सुर्खेत खण्डमा एकसाथ निर्माण हुँदै, एक दर्जनभन्दा बढी पक्की पुल
सुर्खेत, ७ माघ ।
मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेत खण्डमा एक दर्जनभन्दा बढी अर्थात १५ वटा पुल बन्ने भएका छन् । जिल्लाको पूर्वक्षेत्र अर्थात धुलियाबिटदेखि भेडाबारीसम्म १२ वटा र पश्चिम खण्डमा तीन वटा पुल बन्न लागेका हुन् । सुर्खेतको पश्चिम खण्डमा विद्यापुर खोला, गुटु खोला र विउरेनी खोलामा र पूर्वी खण्डमा कल्याणको थोत्री खोला, खहरेखोला, गमखोला, चिङगाढ खोला, गंगटेखोला, करेखोला र रतु खोला लगायत विभिन्न खोलामा १२ वटा पुल निर्माण गर्न लागिएको मदन भण्डारी आयोजना निर्देशनालयका इन्जिनियर शिवशरण तिमल्सिनाले जानकारी दिए । उनका अनुसार चालु आर्थिक बर्षमा सानाठूला गरी १५ वटा पक्की पुल बन्नेछन् ।
१५ वटै पुल निर्माणका लागि ठेक्का प्रक्रिया सुरु भएको छ । हाल आयोजनाले पुल निर्माणका लागि बोलपत्र पेश गरेका कम्पनी छनौट र प्राविधिक मूल्यांकन लगायतका काम गरिरहेको छ । अबको हप्ता दिनभित्र ठेक्का टुंगाउने तिमिलसेनाले जनाए । राजमार्ग अन्तरगत सुर्खेतको पूर्वी खण्डमा स्तरोन्नति गर्न लागिएको छ । स्तरोन्नतिपछि पनि उपयुक्त हुनेगरी पुल निर्माण गर्न लागिएको हो । १५ पुल मध्ये अधिकांश ठूला हुन् भने केही साना पनि छन् । प्राविधिक हिसावले ठूला पुल निर्माण गर्नका असम्भव देखिएका खोलाहरुमा मात्रै पुलहरु निर्माण गरिनेछ ।
राष्ट्रिय राजमार्ग भएका कारण बाँकी क्षेत्रमा भने ठूला आधारका पुलहरु बन्नेछन् । पूर्वी खण्डमा थप तीन वटा पुल निर्माणका लागि ठेक्का प्रक्रिया थालिएको छ । तीन वटा पुलको पनि प्राविधिक अध्ययन सकिएको छ । ति पुल निर्माणको लागि पनि चाल आर्थिक बर्षमै ठेक्का सुरु गर्ने आयोजनाले जनाएको छ । ‘सुर्खेत खण्डमा १५ वटा पुलको ठेक्का प्रक्रिया टुंगिन लागेको छ’ उनले भने, ‘बाँकी तीन वटा पुलको पनि छिट्टै ठेक्का हुन्छ ।’
आयोजनाले सुर्खेतमा १२९ किलोमिटर सडक समेट्छ । जस मध्ये पूर्वमा ३५ र पश्चिममा ९४ किलोमिटर पर्छ । पूर्वमा धुलियाबिट–भेडाबारी–बोटेचौर सडक खण्ड र पश्चिममा बड्डीचौर–बेनीघाट सडकखण्ड पर्दछन् । यी दुबै सडक पुराना तर प्राथमिकतामा नपरेका सडकहरु हुन् । पूर्वीक्षेत्र अर्थात धुलियाबिट–भेडाबारी– बोटेचौर सडकको स्तरोन्नति गर्न थालिएको छ ।
डीपीआर अनुसार सडक नौ मिटर चौडाइसम्म कालोपत्रे गरिनेछ । हाल सडकमा औसत चार मिटर चौडाइ छ । स्तरोन्नति गर्दा झण्डै ५२ प्रतिशत सडक चौडा हुनेछ । आयोजना कार्यान्वयन गर्दा वीरेन्द्रनगर ११ र १३, लेकबेशीका १, २, ३, ४, ६, ७, ९ र १० र गुर्भाकोटका १०, १२, १३ र १४ वडाहरु प्रत्येक्ष प्रभावित हुनेछन् । सडक स्तरोन्नति भएको खण्डमा पूर्वका नागरिकलाई वीरेन्द्रनगर आउन सहज हुनेछ ।
२०३२ सालमा ट्याक खुलेको भेडाबारी सडक खण्ड ४६ बर्षसम्म स्तरोन्नति भएको छैन। पूर्वी खण्डमा करिव एकअर्ब रकममा तीन वटा निर्माण कम्पनी (कालीका, केएस र विधान्सी जेभी) ले स्तरोन्नतिको ठेक्का लिएका छन् । त्यस खण्डमा तीन चरणमा काम गर्ने तयारी भइरहेको छ । स्तरोन्नतिको काम अगाडि बढाउन आयोजनाले सुर्खेतमा कार्यालय राखेको छ ।
बनेन पश्चिम खण्डको प्रतिवेदन
मदन भण्डारी राजमार्ग अन्तरगत सुर्खेतको पश्चिम खण्डको स्तरोन्नतिमा ढिलाइ भएको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईइ) हुन नसक्दा स्तरोन्नतिमा ढिलाइ भएको हो । ‘पश्चिम खण्ड अझै आइई भएकै छैन’ मदन भण्डारी राजमार्ग योजना कार्यालय सुर्खेतका इन्जिनियर जितेन्द्र शाहले भने, ‘ आइई तयार भएपछि मात्रै बाँकी काम सुरु हुन्छ ।’
आयोजनाले पूर्व र पश्चिम खण्डमा एकैसाथ डीपीआर र आइई थालेको थियो । पश्चिम खण्डको डीपीआर निर्माणकै चरणमा स्थानीयले अवरोध गरेका थिए । स्थानीयले पञ्चपुरीको खम्बागाडे पलैटे, बराइँचे हुँदै बाबियाचौर जोड्नुपर्ने कि खम्बागाडे शिवधाम बाबियाचौर हुँदै बाबियाचौर जोड्नुपर्ने भन्ने विषयमा विवाद भएको थियो ।
यही विवादका कारण सुरुवातमै वातावरणीय प्रभाव मूल्यांकनको काम प्रभावित भएको थियो । पश्चिम खण्डमा बराहताल गाउँपालिकाको बड्डिचौर हुँदै पश्चिम वेनीघाटसम्म ९४ किलोमिटर सडक पर्दछ । २०५१ सालमा ट्याक खोलिएको पश्चिम खण्ड अहिलेसम्म कालोपत्रे समेत हुन सकेको छैन । कालोपत्रे नहुँदा स्थानीयले सास्ती खेपिरहेका छन् ।
