कर्णालीको विकासका लागि केन्द्रको ध्यानाकर्षण गराउने सांसदको अठोट
सुर्खेत, १३ माघ ।
राष्ट्रियसभा सदस्य पदका लागि भएको निर्वाचनमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनबाट काँग्रेसकी दुर्गा गुरुङ, माओवादीका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा विजय भएका हुन् । गुरुङले दुई हजार नौ सय ७० मत ल्याउँदा विष्ट र बोहोराले समान तीन हजार ६ मत ल्याएर विजयी भए ।
यसक्रममा गठबन्धनको पक्षमा खसेको तीन मत बदर भयो । तीन मत बदर हुँदा गुरुङले गठबन्धनका अन्य उम्मेद्वार भन्दा ३६ मत कम ल्याइन् । कुल एकसय ९१ मतदाता मध्ये एकसय ८९ जनाले मतदानमा भाग लिएका थिए । कर्णालीमा प्रदेशसभाका ३४ जना सांसद र स्थानीय तहका प्रमुख÷उपप्रमुख, अध्यक्ष÷उपाध्यक्ष गरेर एक ५५ जनाले मात्रै निर्वाचनमा भाग लिए ।
एकजना प्रदेश सभा सदस्य र एक जना पालिकाका उपप्रमुख मतदानमा अनुपस्थित भए । राप्रपाबाट निर्वाचित प्रदेशसभाका सांसद शोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाका उपप्रमुख दन्ता नेपाली मतदानमा अनुपस्थित भए । शाही पार्टीको निर्देशनअनुसार मतदानमा सहभागी नभएकी हुन् भने नेपाली देश बाहिर रहेका कारण मतदानमा अनुपस्थित भइन् ।
त्यस्तै पराजित भएमा एमालेका गंगा थापा महतले एक हजार चार सय १६, पदमबहादुर माझीले एक हजार तीन सय ९८ र चुडामणि शर्माले एक हजार चार सय १६ मत ल्याए । राष्ट्रियसभा निर्वाचनका लागि बुधबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । नवनिर्वाचित राष्ट्रियसभाका सांसदहरुले कर्णालीको विकासका लागि निरन्तर खबरदारी गर्ने बताएका छन् ।
कर्णालीको आर्थिक, भौतिक र शैक्षिक विकासका लागि केन्द्रको ध्यानाकर्षण गराउने र आवश्यक पहल गर्ने उनीहरुको अठोट छ । कर्णालीको गरिवी न्यूनिकरण र सामाजिक विकासमा लागि पहरेदारी गर्ने नव निर्वाचित सांसदहरुले प्रतिबद्धता जनाएका छन् । ‘कर्णालीको समग्र विकासका लागि हाम्रो निरन्तर प्रयास रहनेछ’ सांसदहरुले भने, ‘संघीयताको कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न गराउन भूमिका खेल्छौँ ।’ साथै उनीहरुले केन्द्र सरकारलाई कर्णालीमा लगानी बढाउन पनि आफूहरुले संसदमा भूमिका खेल्ने बताए ।
‘कर्णालीको विकासमा क्रियाशील हुन्छु’ : गुरुङ
नेपाली काँग्रेसबाट निर्वाचित राष्ट्रियसभाका सदस्य दुर्गा गुरुङले कर्णालीको समग्र विकासका लागि भूमिका खेल्ने बताइन् । ‘कर्णाली प्रदेश विकासमा अन्य प्रदेशभन्दा पछाडि छ’ उनले भनिन्, ‘कर्णालीलाई पनि अन्य प्रदेश सरह विकसित बनाउन पहल गर्छु ।’ कर्णालीको विकास लागि राष्ट्रियसभाबाट निरन्तर आवाज उठाउने उनले बताइन् । ‘कर्णालीको आर्थिक, भौतिक र शैक्षिक विकासका लागि राष्ट्रियसभाबाट खबरदारी गर्नेछु’ उनले भनिन्, ‘कर्णालीमा गरिव न्यूनिकरण र सामाजिक विभेद हटाउन मेरो विशेष पहल रहनेछ ।’
‘संघीयतालाई संस्थागत गर्नेतर्फ केन्द्रीत हुन्छु’ : विष्ट
नेकपा माओवादी केन्द्रबाट राष्ट्रियसभामा निर्वाचित सांसद नरबहादुर विष्टले संघीयतालाई संस्थागत गर्न भूमिका खेल्ने बताए । ‘संघीयता र गणतन्त्रलाई संस्थागत गर्न भूमिका खेल्छु’ उनले भने, कर्णालीलाई थप अधिकार सम्पन्न गर्नका लागि प्रयास गर्छु ।’ संघीयतालाई संस्थागत गर्नका लागि प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न गराउन भूमिका खेल्ने उनले बताए । ‘संघीयता आए पनि प्रदेश र स्थानीय तहका कतिपय अधिकारहरु अहिले पनि संघमा नै छन्’ उनले थपे, ‘राष्ट्रियसभामा रहेर प्रदेश सरकारलाई र स्थानीय तहलाई अधिकार सम्पन्न गराउन पहल गर्छु ।’ विष्टले कर्णालीको शिक्षा, स्वास्थ्य र रोजगारी र पूर्वाधारको विकासका लागि भूमिका खेल्ने बताए ।
‘प्रदेश र स्थानीय तहलाई थप अधिकार दिलाउँछु’ : बोहोरा
नेकपा एकीकृत समाजवादीबाट निर्वाचित राष्ट्रियसभाका सदस्य उदयबहादुर बोहोरोले कर्णालीको विकाससँगै स्थानीय तह र प्रदेश सरकारलाई थप अधिकार सम्पन्न गराउन भूमिका खेल्ने बताए । ‘संघीयता कार्यान्वयन आएको लामो समय भयो, तर अझै पनि प्रदेश र स्थानीय तहले अधिकार नै पाएका छैनन्’ उनले भने, ‘प्रदेश र स्थानीय तहलाई थप अधिकार सम्पन्न गराउँदै कर्णालीको विकासमा टेवा पु¥याउन मेरो मुख्य भूमिका हुन्छ ।’ प्रदेश र स्थानीय तह अधिकार सम्पन्न नहुँदासम्म मुलुकको विकास नहुने उनले तर्क गरे । उनले पनि कर्णालीको शैक्षिक, आर्थिक, भौतिक र सामाजिक विकासमा लागि भूमिका खेल्ने बताए ।
