दैलेखबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारणमा जोडियो, महाबुको सौर्य आयोजना अन्तिम चरणमा
दैलेख, १३ माघ ।
दैलेख नौमुले गाउँपालिकामा निर्माण भएका दुईवटा जलविद्युत् आयोजनाबाट ८.२५ मेघावाट विद्युत राष्ट्रिय प्रशारणलाईनमा जडान गरिएको छ । दैलेखबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारणलाईनमा जडान कर्णाली प्रदेशकै पहिलो हो । विद्युत उत्पादन सफल परीक्षण भएको छ । नौमुले गाउँपालिका–३ द्वारीमा निर्माण भएको ३.७५ मेगावाट क्षमताको द्वारी जलविद्युत् आयोजना र सोही गाउँपालिकाको वडा नं. ४ मा निर्माण भएको ४.५ मेगावाट क्षमताको पदमखोला जलविद्युत् आयोजनाको सफल परीक्षण भएको हो ।
दुई वर्षअघि निर्माण सम्पन्न भएको द्वारी हाइड्रोपावर र भर्खरैमात्र निर्माण सम्पन्न भएको पदमखोला हाइड्रोपावरको परीक्षण गरिएसँगै दैलेख अब अँध्यारोमुक्त हुने आशा पलाएको छ । द्वारी र पदमखोला हाइड्रोपावरबाट उत्पादन भएको बिजुली सिधै राष्ट्रिय प्रसारणमा जान थालेपछि दैलेखका बासिन्दाले बत्तीको सुविधा पाउन सकेका थिएनन् ।
कम्पनीले गरेको विद्युत् खरिद सम्झौतामा समेत आपतकालीन अवस्थामा आइसोलेसन (अफग्रिड) मोडमा विद्युत् उत्पादन गरेर जिल्लालाई प्रदान गर्नुपर्ने प्रावधान राखिएको छ । त्यही प्रावधानअनुसार दुवै आयोजनाले ग्रिड लाइनमा बत्ती नआएको बेलामा आइसोलेसन मोडबाट विद्युत् उत्पादन गरेर जिल्ला सदरमुकाम दैलेखमा वितरणका लागि परीक्षण थालेका थिए र त्यसको परीक्षण सफल भएको नेपाल विद्युत् प्राधिकरण, विद्युत् वितरण केन्द्र दैलेखले जनाएको छ ।
नेपाल विद्युत् प्राधिकरण दैलेख केन्द्र दैलेखका प्रमुख गौरव पाण्डेले कोहलपुर–सुर्खेत लाइन अवरुद्ध हुँदा दैलेखमा समेत विद्युत् अवरुद्ध हुने समस्या अब समाधान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले पावरहाउस निर्माण गरेको भारतीय कम्पनीबाट इन्जिनियरले आइसोलेसन मोड सञ्चालन गर्ने काम सुरु गरिएको र अब विद्युत् नियमित हुनेछ ।’
‘पहिलो चरण अर्थात् यही माघ १५ गतेभित्र दैलेख सदरमुकाम पूर्ण लोडसेडिङमुक्त हुनेछ भने चैतभित्र दुल्लु क्षेत्र र असारसम्म जिल्ला नै लोडसेडिङमुक्त बनाउने अभियानको थालनी गरिएको दैलेख शाखाका प्रमुख पाण्डेले जानकारी दिनुभयो । उहाँले दुईवटै हाइड्रोबाट ८.२५ मेगावाट विद्युत् उत्पादन हुने भए पनि अहिले पानीको बहाव घटेसँगै उत्पादनमा समेत कमी आएको बताउनुभयो । उहाँले अहिले दुई मेगावाट विद्युत् उत्पादन भएको जानकारी दिनुभयो ।
महावुको सौर्य आयोजना अन्तिम चरणमा
जिल्लाको महावु गाउँपालिका–३ बासीको रिठ्ठामा निर्माणाधीन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ । सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी बासी रिठ्ठाका ४६६ घरधुरीमा जडान गर्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको छ करोड ५३ लाख रुपियाँको लगानीमा गोरखा कस्मिक जेभी काठमाडौँ ठेक्का दिएको हो ।
ठेकेदार कम्पनीका सिनियर प्राविधिक गोकर्ण आलेले आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको दाबी गर्नुभयो । उहाँले गत फागुनमा सम्झौता भए पनि कोरोनाका कारण काम साउन महिनादेखि सुरु भएको र पावरहाउस निर्माण भएपछि अन्य पोलिङको काम सुरु गरिएको जानकारी दिनुभयो ।
यो आयोजनामा ३२५ वाट क्षमताका ३७० हजार सोलार पाता जडान गरिएको छ, जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ । यो प्लान्टले २४ घण्टा विद्युत् उत्पादन गर्नेछ । यसैबीच, जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिले पावरहाउस निर्माण र पक्की शौचालय निर्माणको सार्वजनिक सुनुवाइ गरेको छ ।
उपभोक्ता समिति र कम्पनीबीच १७ लाख रुपियाँमा निर्माण गर्ने सम्झौता भए पनि पावरहाउस र पक्की शौचालय निर्माण गर्न २९ लाख रुपियाँ खर्च भएपछि सार्वजनिक सुनुवाइबाट खर्चको अनुमोदन पनि गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष धनबहादुर मल्लले पावरहाउस निर्माण गर्दा उपभोक्ताले दुई दिन श्रमदान गर्ने निर्णय भए पनि उपभोक्ताले नै श्रमदान नगरेको र कोरोना महामारीबीच आयोजना निर्माणको काम थाल्दा आफ्नो १३ लाखभन्दा बढी व्यक्तिगत लगानी लागेको बताउनुभयो ।
