त्यसपछि व्यापारमा लागे…

त्यसपछि व्यापारमा लागे…

बाल्यकालमा मानिसका केही रहरहरु हुन्छन् । ति रहरहरु उमेर बढ्दै जाँदा बदलिन्छन् । अर्थात परिवारको आर्थिक अवस्था र समाजको मार्गदर्शनले पनि चाहना र योजनाहरु नयाँ बन्छन् । गाउँले वातावरणमा हुर्किएका व्यक्तिहरु उच्च शिक्षा हासिल गर्ने र जागिर खाने योजनासहित सहर पस्छन् । तर सहरमा त्यति सजिलो पनि कहाँ छ र ? चाहेको रहर पूरा हुँदैन । अनि मानिसले योजना बदल्छन् । समयसँग सम्झौता गरेर आफूलाई रुपान्तरण गर्दै जीवन जीउने उपाय खोज्छन् । निरन्तरको मेहनत र संघर्षले सफलता प्राप्त गरेपछि समाजका लागि काम गर्ने योजना बनाउँछन् । यस्तै भयो मदनबहादुर खड्काको जीवनमा पनि । दैलेखमा जन्मिएका उनी हाल सुर्खेतमा संघर्ष गरिरहेका छन् । आफ्नो जीविकोपार्जनमा मात्र होइन, अहिले उनी सहकारी संस्थामार्फत समाजका अन्य व्यक्तिहरुको आयआर्जन सुधार गर्ने काममा लागेका छन् । हाल वीरेन्द्रनगरमा रहेको साझा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका उनै खड्कासँग आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

घाँस काटेर स्कुल जान्थे
बुवा बलबहादुर खड्का र आमा मैनकला खड्काको कोखबाट २०३० साल असोज ३० गते दैलेखको दुल्लु नगरपालिका वडा नम्बर ६ छिउडीमा मदनबहादुर खड्काको जन्मभयो । उनी घरका साइँला छोरा हुन् । खड्काको बाल्यकाल गाउँमै वित्यो । मध्यम परिवारमा जन्मिएका उनका बुवाले कृषि पेशा गर्दथे ।

उनले १० कक्षासम्म गाउँमै पढे । विजय मावि दुल्लुमा १० कक्षासम्म पढेका उनले त्यही माविबाट २०४६ सालमा एसएलसी पास गरेका हुन् । पढाइमा धेरै चासो दिने खड्काले परिवार कृषिमा रहेकाले घरमा घाँस काट्नेदेखि सबै काम गरेर विद्यालय जानुपथ्र्यो । सानैदेखि संघर्ष गर्न जानेका उनले घरको सबै काम गर्न जानका छन् । यतिसम्म की दशंैतिहारमा पनि उनले घरको घाँसदाउरा काट्ने कामसँगै गोठालोसमेत जानुपथ्र्यो । इमान्दार र सालिन उनी सहयोगी स्वभावका थिए ।

सेनामा जागिर खान असफल
एसएलसी पास भएपछि उनी जागिर खाने सोचसहित सुर्खेत झरे । कानुन संकायमा भर्ना गरे । उनलाई सरकारी जागिर खाने रहर थियो । अधिवक्ता बन्छु भन्ने सोचले पढेका उनले एकपटक त नेपाली सेनामा जागिर खानका लागि तयारी गरे । सबै प्रक्रिया पुरा गरेका उनी मेडिकलमा भने असफल भए । त्यसपछि उनी त्यो क्षेत्रमा नलागेर फेरि पढाइमा नै केन्द्रीत भए । २०४९ सालमा उनले आइएल पास गरे । अनि विएल पढ्न भन्दै काठमाडौतिर गए। काठमाडौँमा २०५१ देखि विएल पढ्न शुरु गरेका उनले २०५३ सालमा विएल पनि सके । उनी हाल अधिवक्ता पनि हुन् ।

काम गर्दै पढ्दै
काठमाडौंमा बस्दै गर्दा उनले एकबर्ष घरबाटै खर्च लिएर पढे । तर घरको आर्थिक अवस्था पनि कमजोर हुँदै गएपछि केही समय साथीको कोठामा बसेर पढाइलाई निरन्तरता दिए । अनि उनले काम गर्दै पढ्ने योजना बनाए । लगत्तै भक्तपुर जिल्ला अदालतमा अस्थायी दरबन्दीमा काम गर्ने अवसर पाएका खड्काले आफ्नो खर्च निकाल्दै पढ्दै गरेका हुन् । संघर्षबाटै जीवनलाई सहज बनाउन सकिन्छ भनेर लागेका खड्काले आफ्नो पढाइ पुरा गरेर सुर्खेत फर्किए। उनीसँग अधिवक्ता बन्ने लाइसेन्स पनि थियो । उनले अधिवक्ता भएर आफ्नै ठाउँमा काम गर्ने भनेर फर्किए । तर त्यो यता आएपछि भने वातावरण भएन ।

अनि व्यापारमा लागे
काठमाडौंबाट फर्किएपछि उनको अधिवक्ता भएर काम गर्ने योजना पुरा भएन । माओवादीले थालेको युद्धका कारण उनले काम गर्ने अवसर पाएनन् । अनि दैलेखको चुप्रामा व्यापार गर्ने सोच बनाए । २०५६ सालदेखि दैलेखमा नै व्यापार गरे । द्वन्द्वको कारण उनले आफ्नो पेशा परिवर्तन गर्नु परेको थियो । उनका दाई पनि व्यापारमै थिए । उनी एक बर्षपछि २०५७ सालमा सुर्खेतमा आएर दाइसँग मिलेर व्यापार गर्न थाले । २०५९ सालदेखि व्यापारलाई बढाउँदै लगेका खड् काको राम्रै आम्दानी बन्यो । अनि उनले व्यापारलाई निरन्तरता दिँदै गए ।

यसरी स्थापना भयो सहकारी
उनीसहित केही साथीहरुले सानो पुँजीलाई परिचालन गर्नुपर्छ भन्दै सल्लाह गरे । अनि साथीहरुकै सल्लाहमा उनीहरुले एउटा सहकारी स्थापना गर्ने निर्णय गरे । २०६७ सालमा उनीहरुले वीरेन्द्रनगरमा साझा बचत तथा ऋण सहकारी संस्था दर्ता गरी संचालनमा ल्याए । २५ जनाबाट शुरु गरिएको सहकारीका उनी संस्थापक अध्यक्ष हुन् । अहिले पनि खड्का अध्यक्षमै बहाल छन् । सहकारीमा अहिले १८ सय शेयर सदस्यहरु रहेका छन् । अहिले मदनबहादुर खड्का अध्यक्ष, साझा बचत तथा ऋण सहकारी संस्था, सुर्खेत सहकारीले बचत तथा ऋणको काम मात्रै गरेको छ । यसलाई व्यापकता दिएर शेयर सदस्यहरुलाई उत्पादनमा केन्द्रीत गर्ने सोच उनले बनाएका छन् ।

जीवनमा संघर्ष
सानैदेखि संघर्ष गर्दै आएका खड्काले काम गर्दा लगनशिल भएर गर्छन् । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गर्नुपर्यो । घरको काम गर्दै पढाइलाई निरन्तरता दिए । काम गर्दै र पढ्दै गर्दा धेरै संघर्ष गर्नुपर्यो । अर्कोतर्फ आफ्नो लक्ष्यलाई भेटाउन रातदिन मेहेनत गरेर काम गरे । आफ्नो जीवनमा आएका चुनौतीलाई उनले सामना गरे । संघर्षकै कारण हाल विभिन्न क्षेत्रको अनुभवसँगै सहकारीको उच्च पदमा रहेर काम गरिरहेका छन् । इमान्दारिता र लगनशिल भएर लागेको खण्डमा सफल हुन सकिने उनको भनाइ छ ।

अबको योजना
उनको अबको योजना महत्वाकाँक्षी भने छैन । हरेक क्षेत्रबाट समाज सेवामा लाग्ने उनको योजना छ । राजनीतिक रुपमा मात्रै नभएर आर्थिक अवस्था कमजोर भएका नागरिकको पक्षमा काम गर्ने र उनीहरुको आर्थिक अवस्था सुधार ल्याउनका लागि काम गर्ने उनको आगामी योजना छ ।

तपाईको प्रतिक्रिया