वीरेन्द्रनगरमा ‘छाडा चौपाया’ को चुनौती : सहकारीमार्फत व्यवस्थापन गर्ने कसरत
सुर्खेत, १३ माघ ।
यसै त साँघुरा वीरेन्द्रनगरका सडक । त्यसमाथि प्रदेश राजधानी भएपछि सवारी साधनको चाप पनि बढेको छ । सवारी साधनको चाप बढेपछि दुर्घटनाको जोखिम पनि बढ्दो छ । पछिल्ला दिनमा सडकमा दुर्घटना हुनुमा छाडा चौपाया पनि कारण बनेका छन् । सडकमा छाडिएका चौपायाका कारण तीव्र गतिमा कुद्ने सावारी साधनहरु दुर्घटनामा पर्ने गरेका छन् ।
दुर्घटनाका कारण एकतिर मानवीय क्षति हुने गरेको छ भने अर्कोतर्फ पशुचौपाया पनि मर्ने र घाइते हुने गरेका छन् । बजार र सडकमा छाडिएका चौपायाको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिकाको हो । तर छाडा चौपायाको व्यवस्थापन वीरेन्द्रनगरका लागि चुनौतीको विषय बनेको छ ।
विगतमा बजार क्षेत्रमा छाडिएका चौपायालाई नगरपालिकाले काञ्जिहाउसमा राख्ने र भेरी नदी कटाउने गरेको थियो । तर पछिल्लो समय यसतर्फ नगरपालिकाले चासो दिएको छैन । जसले गर्दा पनि वीरेन्द्रनगरका मुख्य बजार, सडक र चोकमा चौपायाले कब्जा नै जमाउन थालेका छन् ।
जसले गर्दा वीरेन्द्रनगरमा सवारी साधनको दुर्घटनाको बढ्दो छ । तर यसलाई नगरपालिकाले गम्भिर रुपमा लिएको देखिदैन । छाडा चौपायाको व्यवस्थापनमा हालसम्मका प्रयासहरु सफल हुन सकेका छैनन् । छाडा पशुचौया नियन्त्रणमा लिएर राख्न भन्दै नगरपालिकाले सञ्चालन गर्दै आएको कान्जिहाउस पनि बर्षौंदेखि प्रयोगविहीन बनेको छ ।
अर्कोतर्फ चौपायाको व्यवस्थापनमा प्रदेश सरकारले पनि प्रयास नगरेको होइन। तर नगरपालिका, प्रदेश सरकार र निजी क्षेत्रको प्रयास सफल हुन नसकिरहेको बेला वीरेन्द्रनगरका केही युवाहरु तिनै चौपायाको व्यवस्थापनमा जुटेका छन् ।
सहकारीमार्फत चौपायाको व्यवस्थापन गर्ने कसरत
कर्णाली स्वयंसेवक दलमा आबद्ध युवाहरुले ‘सुन्दर कर्णाली गौशाला तथा सरसफाइ व्यवस्थापन बहुउद्देश्यीय सहकारी संस्था’ नै दर्ता गरेर सडकमा छाडिएका चौपायाको व्यवस्थापन गर्ने कसरतमा जुटेका हुन् । वीरेन्द्रनगर क्षेत्रमा रहेका छाडा चौपाया व्यवस्थापन गर्ने उद्देश्य राखेर ताराकेशर पौडेलको अध्यक्षतामा उनीहरुले सहकारी नै दर्ता गरेका छन् ।
कानुनी रुपमा सहकारी दर्ता गरेका उनीहरुल अब छिट्टै सहकारी सञ्चालन गर्ने र नगर क्षेत्रमा रहेका छाडा चौपायाको व्यवस्थापन गर्ने तयारी गरेका हुन् । वीरेन्द्रनगर वडा नं. ७ मा कार्यालय स्थापना गरेर सहकारी सञ्चालनमा गर्ने र कुनै सामुदायिक वनमा गौशाला बनाएर चौपायाको व्यवस्थापन गर्ने तयारी भइरहेको सहकारीका उपाध्यक्ष प्रवाशकुमार शाक्यले जानकारी दिए ।
चौपाया व्यवस्थापनका लागि उनीहरुले सामुदायिक वनसँग समन्वय र स्थलहरुको सम्भाव्यता अध्ययन गरिरहेका छन् । सामुदायिक वनको कुनै कुनामा व्यवस्थित रुपले पशुपालन गर्ने सहकारीको उद्देश्य छ । गौलाशाको लागि उनीहरुले पूर्वको भेरी नदी किनार नजिकै र पश्चिमको रानीघाट नजिकको जंगलहरु उपयुक्त भएको निष्कर्ष निकालेका छन् । दुबै क्षेत्रमा जंगलको केही भाग खाली छ । बोटबिरुवा नभएको र नदी किनार नजिकैको गौलाशा बनाउने सहकारीको योजना छ । तत्काल पशुचौपायालाई सुरक्षित रुपामा पाल्ने र पछि दुध तथा मलमुत्र बिक्रीवितरण गर्ने सहकारीको उद्देश्य रहेको शाक्यले बताए ।
‘चौपायाको व्यवस्थापन भए दुर्घटना घट्छ’
वीरेन्द्रनगरका सडकमा रहेका छाडा चौपायाको व्यवस्थापन भएमा नगर क्षेत्रमा हुने आधा गाडी दुर्घटना न्यूनिकरण हुने ट्राफिक प्रहरीको अपेक्षा छ । ‘पशुचौपायाकै कारण वीरेन्द्रनगरमा दिन प्रतिदिन दुर्घटना बढिरहेका छन्’ सुर्खेतका ट्राफिक प्रहरी प्रमुख उपेन्द्रप्रसाद आचार्यले भने, ‘चौपाया व्यवस्थापन भए आधा जति दुर्घटना न्युनिकरण हुन्छ ।
’सडकबाट चौपाया हटाउन सकेको खण्डमा सवारी साधनको दुर्घटना घट्ने, आवागमनमा पनि सहज हुने र पशुहरु पनि सुरक्षित हुने उनले बताए । चौपायाकै कारण सवारी साधनको दुर्घटना बढेको, दुर्घटनाका कारण चौपायाको मृत्यु, घाइते तथा अंगभंग हुने गरेको छ । चौपाया व्यवस्थापन भएको खण्डमा ट्राफिक व्यवस्थापनमा पनि ठूलो राहत मिल्ने प्रहरीको विश्वास छ ।
