काँक्रेविहार क्षेत्रको जग्गा एकीन गर्न पुनः नापजाँच गर्ने तयारी

सुर्खेत, १८ माघ ।
नापी कार्यालय सुर्खेतको नक्साकंनमा काँक्रेविहार संरक्षित क्षेत्रको क्षेत्रफल एक सय ६७ हेक्टर कायम छ । तर राजपत्रमा भने काँक्रेविहार क्षेत्रकै कुल क्षेत्रफल एक सय ७५.५ हेक्टर रहेको उल्लेख छ । यी दुबै विवरण सरकारी निकायकै आधिकारीक तथ्याकं हुन् । तर सरकारी तथ्याकंमै ऐतिहासिक महत्वको पर्यटकीय क्षेत्र काँक्रेविहारको क्षेत्रफलबारे एकरुपता छैन ।

तथ्याकंअनुसार झण्डै आठ हेक्टर क्षेत्रफल फरक देखिन्छ । कर्णालीकै प्रमुख पर्यटकीय क्षेत्रको जग्गाको बारेमा सरकारी तथ्याकंमै दुविधा पैदा भएपछि पुनः नापजाँच गर्ने तयारी गरिएको हो । पछिल्लो समय काँक्रेविहार क्षेत्रको जग्गा अतिक्रमणमा परेको हुनसक्ने आशंकामा स्थानीयले बारम्बार आवाज पनि उठाउँदै आएका छन् । यहीकारण काँक्रेविहार क्षेत्रको जग्गाको एकीन गर्न पुनः नापजाँच गर्न लागिएको हो । नापजाँचपछि जग्गाको एकीन हुने विश्वास गरिएको छ ।

पुनर्निर्माणपछिको शिखर शैलीको काँक्रेविहार । तस्बिर : हरिहरसिंह राठौर/कान्तिपुर

नापी कार्यालयले २०२९ सालमा गरेको नक्साकंनलाई आधार मानेर काँक्रेविहारको क्षेत्रफल एकसय ६७ हेक्टर कायम गरिएको हो भने वन विभागले जीपीएस प्रविधिबाट गरेको नक्साकंनलाई आधार मानेर राजपत्रमा काँक्रेविहार क्षेत्रको क्षेत्रफल एक सय ७५.५ हेक्टर कायम गरिएको हो ।

सरकारी तथ्याकंमै फरक– फरक क्षेत्रफल कायम हुँदा कसलाई आधिकारिक मान्ने भन्ने अन्यौलता छ । तथ्याकं फरक पर्दा काँक्रेविहारको क्षेत्रको जग्गा स्थानीयबाट अतिक्रमणमा परेको हो की सर्वसाधारणको जग्गा काँक्रेविहार संरक्षित क्षेत्रले अतिक्रमण गरेको हो भन्ने विवाद छ । यद्यपी सरकारी अधिकारीहरुले भने अतिक्रमण नहुँदै यसअघि नापजाँच भएका कारण काँक्रेविहारको क्षेत्रफल राजपत्रमा कम देखिएको तर्क गर्दै आएका छन् ।


यही दुविधालाई हटाउन झण्डै पाँच दशक अर्थात ४९ बर्षपछि पुनः काँक्रेविहार क्षेत्रको नापजाँच हुने भएको हो । पछिल्लो समय काँक्रेविहार क्षेत्रको कम्पाउण्डिङमा विवाद बढेपछि सरोकारवाला निकाय काँक्रेविहारको पुनः नक्साकंन र नापजाँच गर्न तयार भएका छन् । काँक्रेविहार क्षेत्रको जग्गा स्थानीयले अतिक्रमण गरेको आरोपसहित उच्च अदालत सुर्खेतमा मुद्दा दायर भएपछि अदालतले पुनः नापजाँच गर्न आदेश दिएको थियो । सोही आदेशअनुसार काँक्रेविहार क्षेत्रको पुनः नक्साकंन गर्न लागिएको हो ।

फागुनभित्र काम सक्ने लक्ष्य
डिभिजन वन कार्यालय सुर्खेतले फागुनको तेस्रो हप्ताभित्र काँक्रेविहारको पुनः नापजाँच सक्ने तयारी गरेको छ । ‘पुनः नापजाँचका लागि समिति गठन भइसकेको छ’ सुर्खेतका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले भने, ‘फागुनको तेस्रो हप्ताभित्र काम सम्पन्न हुन्छ ।’ नापी कार्यालयले प्रयोग गर्दै आएको आधुनिक र सर्वमान्य प्रविधिबाट काँक्रेविहार वन क्षेत्रको पुनः नापजाँच हुने रावलले बताए ।

‘आधुनिक प्रविधिको प्रयोग गरेर काम हुन्छ’ उनले भने, ‘पुनः नापजाँचपछि क्षेत्रफलको दुविधा हट्छ ।’ पुनः नापजाँचपछि वन क्षेत्र अतिक्रमण भए÷नभएको एकिन हुनेछ भने कम्पाउण्डिङमा देखिएको विवाद पनि अन्त्य हुनेछ । विवाद समाधान भएपछि काँक्रेविहारको संरक्षणका लागि कम्पाउण्डिङले गति लिनेछ । यसअघि नै काँक्रेविहारको संरक्षण तथा विकासका लागि भन्दै डिभिजन वन कार्यालय ५० लाख र वीरेन्द्रनगर नगरपालिकाले तीन करोड बजेट छुट् याएको छ ।

वनले काँक्रेविहार जैवि मार्ग तथा वन संरक्षण व्यवस्थापन, विरुवा खरिद र रोपण, वन्यजन्तुको बासस्थानको झाडी सरसफाइ, वन डढेलो नियन्त्रण र औजार खरिद, काँक्रेविहार वन संरक्षण क्षेत्र व्यवस्थापन परिषद गठन, पोखरी तथा कुवा निर्माण, गस्ती परिचालन, काँक्रेविहार संरक्षण वन क्षेत्र व्यवस्थापन कार्ययोजना पुनरावलोकन, सीमांकन तथा नाप नक्सा अध्यावधि र प्रचारप्रसारका रकम विनियोजन गरेको हो । नगरपालिकाले भने काँक्रेविहारमा जंगल सफारी, मिनी चिडियाखाना, पदमार्ग, जरायो गणना तथा बासस्थान अध्ययन लगायतको कामहरु काम गर्ने योजनासहित बजेट विनियोजन गरेको हो ।

प्राविधिक समिति गठन
काँक्रेविहार संरक्षित क्षेत्रको पुनः नापजाँच गर्नका लागि समिति गठन गरिएको छ । जिल्ला वन क्षेत्र समन्वय समितिले काँक्रेविहार वन क्षेत्रको पुनः नापजाँच गर्न लागेको हो । जसका लागि पाँच सदस्यीय प्राविधिक समिति गठन गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतका सहायक वन अधिकृत कृष्णराम धितालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिमा डिभिजन वन कार्यालय सुर्खेत, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय र वीरेन्द्रनगर नगरपालिका प्राविधिकहरु छन् । समितिले छिट्टै काम सुरु गर्ने तयारी गरेको छ ।



ताजा समाचार