अनियमितता गरेको भन्दै वडाअध्यक्षलाई कालोमोसो

जाजरकोट, ६ माघ ।
जाजरकोट छेडागाड नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित एक वडाअध्यक्षलाई (विप्लव) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) जाजरकोटले कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाएका छन् ।  स्थानीय एक विद्यालयसहित विभिन्न विकास निर्माणको बजेटमा वडाअध्यक्षले अनियमितता गरेको भन्दै छेडागाड न.पा. वडा नं. ६ का वडाध्यक्ष रामबहादुर केसीलाई कालोमोसो दलि, जुत्ताको माला लगाएर गाउँ घुमाएका छन् ।

सिंगो विद्यार्थी र जनताको भविष्यमाथी खेलवाड गर्ने अधिकार कसैलाई छैन् र दिदैनौ पनि गलतका विरुद्धको खबरदारी मात्र भएको अखिल क्रान्तिकारी जाजरकोटका संयोजक दीपेन्द्र सिंहले बताए । त्यस्तै अखिल क्रान्तिकारी जाजरकोटले सामाजिक सञ्जाल फेसवुकमा एउटा विज्ञप्ती जारी गर्दै जनविकास माध्यमिक विद्यालयको फिल्ड निर्माणमा ९ लाख हिनामिना गरेको, अफगाना–पुल्ला सडक निर्माणमा ७० लाख बजेटबाट १७ लाख घुस खाएको, राधेदेखि विराखोला सडक स्तरउन्नतिमा ५ लाख रुपैँयाँ हिनामिना गरेको, कोभिड–१९ लाई नियन्त्रण गर्न उपलब्ध भएको रकम ७८ हजार रुपैयाँ वडा सचिवको किर्ते हस्ताक्षर गरी चेक साटेर हिनामिना गरेको अरोप लगाइएको छ ।


त्यसैगरी बाहुन गाउँदेखि अफगाना खानेपानी योजनाबाट २५ लाख रुपैयाँ हिनामिना गरेको, स्वास्थ्य चौकीको सोलार खरिदमा सबै काम सम्पन्न भएको तर कमिसन मागेर पैसा निकासा गर्न नदिएको, थालीखोला मुहानबाट जेवा खानेपानी योजनाबाट ७ लाख रुपैयाँ हिनामिना गरेको, सरकारले विकास योजनाका लागि दिएको प्राप्त बजेटलाई काम गुणस्तरीय नगरी आफ्नो जीवन मात्र समृद्ध बनाएको आरोप लगाएको छ ।

यता जिल्ला प्रहरी कार्यालय जाजरकोटका डिएस्पी मधुकुमार थापाले घटनाको विषयमा प्रहरी समक्ष कुनै जानकारी नआएको बताए । उनले भने, ‘पीडित पक्षबाट कुनै खालको जानकारी आएको छैन्, यदि आयो भने हामी प्रक्रिया अघि बढाई कालोमोेसो दल्नेहरुको खोजी गछौं, कालोमोसो बदल्नेहरुलाई कारबाही गछौँ ।’



ताजा समाचार