कसैलाई मन पराएर मात्र कहाँ हुन्छ र ? अर्थात आफूले मन पराउँदैमा अर्कोले पनि मन पराउँछ भन्ने छैन । तर पनि उमेर बढ्दै जाँदा युवा र युवतीले आफ्नो प्रेम फुलाउने प्रयास गर्दछन् । जब मन पर्छ, तब उनीहरु मन परेको मान्छेलाई आफ्नो बनाउन चाहान्छन् । त्यही भएर मन पराएको मान्छेलाई प्रेम प्रस्ताव गर्छन् । तर प्रस्ताव गर्दैमा मन पराएको मान्छेले सहजै त्यसलाई स्वीकार नगर्न पनि सक्छन् । यस्तै भयो दैलेखका राजेश आचार्य र सुस्मा शर्माको जीवनमा पनि । राजेशले सुस्मालाई मन पराए । प्रेम प्रस्ताव राखे । तर सुस्माले पहिलो पटकको प्रस्ताव अस्वीकार गरिदिन् । तर राजेशले हिम्मत हारेनन् । आफूले मन पराएको मान्छेलाई पाउन दोस्रो पटक पनि पुस्ताव गरे । त्यसपछि पनि सुस्माले सहजै स्वीकारिन् । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको साराशं :-
स्कुलमा मिल्ने साथी
राजेश र सुस्माको घर धेरै टाढा थिएन । यद्यपि उनीहरु सानो कक्षा भने छुट्टाछुट्टै विद्यालयमा पढेका हुन् । कक्षा ६ मा पुगेपछि भने पढ्ने विद्यालय एउटै भयो । एउटै कक्षामा पढ्दै गर्दा थप चिनजान भयो । राजेश र सुस्मा कक्षामा मिल्ने साथी थिए । विद्यालय आउँदा जाँदा मात्र होइन, अन्य बेलामा पनि सँगसँगै हुन्थे । उमेर बढ्दै थियो । राजेशले सुस्माका सबै गतिविधि राम्रो मान्थे ।
राजेश सुस्माप्रतिको आकर्षित हुन थाले । उनीहरु ९ कक्षामा पढ्दै थिए । त्यतिबेलासम्म एउटा असल साथीको रुपमा व्यवहार गरिरहेका थिए । राजेशले सुस्मालाई मन पराउन थाले । उनले धेरै पटक आफ्नो मनको कुरा भन्न खोजे । तर भन्न सकेका थिएनन् । एकदिन विद्यालय समय सकिएपछि घर जाने समयमा राजेशले आफ्नो मनको कुरा भन्ने हिम्मत गरे । अनि मन पराएको कुरा सुस्मालाई भने । तर सुस्माले रिसाउँदै राजेशको त्यो प्रस्तावलाई अस्वीकार गरिन् । त्यसपछि भने उनीहरुबिचमा प्रेमका कुरा भएनन् । विद्यालय तहको शिक्षा सकियो । तर राजेशले आफुले मन पराएकी सुस्मालाई बिर्सन सकेनन् ।
अनि टाढा भए
विद्यालय तहको शिक्षा सकेर प्लसटु पढ्न राजेश सुर्खेत झरे । सुस्मा भने बाँकेको नेपालगञ्ज गइन् । अनि दुबै जनाको लामो समयसम्म भेट हुन पाएन। त्यसबेला अहिलेको जस्तो सामाजिक सञ्जाल र टेलिफोन सेवा पनि थिएन । त्यसमा पनि पहिलो प्रेम प्रस्ताव सुस्माले अस्वीकार गरेकी थिइन् । राजेश आफ् नो विगतको कुरा सम्झिन्थे । सुस्मालाई बिर्सन सकेका थिएनन् ।
सुस्माले पनि भित्रि मनमा कहिलेकाँही राजेशलाई सम्झने गर्थिन् । उनीहरुबिचमा लामो समय भेटघाट र कुराकानी भएन । बर्षमा एकपटक दशैँको बेला घरमा जाँदा भने भेट हुन्थ्यो । तर कुराकानी हुन्थेन । राजेशलाई भने धेरै खुलदुली थियो । तर सुस्माले भित्रि मनमा मन परे पनि बाहिर कुनै कुरा गर्थिनन् ।
दोस्रो पटकको प्रेम प्रस्ताव स्वीकार
दुबैजना परिपक्व भइसकेको अवस्था थियो । राजेश भर्खरै जागिरे भएका थिए । एकदिन दैलेखमा एउटा कार्यक्रममा दुबैजनाको भेट भयो । भेट हुँदा उनीहरुबिचमा लामो कुराकानी भयो । २०६४ सालको कुरा थियो । राजेशले विगतलाई कोट्यादै सुस्मासँग भनेका थिए, ‘मैले तिमीलाई पहिल्यैदेखि मन पराउँथे, तर तिमीले रिजेक्ट गर्यौं ।
अहिले पनि म तिमीलाई उत्तिकै मन पराउँछु, म तिमीसँगै जीवन विताउन चाहान्छु।’ लामो कुराकानीपछि सुस्माले बोल्न सकिनन् । धेरै कुरा गरिनन् । त्यतिबेला बजार क्षेत्रमा फोनको सुविधा भइसकेको थियो । अनि सुस्माले फोनमा कुरा गरौँला भन्दै नम्बर साटासाट गरे । त्यसपछि कुराकानी बढ्न थाल्यो । सुस्माले आफुले शुरुदेखि नै मन पराएको तर पढाइ बिग्रने भएकाले कुनै जवाफ नदिएको बताइन् । उनीहरु धेरै कुराकानी फोनमा गर्थे । दोस्रो पटकको प्रेम प्रस्तावपछि भने उनीहरुको सम्बन्धलाई स्थापित गर्यो ।
परिवारकै समर्थनमा विहे
सानैदेखिका साथी उनीहरु प्रेममा डुबेपछि हरेक पल एकअर्कालाई सम्झन्थे । कुनै काम गर्दा पनि सल्लाहमा हुन थाल्यो । उनीइहरु प्रेममा भएको कुरा दुबै परिवारमा थाहा भयो । परिवारले पनि राजेश र सुस्माको प्रेमलाई स्वीकार गरे । दुबै परिवारमा यस विषयमा कुराकानी भएर बिवाह गरिदिने सहमति बन्यो । परिवारमा दुबैको बिवाह गराइदिने भनेपछि दुबैजना अझै ढुक्कले प्रेम गर्न थाले । २०६७ सालमा बिवाह गरे । उनीहरु राम्रो चिनजान भएको नौ बर्षपछि बिवाह भयो ।
बिवाह गर्नुभन्दा अगाडी नै राजेशले सरकारी जागिर गर्न शुरु गरिसकेका थिए । बिवाह गरेर अर्काको घरमा जाँदा सुरुमा सुस्मालाई केही नरमाइलो लागेको थियो । उनी सबै काम गर्न र छिट्टै घुलमिल हुन भने सीपालु थिइन् । राजेश र घरपरिवारको मायाले उनी विस्तारै घुलमिल भइन् । नवजोडीले हनिमुन मनाउनुपर्छ भन्ने हल्ला सुनेका उनीहरु भने गाउँमा त्यस्तो चलन नभएका कारण हनिमुन मनाउन भने गएनन् ।
मेहनत र संघर्ष
राजेश तत्कालिन जिल्ला विकास समिति दैलेखमा खरिदार तहको जागिरमै थिए । बिबाहपछि भने उनी पढाइ बिदामा सुर्खेत आए । दुबै जनाले आफ्नो पढाइलाई निरन्तरता दिए । सुर्खेतमा उनीहरु भाडामा बसेर पढेका हुन् । राजेशको बुवा शिक्षक र दाईहरु जागिरे भएकाले अभावको भएन ।
विहेको एक बर्षपछि उनीहरुको छोरा जन्मिएपछि हुर्काउन मेहेनत गर्नुपर्यो । तर आफ्नो पढाइमा भने उनीहरुले धेरै मेहेनत गरे । पढाइमा मेहेनत गरेकै कारण राजेश अहिले अधिकृत तहमा कार्यरत छन् भने सुस्मा पनि आफ् नो व्यवसायिक काममा छन् । दुबै जनाको आपसी सल्लाह र विश्वासले जीवनलाई सहज बनाएका छन् ।
रमाइलो बाल्यकाल
बुवा धर्मराज आचार्य र आमा लक्ष्मीदेवी शर्माको कोखबाट २०४५ साल असार १२ गते दैलेखकों नारायण नगरपालिका वडा नम्बर ६ भुर्तीमा राजेशको जन्म भएको हो । उनको बाल्यकाल गाउँमै वित्यो । उनले पञ्चपुरी प्रावि भुर्तीमा कक्षा ५ सम्म पढेका हुन् । त्यसपछि ६ कक्षादेखि भने उनले त्रिभुवन मावि दैलेख बजारमा पढे । त्यही माविबाट उनले २०६१ सालमा एसएलसी पास गरे । त्यसपछि प्लसटु सुर्खेतबाट गरेका राजेशले स्नातक तह पास गरेर आफ्नो जागिरलाई निरन्तरता दिए ।
यस्तै बुवा भक्तिराम शर्मा र आमा नरेन्द्रदेवी शर्माको कोखबाट विसं २०४५ साल असार ३ गते दैलेखकै नारायण नगरपालिका वडा नम्बर १ रुपाखेतमा सुस्मा शर्माको जन्म भएको हो । उनी घरको एक्लो छोरी हुन् । उनको बाल्यकाल पनि गाउँमै वित्यो । सानो कक्षा उनले पनि गाउँकै बालमन्दिर प्राविमा कक्षा ५ सम्म पढेकी हुन् । ६ कक्षादेखि त्रिभुवन माविबाटै पढेकी उनले त्यही माविबाट एसएलसी पास गरेर बाँकेबाट प्लसटु गरिन् । अनि उनले पनि स्नातक पास गरेकी छन् । धेरै नबोल्ने र सबैसँग मिलसार स्वभावकी सुस्मा अन्याय भने सहन सक्दिनन् ।
युग संवाददाता । । १० माघ २०७८, सोमबार ०८:२३