‘जनतासँग गरेका अधिकांश प्रतिबद्धताहरु पूरा भइसके’
यतिबेला देशमा स्थानीय तहको नयाँ निर्वाचन गर्ने वा नगर्ने भन्ने बहस चर्किएको छ । जनताको सबैभन्दा नजिकको सरकार मानिने स्थानीय तहमा जनप्रतिनिधिको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । यसकारण पनि नयाँ निर्वाचनको बहस सुरु भएको छ । तर हालका जनप्रतिनिधिहरुले यो अवधिमा के प्रगति गरे ? चुनावको बेला जनतासँग गरेका बाचाहरु पूरा भए त ? यो अवधिमा सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्बर २ ले के कस्ता काम गरेको छ ? यस्तै विषयमा केन्द्रीत रहेर गुर्भाकोट नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष नोखबहादुर वलीसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
हिजोआज के गर्दै हुनुहुन्छ ?
म जनताको काम गर्न चुनाव लडेकाु हुँ । जनताले मलाई आफ् नो मत दिएर निर्वाचित गर्नुभयो । म जनताको प्रतिनिधि हुँ । यसकारण पनि म हरेक समय जनताको काममा नै व्यस्त हुन्छ ु। त्यसको अलवा हिजोआज भुउपयोगको बर्गिकरणको काममा नै व्यस्त छु ।
वडामा विकास निर्माणको अवस्था कस्तो छ ?
मेरो वडामा सडक निर्माण, खानेपानी आयोजना निर्माण, विद्युत लाइन विस्तार र शिक्षाका भवन निर्माणका कामहरु धमाधम भइरहेका छन् । हाम्रो वडामा भइरहेका विकास निर्माणका कामप्रति जनतालाई प्रत्यक्ष सहभागिता गराउने गरिएको छ । धेरै ठाउँमा सडकहरु पुगिसकेका छन् । सडक नपुगेका केही टोलहरुमा पनि अबको केही महिनाभित्र सडक पुग्नेगरी निर्माणका कामहरु चलिरहेका छन् । अर्कोतर्फ विद्युत नपुगेका ठाउँमा ग्रामीण विद्युतीकरणमार्फत विद्युत विस्तार गर्ने काम चलिरहेको छ ।
यो बर्षको बजेटका प्राथमिकता के छन् ?
पहिलो कुरा हाम्रो वडामा बजेटको आकार सानो छ । त्यही बजेटबाट सबै क्षेत्रलाई समेट् नुपर्ने बाध्यता छ । हामीले यो बर्ष शिक्षा, स्वास्थ्य, सडक निर्माण र खानेपानीका साना योजना र महिला तथा दलित आयआर्जनका क्रियाकलापमा नै बजेट केन्द्रीत गरेका छौं । सँगै जनतालाई बढी आवश्यकता बढी के छ, त्यसमा नै हामीले ध्यान दिएर बजेट कार्यान्वयन गरिरहेका छौं ।
कोरोना नियन्त्रणको तयारी कस्तो छ ?
कोरोनाको पहिलो र दोस्रो लहर त हामीले पार गर्यौं । त्यसबाट पार पाउन हामीले जुन सिकाइ गरेको अनुभव छ, त्यही अनुभवका आधारमा यो तेस्रो लहरलाई पनि हामी सामना गर्नेगरी नगरपालिका र वडाबाट लागेका छौं । पहिलो कुरा त हामीले खोप अभियानलाई तीव्रता दिएका छौं । अनि वडाबाट नागरिकलाई स्वास्थ्य सचेतना सम्बन्धीका विभिन्न कार्यक्रमहरु गरिरहेका छौं । मलाइ लाग्छ यो कोरोनाको तेस्रो लहरलाई पनि रोकथाम गरेर हाम्रो वडाका नागरिकहरुलाई सुरक्षित बनाउने छौं । नागरिकको स्वास्थ्यप्रति हामी संवेदनशील नै छौं । हरेक उपाय अपनाउने छौं ।
काम गर्दा कस्ता चुनौती भोग्नुभयो ?
काम गर्दा चुनौती नआउने भन्ने हुँदैन । जुनसुकै काम गर्दा पनि चुनौतीहरु आउँछन् नै । तर ती चुनौतीलाई सामाना गर्दै अगाडी बढ्न तयार हुनुपर्छ । अझै हामी त सार्वजनिक पदमा भएका व्यक्तिहरुलाई धेरै चुनौती आउने रहेछन् । मैले यही चुनौतीलाई मध्यनजर गर्दै सबै समुदाय, राजनीतिक दल र बर्ग हेरेर वडामा मानुपातिक रुपमा विकास गरिरहेको छु। पक्ष वा विपक्ष भएर कुनै पनि काम गरेको छैन । आफ्नो बयान आफैले गर्नु त स्वभाविक हुँदैन, तथापि मेरो कार्यशैलीप्रति जनता खुशी नै हुनुहुन्छ ।
तपाइँको वडामा मुख्य समस्या के छन् नी ?
हाम्रो वडाको मुख्य समस्या भनेको हाम्रो साविक ८ नम्बरमा सडकको स्तरोन्नति गर्न बाँकी नै छ । केही ठाउँमा सडक नै पुगेको छैन । त्यहाँ बाह्रै महिना सवारी साधन नचल्दा समस्या भइरहेको छ । काउले सम्मको सडक जोड्न कठिनाइ छ । हाम्रोमात्र स्रोतले त्यहाँ सडक लैजान सम्भव नै छैन । त्यससँगै बेरोजगारी समस्या र विद्युत लगायतका अन्य समस्याहरु पनि वडामा छन् । यसका लागि माथिल्लो निकायबाट बजेटको अपेक्षा गरेका छौं ।
वडामै रोजगारी सिर्जना गर्ने योजना के छ ?
रोजगारी सिर्जना गर्न हामीले प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रममा वडाका बेरोजगार युवाहरुलाई समेट्ने गरेका छौं । विशेष गरेर निम्न बर्गका व्यक्तिहरुलाई काम दिएर रोजगारी दिने गरिएको छ भने कृषि, पुशपालनका क्षेत्रमा पनि हामीले लगानी गरी युवाहरुलाई स्वरोजगार बनाएका छौं । महिला र दलित लक्षित केही कार्यक्रम बनाएर पनि वडाबासीलाई स्वरोजगार बनाइरहेका छांै ।
जनतासँग गरिएका बाचा पुरा भए त ?
तपाइँले पनि हाम्रो घोषणापत्र हेर्न सक्नुहुन्छ । हामीले चुनावको बेला धेरै आश्वासन जनतालाई बाँडेका थिएनौँ । हामीले गरेका करिब ७० प्रतिशत बाचा त पुरा भइसकेका छन् । केही पुरा हुने क्रममा छन् । हाम्रो कार्यकाल सकिनुभन्दा अगाडि नै हामीले जनताको बिचमा गरेका सबै प्रतिवद्धता र बाचाहरु पुरा गर्नेछौं ।
तपाइँ आएपछि वडामा मुख्य परिवर्तन के भयो ?
धेरै परिवर्तन भएको छ । हामी निर्वाचित हुनुभन्दा पहिले वडाका सबै टोलमा सडक नै निर्माण भएका थिएनन् । अहिले एकदुई टोलबाहेक सबै टोलमा सडक पुगेको छ । स्वास्थ्यको पहुँचमा नागरिक पुगेका छन् । आफै सहभागी भएर विकासका कामहरु गरिरहनु भएको छ । शिक्षामा परिवर्तन भएको छ । गाउँमै रोजगारी सिर्जना भएको छ ।
