कोइला–हिटर बालेर बन्द कोठा भए ‘ज्यानमारा’

सुर्खेत, ४ माघ ।
तपाइँ चिसोबाट बच्न ग्यास गिजर त प्रयोग गर्नुहुन्न ? कि कोठा बन्द गरेर दाउरा वा कोइला बालेर सुत्ने गर्नुभएको छ ? हिटर बालेर सुत्नुहुन्छ भने पनि ख्याल गर्नुहोला । ‘कोठा न्यानो बनाउन यस्ता बस्तुको प्रयोग गर्नु भएको छ भने सावधानी अपनाउनुहोस्’ प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेल भन्छन्, ‘सकेसम्म कोइला, दाउरा, हिटर, ग्यास गिजर प्रयोग नगरौंँ, गर्नै परे झ्यालढोका खुला राखौंँ ।’

कोठा न्यानो बनाउन प्रयोग गरिने इलेक्ट्रोनिक र अन्य बस्तुको प्रयोगबाट निस्कने कार्बन मोनोअक्साइडका कारण मानिसको मृत्यु समेत हुने गरेको छ । ‘कोइला, दाउरा, हिटर, ग्यास गिजर प्रयोग स्वास्थ्यका हिसावले राम्रो मानिदैन’ डाक्टर पौडेलले भने, ‘कोठा बन्द गरेर यस्ता बस्तु प्रयोग गर्दा मानिसको मृत्यु नै हुनसक्छ ।’ कोठा न्यानो बनाउन प्रयोग गरिने बस्तुबाट नराम्रो ग्यास निस्किन्छन् । जसले शरिरमा अक्सिजनको मात्रालाई घटाउँछ । तर बन्द कोठामा अक्सिजन छिर्न पाउँदैन ।

झ्यालढोका बन्दहुँदा अक्सिजन कमी हुन्छ। ‘अक्सिनजको मात्रा कमी भएपछि मानिस बेहोस् जस्तै हुन्छ, केही गन सक्दैन’ उनले भने, ‘अक्सिजन नपाएको दश मिनेटमै मानिसको मृत्यु हुनसक्छ ।’ उनका अनुसार दाउरा, कोइला, विद्युतीय सक्दैन’ उनले भने, ‘अक्सिजन नपाएको दश मिनेटमै मानिसको मृत्यु हुनसक्छ ।’ उनका अनुसार दाउरा, कोइला, विद्युतीय कोइला, हिटर, ग्याँस गिजर प्रयोग गरेर सुतेका अधिकांशको मृत्यु हुँदै आएको छ ।

निसासिएर चार जनाको मृत्यु
वीरेन्द्रनगर–१० बुदबुदीमा एउटै कोठाभित्र निसासिएर चार जनाको मृत्यु भएको छ । शुक्रबार राती कोठा तातो बनाउन कोइला बालेर सुतेका उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३५ बर्षिया कल्पना बुढा, उनका दुई छोरा र उनकै भदै गरी चार जनाको मृत्यु भएको हो ।

शुक्रबार राती आफ्नै घरमा सुतेका कल्पना, उनका छोराहरु निरज र चिरञ्जीवी तथा भदै सोमराज शनिबार बेलुकी मृत भेटिएका हुन् । शुक्रबार रातीको घटना भए पनि आफूहरुले शनिबार बेलुकी मात्र खबर पाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी पदमबहादुर विस्टले बताए । प्रहरीले ढोका फोडेर हेर्दा कोठामा रहेको खाटमा चारै जना मृत अवस्थामा भेटिएका हुन् । ‘खाटमुनी तसलामा कोइला बालेको भेटियो’ एसपी विस्टले भने,‘ जाडोमा कोठा तताउन कोइला बालेर सुतेका रहेछन्, झ्यालढोका सबै बन्द गरेर सुतेको पाइयो ।

यसकारण पनि उनीहरुको निसासिएर नै मृत्यु भएको हाम्रो प्रारम्भिक अनुमान छ, तर पनि पोष्टमार्टम रिपोर्ट आएपछि बाँकी विषय खुल्नसक्छ ।’ उनीहरु चारै जनाको आइतबार नै दाहसंस्कार गरिएको आफन्तले जनाएका छन् । मृतक कल्पनाका श्रीमान् कृष्णबहादुर विसी जाजरकोटको शिवालय गाउँपालिकामा रहेको स्वास्थ्य शाखाका प्रमुख हुन् । उनी शनिवार राती सुर्खेत आएपछि आइतवार शवको पोष्टमार्टमा गरिएको प्रहरीले जनाएको छ ।

मृतक कल्पनाका ससुरा वीरबहादुरका अनुसार मृतक निरज कक्षा ४, चिरञ्जीवी कक्षा २ र सोमराज कक्षा १ मा अध्ययन गर्थे । उनीहरु स्थानीय डाइनामिक बोर्डिङ स्कुलमा पढ्थे । ‘बुहारीले बिसन्चो मानेकी थिइन्, अघिल्लो राती तसलामा कोइला लगेर कोठामा बालेका थिए’ वीरबहादुरले भने,‘ बुहारी संधै विहानमा ढिला उठ्ने भएकाले मैले पनि वास्ता गरिँन, सुतेकै होलान् भनेर विहानै घरबाट काममा निस्किएँ । बेलुकी घर आउँदा वरपर नातीहरुलाई देखिँन, प्रहरी आएर ढोका फोडेपछि कोठाभित्र उनीहरु मृत अवस्थामा भेटिए ।’ यसअघि गत पुस १४ गते राती नेपालगंजमा पनि कोइला बालेर सुतेका चार जनाको निसासिएर मृत्यु भएको थियो ।


झयाल–ढोका थुनेर कोइला, हिटर, ग्याँस गिजरको प्रयोग नगरौं : डा. पौडेल
चिसोमा कोइला, ग्यास, गिजर र हिटरको प्रयोग बढी हुन्छ । यस्ता वस्तुको प्रयोगबाट पछिल्लो समय मानिसको मृत्यु नै भएका घटना बढ्न थालेका छन् । न्यानोका लागि प्रयोग गरिने यस्ता वस्तुको प्रयोगबाट किन मानिसको मृत्यु हुन्छ ? प्रस्तुत छ, यस विषयमा प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेलसँग हामीले गरेको कुराकानीको शारांस :

‘झ्याल–ढोका थुनेर कोइ कोठामा कोइला बालेर सुत्दा मानिसको मृत्यु किन हुन्छ ?
मुख्य कारण त अक्सिजनको अभाव नै हो । सामान्य अवस्थामा भन्दा कोइला बालेको बेला हाम्रो शरिरलाई बढी अक्सिजन चाहिन्छ । कोइला बाल्दा निस्कने कार्बन मोनोअक्साइडले शरिरमा अक्सिजनको मात्रालाई घटाउँछ । पर्याप्त अक्सिजन नभएपछि यो ग्याँस रक्तकोषको हेमोग्लोविनमा टाँसिएर कार्बोअक्सी हेमोग्लोविन बन्छ । त्यसपछि तुरुन्तै रगत र तन्तुमा अक्सिजनको मात्रा कमी हुन्छ । मुटुमा अक्सिजनयुक्त रगत पुग्दैन । कार्बन मोनोअक्साइड हेमोग्लोविनसँग मिसिएपछि त्यो ठाउँमा फेरि अक्सिजन पुग्न गाह्रो हुन्छ । अनि अक्सिजन नै नपाएर पाँचदेखि १० मिनेटभित्र मानिसको मृत्यु हुन्छ ।

हिटर र गिजरको प्रयोग पनि जोखिमपूर्ण हो ?
हिटर र गिजर मात्र होइन । कोठा न्यानो बनाउन प्रयोग गरिने सबै वस्तुबाट कार्वन मोनोअक्साइड निस्कन्छ । त्यो ग्याँसले कोठाभित्र अक्सिजनको मात्रा घटाउँछ । कार्वन मोनोअक्साइड शरिरमा फैलिएपछि मानिसका कोष र तन्तु निष्क्रिय हुन्छन् । मस्तिष्कले पनि काम गर्न छोड्छ । मुटु पनि अचेत हुन्छ । समयमै उपचार नपाए मानिसको मृत्यु हुन्छ । यहीकारण कोठाका झ्यालढोका बन्द गरेर ग्यास, हिटर, गिजर र कोइलाको प्रयोग गर्नु जोखिमपूर्ण हुन्छ ।

यस्तो बेलामा कस्ता लक्षण देखिन्छन् ?
अक्सिजनको लेभल कम भएपछि अप्ठेरो महसुश हुन्छ । निदाएको बेलामा त शरिर नै चलेको हुँदैन । झुम्म भएको महशुस हुन्छ । सास फेर्न कठिन हुन्छ । हातखुट्टा झम्झमाउन थाल्छन् । अल्छीपन देखिन्छ । तर पनि व्यक्तिले केही गर्न सक्दैन । अचेत जस्तै हुन्छ । केही समयमै मृत्युको मुखमा पुग्छ ।

व्यक्ति वेहोस अवस्थामै भेटिए उपचार सम्भव हुन्छ ?
वेहोस् अवस्थामा भेटिएका व्यक्तिमा कार्वनडाईअक्साइडको असर कति छ भन्नेमा भरपर्छ । यदि भर्खरै वेहोस भएको हो भने तुरुन्त कोठाका झ् यालढोका खोलेर पर्याप्त अक्सिजन दिन सकियो भने बचाउन सकिन्छ । यसका लागि विरामीका आफन्तलाई अक्सिजन दिनुपर्छ भन्ने जानकारी हुनुपर्दछ । नत्र उपचार सम्भव हुँदैन ।

यस्ता घटनाबाट कसरी जोगिने ?
कोठा बन्द गरेर ग्यास, गिजर, हिटर र कोइला जस्ता बस्तु नबाल्ने । बाल्नैपर्ने अवस्थामा झ्याल र ढोका खुला राख्ने । सकभर रातीमा यस्ता वस्तुको प्रयोग नै नगर्ने । दिउँसोमा पनि झ्यालढोका बन्द गरेर नसुन्ते । विकल्पमा न्यानो कपडा प्रयोग गर्ने । चिसो हुँदैमा स्वास्थ्य अवस्था खत्तम भइहाल्छ भन्ने भ्रम त्याग्ने ।



ताजा समाचार