छिन्चुमा ५० शैयाको सरुवा रोग अस्पताल निर्माणको तयारी
सुर्खेत, ३ माघ ।
सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा सरुवा रोग अस्पताल निर्माण हुने भएको छ । केन्द्र, प्रदेश र स्थानीय तहले संयुक्त रुपमा सरुवा रोग अस्पताल निर्माणको तयारी गरेका हुन् । संघीय सरकारको योजना अनुसार कर्णाली प्रदेश सरकारले भेरीगंगा नगरपालिकालाई अस्पताल स्थापनाका लागि जग्गाको एकीन गर्न अनुरोध गरेको छ । प्रदेश सरकारको आग्रहपछि नगरपालिकाले वडा नं. १२ मा सरुवा रोग अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
अस्पतालका लागि नगरपालिकाले जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाएको नगर प्रमुख भूपेन्द्रबहादुर चन्दले जानकारी दिए । ‘नगरपालिकाको कार्यालय नजिकै खुल्ला चौर छ, त्यही ठाउँमा सरुवा रोग अस्पताल बनाउने योजनामा छौँ’ नगर प्रमुख चन्दले भने, ‘अस्पतालका लागि जग्गा नगरपालिकाको नाममा ल्याउने प्रक्रिया सुरु भइसकयो ।’ आठ विगाह क्षेत्रफलमा अस्पताल निर्माण हुने नगर प्रमुख चन्दले बताए । नगरपालिकाको कार्यालय नजिकै खुला चौर छ । सोही स्थानमा अस्पताल स्थापना हुनेछ ।
खुलाचौरमा हाल जंगल क्षेत्र पर्दछ । तर चौरमा ठूलाविरुवाहरु छैनन् । यहीकारण सोही क्षेत्रमा अस्पताल बनाउने नगरपालिकाको तयारी हो । अस्पताल निर्माणका लागि जग्गा नगरपालिकाको नाममा पास गरिदिनका लागि डिभिजन वन कार्यालय सुर्खेतलाई अनुरोध गरिएको छ । अस्पतालका लागि प्रस्तावित क्षेत्र छिन्चु–जाजरकोट सडक खण्डसँग जोडिएको छ । सडकको सहज पहुँच भएका कारण प्रस्तावित क्षेत्र अस्पताल निर्माणका लागि उपयुक्त हुने नगरपालिकाको दाबी छ ।
‘अस्पताल निर्माण गर्ने भनिएको ठाउँ ठूलो र सडकसँग जोडिएको छ’ नगर प्रमुख चन्दले भने, ‘वनले जग्गा दिएको खण्डमा यही बर्षभित्र नै भौतिक संरचना निर्माणका कामहरु सुरु हुन्छन् ।’ वन कार्यालयले अस्पताल बनाउने अनुमति दिएको खण्डमा छिट्टै डीपीआर लगायतका कामहरु सुरु गर्ने नगरपालिकाको तयारी गरेको छ । जग्गाको टुङ्गो लाग्नेवित्तिकै भौतिक संरचना निर्माणको लागि रकम उपलब्ध गराउने प्रदेश सरकारले बचन दिएको छ ।
केही दिनअघि मुख्यमन्त्री जीवनबहादुर शाहीले स्थलगत अनुगमन गर्दै अस्पताल निर्माणका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गर्ने बचन दिएका हुन् । छिटो जग्गाको टुङ्गो लगाउन र चालु अर्थिक बर्षमै भौतिक पूर्वाधार निर्माणका कामहरु अगाडि बनाउन मुख्यमन्त्रीले जनप्रतिनिधिलाई निर्देशन दिएका छन् । मुख्यमन्त्रीको निर्देशन अनुसार जग्गा प्राप्तिको प्रक्रिया सुरु भएको नगरपालिकाले जनाएको छ ।
राकमको ट्रमा सेन्टर अधुर
कर्णाली प्रदेश सरकारले दुई बर्षअघि ल्याएको ट्रमा सेन्टरको योजना भने अलपत्र परेको छ । दुई बर्षअघि प्रदेश सरकारले दैलेखको राकममा प्रस्ताव गरिएको ट्रमा सेन्टर स्थापनाको योजना ल्याएको थियो । तर अहिलेसम्म पनि ट्रमा सेन्टरको काम अगाडि बढेको छैन । जग्गा प्राप्तिमा भएको ढिलाइका कारण ट्रमा सेन्टरको नभएको प्रदेश सरकारले जनाएको छ ।
अघिल्लो बर्ष दैलेखको आठविस नगरपालिकाले ट्रमा सेन्टरका लागि काम गर्न नसकेको भन्दै चालु आर्थिक बर्षमा प्रदेश सरकारले बजेट नै विनियोजना गरेको छैन । ‘अघिल्लो बर्ष ट्रमा सेन्टरको काम सोचे अनुसार हुन सकेन’ सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख बृषबहादुर शाहीले भने, ‘यो बर्ष ट्रमा सेन्टरका लागि बजेट नै छुट्याएको छैन ।’ भेरीगंगामा सरुवा रोग अस्पताल र ट्रमा सेन्टरका लागि भने उच्च तहबाट पहल भइरहेको शाहीले बताए ।
छिन्चुमै ट्रमा सेन्टर स्थापनाको प्रस्ताव
सुर्खेतको छिन्चुमै ट्रमा सेन्टर स्थापनाका लागि प्रस्ताव गरिएको छ । नगरपालिकाले सरुवा रोग अस्पतालसँगै सोही क्षेत्रमा ट्रमा सेन्टर स्थापनाको प्रस्ताव गरेको हो । वडा नं. १२ को स्वास्थ्यचौकीलाई संरचना थप गरेर ट्रमा सेन्टरको रुपमा विकास गर्न प्रस्ताव गरिएको नगरपालिकाले जनाएको छ ।
‘प्रदेश सरकारले सरुवा रोग अस्पतालको प्रस्ताव ल्याएको छ, हामीले त्यही ठाउँमा ट्रमा सेन्टर पनि बनाऔं भने प्रस्ताव गरेका छौँ’ नगर प्रमुख चन्दले भने, ‘तत्काललाई वडा स्वास्थ्यचौकीलाई स्तरोन्नति गरेर ट्रमा सेन्टर सञ्चालन गर्ने र सरुवा रोग अस्पताल बनेपछि ट्रमा सेन्टर पनि सञ्चालन गर्न प्रस्ताव गरेका छौँ ।’ छिन्चु–जाजरकोट सडक खण्डमा हुने दुर्घटनाका घाइतेलाई तत्काल उपचार गर्न सहज हुने भन्दै नगरपालिकाले ट्रमा सेन्टरको स्थापनाको प्रस्ताव गरेको हो ।
