनमा सीटीइभीटीइको प्रादेशिक संरचना छैन, यसलाई तत्काल संशोधन आवश्यक विकेन्द्रीकृत गर्नुपर्छ’ उनी भन्छन्, ‘कामकाजी कार्यालय मात्रै होइन, अब संघीय संरचना अनुसार प्रादेशिक कार्यालयहरुलाई पनि अधिकार दिनुपर्दछ ।’ ऐनमा प्रादेशिक संरचना नभए पनि केन्द्र सरकार अन्तरगतको सीटीइभीटीइले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी हेर्दै आएको छ ।
