सुर्खेत, १० माघ ।
देश संवैधानिक रुपमै संघीयता प्रणालीमा प्रवेश गरको पाँच बर्ष पुगिसकेको छ । लक्षित वर्गले सम्बन्धित प्रदेशबाट नै सेवाहरु पाउनु संघीयताको मर्म हो । तर कतिपय संरचनाहरु भने अझै संघीयताको मर्मअनुसार चल्न सकेका छैनन् । पूर्वाधारको अभाव र इच्छा शक्तिको कमी जस्ता कारणले केही सरकारी कार्यालयहरुले पुरानै संरचना अनुसार सेवा दिँदै आएका छन् ।
त्यही मध्येको एक हो, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र। कर्णाली प्रदेश मातहतको यो तालिम केन्द्र अहिले पनि लुम्बिनी प्रदेशको नेपालगञ्जमै छ । संघीयता कार्यान्वयनमा गएको पाँच बर्ष वितिसक्दा पनि तालिम केन्द्रलाई कर्णाली प्रदेशमा ल्याउन सकिएको छैन । तालिम केन्द्र कर्णालीमा ल्याउन पूर्वाधारको अभाव छ । तालिम केन्द्रका लागि झण्डै २० विगाह क्षेत्रफल जग्गा आवश्यक पर्छ । तर कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा त्यति धेरै जग्गा पाउन सकिएको छैन ।
उसो त वीरेन्द्रनगर बाहिर पनि यो तालिम केन्द स्थापना गर्न सकिन्छ । तर वीरेन्द्रनगर बाहेकका क्षेत्रमा तालिम केन्द्र राख्ने पक्षमा भने दलहरु एकमत छैनन् । नेताहरुले नै आफ्नो क्षेत्र अनुकुलका स्थानमा प्रहरी तालिम केन्द्र राख्ने पक्षमा छन् । तालिम केन्द्र आफ्नो क्षेत्रमा राख्दा अन्य विकासका ढोकाहरु खुल्ने स्वार्थका कारण दल र तिनका नेताहरु यो मुद्दामा एकमत छैनन् । तालिम केन्द्रका लागि सुर्खेतको भेरीगंगा, बराहताल र पञ्चपुरी र रुकुमपश्चिमको चौरजहारी सम्भावित क्षेत्रहरु हुन् ।
ति स्थानमा तालिम केन्द्र राख्न जनप्रतिनिधि र दलका नेताहरु नै लागि परेका छन् । ‘ तालिम केन्द्रका लागि राजनीतिक दल र जनप्रतिनिधिहरु एकमत भएका छैनन्’ कर्णाली प्रदेश प्रहरी कार्यालयका एक उच्च अधिकारीले भने, ‘नेताहरुको स्वार्थ बाझिएकै कारण तालिम केन्द्रका लागि जग्गाको टुंगो लागेको छैन ।’ ती प्रहरी अधिकारीका अनुसार यसअघि रुकुमको चौरजहारीमा तालिम केन्द्र सार्ने माटोमोटी सहमति भएको थियो ।
माओवादी केन्द्रका नेताहरु नै तालिम केन्द्र चौरजहारीमा सार्ने पक्षमा थिए। तर अहिले नेपाली काँग्रेसका नेताहरु सुर्खेतमै तालिम केन्द्र सार्ने कसरतमा छन् । तर सुर्खेतमा तालिम केन्द्र राख्ने विषयमा पनि काँग्रेसकै नेताहरु एकमत छैनन् । नेता र दल विषेशका स्वार्थले प्रहरीको तालिम केन्द्र नेपालगंजबाट कर्णालीमा ल्याउन ढिलाइ भइरहेको हो । तर प्रहरी अधिकारीहरुले पनि दल र नेताहरुले अब यसमा ढिलाइ गर्न नहुने बताएका छन् ।
‘सुर्खेतभन्दा बाहिर तालिम केन्द्र राख्नु उपयुक्त हुँदैन’
कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि प्रहरी तालिम केन्द्र सुर्खेतभन्दा बाहिर राख्न नसकिने बताए । ‘सुर्खेतभन्दा बाहिर प्रहरी तालिम केन्द्र राख्नु उपयुक्त हुँदैन’ केहीदिन अघि पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहीले भनेका थिए, ‘बरु सुर्खेतको बराहतालस्थित बड्डीचौरमा तालिम केन्द्र राख्न सकिन्छ, यसका लागि पहल भइरहेको छ ।’
प्रदेश प्रहरी कार्यालयले नै बड्डीचौरमा तालिम केन्द्र राख्न उपयुक्त हुने बताएको उनको तर्क थियो । ‘प्रदेशको राजधानीभन्दा बाहिर तालिम केन्द्र राख्दा सबैलाई पायक नपर्ने भएका कारण तालिम केन्द्र सुर्खेतमै राख्नुपर्छ’ मुख्यमन्त्री शाहीले भने, ‘जग्गाको टुंगो लाग्यो भने बड्डीचौरमै तालिम केन्द्र सर्छ ।’ जग्गाको एकीन भएपछि प्रदेश सरकारले भौतिक संरचना निर्माण गर्ने उनको भनाइ छ ।
समायोजन नहुँदा थप ढिलाइ
कर्णाली प्रदेश प्रहरी कार्यालयले भने प्रहरीको समायोजनमा ढिलाइ हुँदा तालिम केन्द्र कर्णालीमा ल्याउन ढिलाइ भएको बताए । ‘भौतिक संरचना नहुँदा तालिम केन्द्र कर्णालीमा सार्न सकेका छैनांै’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गणेशबहादुर ऐरले भने, ‘प्रहरीको समायोजन भएको भए केही न केही उपाय लागिहाल्थ्यो ।’
समायोजनामा ढिलाइ हुँदा तालिम केन्द्रका लागि जग्गाको खोजी गर्ने थप ढिलाइ भएको उनको भनाइ छ । ‘प्रहरीको कहिले समायोजन हुने भन्ने टुंगो छैन’ उनले भने, ‘समायोजन नहुँदा तालिम केन्द्रको लागि जग्गा पनि खोज्न केही सहज हुन्थ्यो ।’ जतिसक्यो चाँडो तालिम केन्द्रको टुंगो लगाएर भौतिक संरचना निर्माण सुरु गर्नुपर्ने उनले बताए ।
युग संवाददाता । । १० माघ २०७८, सोमबार ०८:३१