सुर्खेत, १० माघ ।
एक साता अघिसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमणको अवस्था सामान्य थियो । प्रदेशभर एकसय १३ जना मात्रै सक्रिय संक्रमित थिए । यहीकारण घरदेखि सार्वजनिक स्थलसम्म संक्रमणको त्रास थिएन । विद्यालय, संघसंस्थाहरु सहज रुपमै खुलेका थिए । कोरोना चेकजाँच गराउनेको संख्या पनि न्यून थियो । तर हप्तादिनमै फेरि कोरोना संक्रमण फैलिएको छ ।
माघयता कोरोना संक्रमितको संख्या ह्वात्तै बढेर सात सय नाघि सकेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार शुक्रबार मात्रै तीन सय १३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सँगै कर्णालीमा सक्रिय संक्रमितको संख्या एक हजार २४ जना पुगेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसीका अनुसार पछिल्लो समय दैनिक संक्रमणको दर बढ्दै गएको छ ।
‘परीक्षण गरिएका मध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ’ उनले भने, ‘हप्ता दिनभित्रै संक्रमण ह्वात्तै बढ्यो ।’ स्वास्थ्य सावधानी अपनाउन गरेको कमजोरीका कारण संक्रमण फेरि भयाभहको अवस्थामा पुग्ने उनको भनाइ छ । प्रदेशका कुल संक्रमित मध्ये आधाभन्दा बढी सुर्खेतका छन् । सुर्खेतमा मात्रै पाँचसय ९४ जना रहेको निर्देशनालयले जनाएको छ । तथ्याङ्कअनुसार सल्यानमा एकसय ५९ जना, कालिकोटमा एकसय ५५ जना, दैलेखमा ३३, रुकुमपश्चिममा ३९, जाजरकोटमा दुई जना, जुम्लामा ३६ जना र हुम्लामा पाँच जना सक्रिय संक्रमित रहेका छन् ।
यो संक्रमण अन्य प्रदेशको तुलनामा भने सबैभन्दा कम हो । देशभरको तुलनामा कर्णालीमा संक्रमण न्यून छ । कर्णालीमा संक्रमण बढे पनि अस्पताल भर्ना हुनेको संख्या भने न्यून छ । निर्देशनालयका अनुसार प्रदेशभर ११ जना मात्रै अस्पताल भर्ना भएका छन् । ति संक्रमितको अवस्था भने खत्तरामुक्त छन् । बाँकी संक्रमितहरु होम आइसोलेसनमा छन् । उनीहरुको अवस्था समान्य छ । अधिकांश संक्रमितमा ज्वरो आउने, घाँटी दुख्ने, कमजोर महसुस हुने लगायतका लक्षण देखिएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
सेवा लिन खोपकार्ड अनिवाय
सुर्खेतमा कोरोना संक्रमण बढ्न थालेपछि कडाइ गर्न थालिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सार्वजनिक कार्यालयमा सेवा प्राप्त गर्नका लागि खोपकार्ड अनिवार्य गरेको छ । खोपकार्ड अनिवार्य गर्न प्रशासनले सबै स्थानीय तहहरुलाई पत्राचार गरेको छ । जिल्लामा कोरोनाविरुद्धको पूर्ण खोप लगाउने जनसंख्या कम भए पनि प्रशासनले भने सार्वजनिक सेवा प्राप्तिका लागि खोपकार्ड अनिवार्य गरेको हो ।
योसँगै अब सार्वजनिक सेवा लिनका लागि सर्वसाधारणले खोपकार्ड अनिवार्य देखाउनु पर्नेछ । खोपकार्ड नभए सेवा पाइने छैन । सुर्खेतमा १८ वर्षभन्दा माथिका ६८ प्रतिशतले मात्र पूर्ण खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ । जिल्लाभर एकलाख ९२ हजार दुई सय ६ जनाले पहिलो र एक लाख ८९ हजार पाँच सय ४८ जनाले पूर्ण मात्रामा खोप लगाएको जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।
मास्क प्रयोग नगरे जरिवाना
अबदेखि मास्कको प्रयोग नगर्नेलाई जरिवाना गरिने भएको छ । संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले मास्क नलगाउने व्यक्तिलाई जरिवाना तिराउने भएको भएको हो । आज (शनिबार) देखि मास्क नलागाई घरबाहिर निस्कनेलाई सरुवा रोग संक्रमण नियन्त्रण सम्बन्धि मापदण्ड बमोजिम जरिवाना तिराइने छ ।
सबैलाई मास्क अनिवार्य प्रयोग गर्न बाध्य पार्ने उद्देश्यले शुक्रबार अनुगमन गरिएको थियो । प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल र जिल्ला प्रहरी कार्यालयका एसपी पदमबहादुर विष्टसहितको टोलीले मास्क लगाए वा नलगाएको अनुगमन गरेको हो । टोलीले बसपार्क, मंगलगढी चौक लगायतका स्थानमा अनुगमन गरी मास्क नलगाएका व्यक्तिलाई मास्कसमेत वितरण गरेको छ ।
युग संवाददाता । । १० माघ २०७८, सोमबार ०८:१७