‘सार्वजनिक सेवा परिणाममुखी हुनुपर्छ’

कर्णाली प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्रालय सुर्खेतमा कार्यरत ताराकेशर वाग्ले इन्जिनियर हुन् । उनी हाल मन्त्रालयको सूचना अधिकारीसमेत छन् । २०७० सालदेखि निजामति सेवामा कार्यरत उनी नेपालको सेवा प्रवाहलाई सवल र प्रभावकारी बनाउनका लागि नीतिहरु परिवर्तन गर्नुपर्ने ठान्छन् । झन्झटिलो सेवा प्रवाहलाई सरल र सहज बनाउन नीतिगत सुधार गर्नुपर्ने उनको धारणा छ । प्रस्तुत छ, उनै वाग्लेको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंश :

बाल्यकालमा खेलकुदमा रुची
बुवा दिलिपकुमार र आमा पूर्णाकुमारी वाग्लेको कोखबाट २०४५ असार ११ गते ताराकेशरको जन्मभयो । दैलेखको डुङेश्वर गाउँपालिका वडा नं. ६ सानोवइरीमा बाल्यकाल विताए । पेशाले उनका वुवा शिक्षण र आमा व्यापार व्यावसाय गर्थिन् । खेतिपाती गर्न छोडिसकेका कारण मेलापात गर्नु परेन । फुसर्दमा ताराकेशर साथीभाइसँग स्थानीय लोहोरे खोलामा पुगेर माछा मार्ने र पौडी खेलेर रमाउँथे । उनी सानैदेखि खेलमा रुचि राख्थे । कबड्डी, डन्डिबियो, फुटबल र क्रिकेट खेल्थे ।

भारतबाट फर्कनेहरुले फुटबल र क्रिकेट ल्याइदिन्थे । त्यो समयमा उनीहरुले न क्रिकेट खेल बुझेका थिए, न त खेल्ने नियम नै थाहा थियो । तर पनि नियमित क्रिकेट खेल्थे । ‘सानैदेखि फुटबल र क्रिकेट खेल्थ्यौं, भारतबाट आउनेहरुले क्रिकेट र फुटबल ल्याउनुहुन्थ्यो’ उनी भन्छन्, ‘खुट्टामा लागेपछि फल हुन्छ भन्ने बाहेक अन्य नियम थाहा थिएन, तर पनि क्रिकेट खुब खेल्थ्यौं ।’ चुप्रा बजारमा भर्खर गाडी पुगेको थियो । गाडीमा चढ्ने रहरले एक ठाउँबाट अर्काे ठाउँ पुग्थे ।

कक्षा १ बाट सिधै ५ मा
ताराकेशरको पढाइ राम्रो नै थियो । स्नातकोत्तर तहमा गोल्डमेडलिस्ट हुन् । सानोमा उनले पढाइमा रोचक फड्को मारे । २०५० सालमा ब्राइटस्टार इङ्लिस मिडियम बोर्डिङ स्कुलबाट कखरा सिके । त्यहाँ नर्सरी, केजी र कक्षा १ सम्म अध्ययन गरे । त्यसपछि बोर्डिङ छोडेर सामुदायिक स्कुलमा भर्ना भए । कक्षा १ मात्रै पास गरेका उनले त्रिवेणी संगम माध्यमिक विद्यालयमा पुगेर सिंधै कक्षा ५ मा भर्ना भए । माओवादीले सुरु गरेको सशस्त्र विद्रोहका कारण कक्षा ८ पास भएपछि वीरेन्द्रनगर झरे ।

अमरज्योति माध्यमिक विद्यालय नेवारेबाट कक्षा ९ र १० को पढाइ पुरा गरे । २०५९ सालमा प्रथम श्रेणीमा एसएलसी पास हुँदा उनी जीवनमा सबैभन्दा धेरै खुशी भए । एसएलसीपछि उच्च शिक्षा पढ्न पोखरा पुगे । पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस लामाचौरबाट डिप्लोमा इन इन्जिनियरिङ र वीई इन्जिनियरिङ पढे । २०७६ सालमा भारतको आइटेक कार्यक्रममा अन्तरगत नेपाल सरकारबाट छनौट भएर स्नातकोत्तर तह पढ्न भारत पुगे । उत्तराखण्डको हरिद्वारबाट आइआइटी रुडकी विषयमा स्नातकोत्तर गरे । आइटेक कार्यक्रममा अन्तरगत १२ देशका विद्यार्थीहरु सहभागी थिए । स्नातकोत्तर गर्दा उनी डोल्डमेडिलिस्ट भए । पढाइका अतिरित्त उनी माध्यमिक तहसम्म हाजिरीजवाफ प्रतियोगितामा भाग विशेष रुची राख्थे ।

हजुरबुवाले रोके लाहुरे बन्न
ताराकेशरको जन्म स्थान अर्थात सानोवइरी इन्डियन लाहुरेहरुको बाहुल्यता भएको गाउँ हो । केही युवाहरु अहिले पनि भारतीय सेनामा कार्यरत छन् । त्यहाँका अधिकांश इन्डियन लाहुरे थिए । ताराकेशरका हजुरबुवा पनि लाहुरे हुन् । तर १९६२ सालमा चाइना र भारतबीच भएको युद्धको बेला कास्मिरमा उनका हजुरबुवा घाइते भए । घाइते भएपछि उनले छोरा र नातिलाई अर्काे देशमा नपठाउने निधो गरे । ‘सक्छौ भने आफ्नै देशमा सेवा गर, सक्दैनौ अर्काको देशको निम्ति लढ्न नजाऊ’ हजुरबुवाले यस्तै भने ।


ताराकेशरका वुवालाई पनि लाहुरे हुन दिएनन् । जसकाकारण ताराकेशरले आफ्नै देशको सेवा गर्ने योजना बनाए । ‘हजुरबुवाले सानैदेखि लाहुरे हुनुहुँदैन भन्नुहुन्थ्यो, बुवा पनि लाहुरे हुनुभएन’ उनी भन्छन्, ‘मैले पनि आफ्नै देशमा सेवा गर्ने योजना बनाएर निजामति क्षेत्र रोजेको हुँ ।’ उनी भन्छन्, ‘रेशम दाईले इन्जिनियर पढ् दा राम्रो हुन्छ भनेकै कारण म यो पेशामा आएको हुँ ।’ रेशम उनको फुपुका छोरा हुन् । एसएलसी पास भएपछि रेशमले नै पोखरा लिए ।

एउटै कोठामा बसेर पढे । २०६८ सालमा इन्जिनियर सकेपछि दुईबर्ष नेपालगञ्ज टेक्लिकल कलेजमा शिक्षण गरे । करिव एकबर्ष विभिन्न प्राजेक्टमा काम गरे । २०७० सालमा डिभिजन सडक कार्यालय डोटी निजामति क्षेत्रमा प्रवेश गरे । दुई बर्ष अध्ययन विदामा भारत पुगे । विभिन्न कार्यालयमा सेवा गरिसकेका उनी हाल जलस्रोत तथा उर्जा विकास मन्त्रालय सुर्खेतमा कार्यरत छन् । उनी ताराकेशर वाग्ले इन्जिनियर, जलस्रोत तथा उर्जा विकास मन्त्रालय, सुर्खेत नेपाल इन्जिनियर एशोसिएसन कर्णाली प्रदेश कमिटीका सचिव समेत हुन् ।

यसरी सुधार हुन्छ निजामति क्षेत्र
सार्वजनिक सेवा अहिले पनि निकै सुस्त र झन्जटिलो छ । सेवा प्रवाहमा समयसापेक्ष सुधार भएको छैन । न प्रविधिको उचित सदुपयोग भएको छ, न त सरकारले नै कर्मचारीलाई समय सापेक्ष बनाउन सकेको छ । यहीकारण अहिले पनि सार्वजनिक सेवा प्रवाहमा सुधार आएको छैन । ताराकेशर भने सार्वजनिक सेवालाई सुधार गर्नका लागि निजामति क्षेत्रमा आमूल परिवर्तन हुनुपर्ने देख्छन् ।

कर्मचारीलाई जीवन निर्वाहका लागि मात्रै नभई आधारभूत आवश्यकता पुरा हुनेगरी सुविधा दिनुपर्ने र त्यही अनुसार राज्यले काम लगाउनुपर्ने बताउँछन् । ‘ निजामति क्षेत्रलाई बलियो बनाउने हो भने कर्मचारीलाई पुग्नेगरी सेवा सुविधा दिनुपर्छ र पूर्णरुपले काममा लगाउनुपर्छ’ उनी भन्छन्, ‘समय सापेक्ष कर्मचारीहरुको क्षमता बृद्धि हायर एण्ड फायरको नीति अवलम्बन गर्नुपर्छ ।’ राज्यले कर्मचारीलाई जीवन निर्वाहको सेवा मात्र दिएका कारण पनि निजामति क्षेत्र अब्बल बन्न नसकेको उनको अपेक्षा छ ।

त्यस्तै सेवा प्रवाहमा परिणाममूखी नीति लागु गर्नुपर्ने बताउँछन् । ‘सेवा प्रवाहको नीति नै प्रक्रियामुखी छ’ उनी भन्छन्, ‘जबसम्म परिणाममुखी नीति बन्दैन, तबसम्म सेवा प्रवाह सहज बन्दैन ।’ कागजी प्रक्रिया मात्रै पुरा गर्ने तर उपलब्धि नहेर्ने परिपाटीका कारण विकासले फड्को मार्न नसकेको उनी बताउँछन् । सार्वजनिक सेवालाई साँच्चिकै सरल र सहज बनाउने हो भने परिणाममूखी नीति अबलम्बन गर्नुपर्न उनको सुझाव छ ।


Leave a Reply

Your email address will not be published.


ताजा समाचार