सिँगारिएको बारेकोट

कृष्णप्रसाद भुसाल

जारकोटको उत्तर–पूर्वमा अवस्थित बारेकोट क्षेत्र वन, वन्यजन्तु, जलाधार, सांस्कृतिक सम्पदा, मौलिक जीवनशैलीको सम्मिश्रणले सिँगारिएको छ । डोल्पा र जुम्ला जिल्लासँग सिमाना जोडिएको यस बारेकोट क्षेत्रका प्राकृतिक स्रोत–साधन र जैविक विविधताको दिगो संरक्षण, सदुपयोग र प्रवद्र्धनका लागि संरक्षित क्षेत्र बनाउने कुरा पटकपटक चर्चामा आउने गरे पनि हालसम्म यसले मूर्तरूप लिन सकेको छैन । विश्वका १२० भन्दा बढी मुलुकमा चरा र तिनको बासस्थान सम्बन्धमा अध्ययन तथा संरक्षण गर्ने संस्था ।।। बर्डलाइफ इन्टरनेसनल’ले बारेकोट क्षेत्रलाई ।।। चरा तथा जैविक विविधताका लागि महत्वपूर्ण क्षेत्र’ का रूपमा पहिचान गरेको छ । दुर्लभ तथा लोपोन्मुख चराको बासस्थान भएको यस्तो महìवपूर्ण क्षेत्र नेपालमा ३७ वटा छन् ।

नलगाड जलविद्युत परियोजनाको उद्गम स्थल, पाँच हजार ४१२ मिटर उचाइको रमणीय कराइचुली हिमाल, पवित्र तीर्थस्थल साइकुवारी र ठाकुरजी, दर्जनाँै दह र झरना, मनोरम लेकाली पाटन, घाँसे मैदान, मगर समुदायको परम्परागत सिर्पाचौरको बस्ती, दुर्लभ वन्यजन्तु हाब्रे (रेड पाण्डा), कस्तुरी, हिउँचितुवा, ओत, वन कुकुर (ढोल), हिमाली भालु, सुन गिद्ध, सेतो गिद्ध, चिर कालिजजस्ता राष्ट्रिय÷अन्तर्राष्ट्रिय महìव तथा पर्यापर्यटनका खजना भए पनि यिनको उचित प्रवद्र्धनको अभावमा ओझेलमा परिरहेका छन् । बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोबिन्दबहादुर सिंहको निमन्त्रणामा दशैँपछि कर्णाली प्रदेशको यो सुन्दर भूमिमा भ्रमण गर्ने मौका मिल्यो । दशैँको टीकाको भोलिपल्टै भएकोले सार्वजनिक यातायातको चहलपहल कम थियो । जसोतसो २१ घण्टाको बस यात्रामा अर्घाखाँचीको सन्धिर्खकबाट जाजरकोटको खलङ्गा पुगियो ।

कोजाग्रत पूर्णिमाका अवसरमा बारेकोटको रामीडाँडामा लाग्ने मेलाको रौनकले आसपासका जिल्ला रुकुम र डोल्पालाई समेत छुने रहेछ । मेलाका लागि व्यापारका सामान र ।।।लक्की सेभेन’ खेलका बोर्ड बोकेका जिप र खच्चडसँगै मेला भर्न हिँडेका मान्छेका लस्कर छिचोल्दै हामी पनि बारेकोट गाउँपालिकाको मुकाम लिम्सा पुग्यौँ । लिम्सा पुग्न जिल्लाको सदरमुकाम खलङ्गाबाट करिब ५० किलोमिटरको दूरी भए पनि जिपको भाडा एक हजार पाँच सय रहेछ । यसले ग्रामीण क्षेत्रले भोगिरहेको मार र महँगो यात्राको उजागर गर्छ ।हाम्रो उद्देश्य बारेकोटको लिम्सा (एक हजार आठ मिटर)देखि साइकुवारी (चार हजार छ सय मिटर)सम्म पदयात्रा गरी चरा, अन्य वन्यजन्तु, पाटन क्षेत्र र त्यहाँका सिमसारको अध्ययन अवलोकन गर्नु थियो । हामी लिम्साबाट नलगाड नदी तरी नायकबडाको उकालो लाग्यौँ । हुन त लिम्साबाट ठकुरी जिरी÷दहसम्म करिब १२ किलोमिटर मोटरबाटोको ट्र्याक खोलिएको छ तर अहिले पहिरोले बन्द छ । खासमा साइकुवारी पदयात्रा दहबाट सुरु हुन्छ । यहाँबाट दुईवटा बाटामध्ये एक रोज्न सकिन्छ ।


एउटा दहबाट लाग्ना हँुदै जाने बाटो, जुन लामो तर सजिलो छ । अर्को दहबाट सीधै साइकुवारी जाने जुन सीधा उकालो चढ्नुपर्छ । हामीले धेरै चरा देख्न सकिने आशा र सजिलोका लागि लाग्ना हँुदै जाने बाटो रोज्यौँ । साँझ बास बस्न लाग्ना पुग्याँै । जुन करिब तीन हजार मिटरको उचाइमा अवस्थित छ । एकैदिनको यात्रामा करिब ११० प्रजातिको चरा देख्न पाएकोमा दङ्ग भयौँ । गिद्ध, चिल, डाँफे, मुनाल, फोक्रास, चाँचर, कुटिया चरा हेर्दै र आवाज सुन्दै गुराँस र धूपीका वन छिचोच्दा उकालो हिँडाइको थकान यसै मेटिन्थ्यो । चरा मान्छे देख्यो कि तर्सिन्थे । यसले त्यस क्षेत्रमा चोरीसिकार व्याप्त रहेको सङ्केत गर्छ । भोलिपल्ट कराइचुली हिमालमा परेको घामको झुल्कोसँगै लाग्ना आसपासको क्षेत्रमा चरा अवलोकन गर्दै पाटनतर्पmको उकालो लाग्यौँ ।

जन्तेको लेक, कराइचुली हिमालको काखमा रहेको रेड पाण्डा र कस्तुरी बस्ने वन, घोरल चर्ने भीर, नायकबडाका गाउँ, रामिडाँडा, शिल्पाचौरको मगर बस्ती, नागबेली नलगाड, मनोरम काञ्जीरवा हिमशृङ्खला हेर्दै उकालो चढिरह्याँै । करिब तीन हजार छ सय मिटरबाट वृक्षरेखा पार गरेपछि ठाडा पाटन सुरु भयो । पाटन क्षेत्रको यात्रा पहिलो भएकाले म उत्साहित थिएँ । सँगै हिमाली र हाडफोर गिद्धका उडान, डाँफेका बथान र दुर्लभ चिरकालिजको आवाजले यात्रा थप रोचक बन्यो । पाटनमा चराउनका लागि लैजाँदै गरेका भेडाका हुल र खेद्दै गरेका मान्छे बाटोमा भेटिन्थे । पाटनका घुम्तीमा कुहिरोसँग लुकामारी गर्दै करिब चार हजार दुई सय मिटरको देउराली पाटनमा बास बस्न पुग्यौँ । नायकबडाबाट हिँडेको बारेकोट गाउँपालिकाका अन्य कर्मचारीको टोली खानेकुरा र अन्य बन्दोबस्तीका सामग्री लिएर बेलुकी करिब ८ बजे मात्र हामी बसेको ठाउँमा आइपुग्यो । दहदेखि साइकुवारीसम्म पुग्ने पदमार्गको स्तरोन्नतिको सर्वेक्षण गर्दै आउनुपर्ने भएकाले ढिला आइपुगेको भए पनि सञ्चार विच्छेद हँुदा चिसोमा भोकै रात कटाउनुपर्ने पो हो कि भन्ने चिन्ताले हामी आत्तिएका थियौँ ।

घोडा चरिरहेका लमतन्न पाटन, ढुङ्गामा छेलिँदै खेलिरहेका हिमाली हिउँकुखुराका बथान, रङ्गीबिरङ्गी भुइँपूmल, चट्टानमा हाड खसालेर फोरी खाइरहेका हाडफोर गिद्ध, ससाना पुतली, पाटनको छाती फोरेर निस्किएका मूल, कालिगढले कँुदेजस्ता चट्टान तथा तिनको संरचना र टिलपिलाइरहेका दहको दृश्यमा स्वर्गीय आनन्द अनुभूत गरिरहेका थियौँ । करिब चार हजार चार सय मिटरको देउराली पुगेपछि ३६० डिग्रीको भू–दृश्यमा प्यानोरामा फोटा कति खिच्नु, टिकटक भिडियो कति बनाउनु, घाँटीमा झुण्डिएको दूरबिनले कताकता मात्र हेर्नु, भ्याई नभ्याई हुने । देउराली पुगेपछि पाटनको सुन्दरतामा दह/पोखरीको उपस्थितिले नयाँ आयाम ल्याउँछ । देउरालीबाट उत्तर पश्चिममा देखिन्छ– जुम्लाको पवित्र तीर्थस्थल ठाकुरजीको शिर र त्यसैको काखमा छ जाजरकोटको साइकुवारी मन्दिर र दह । खासमा यो क्षेत्र दुई जिल्लाको पवित्र सङ्गमस्थल हो ।

सबैभन्दा रोचक त के भने देउरालीदेखि साइकुवारीसम्म चार हजार चार सयदेखि चार हजार छ सय मिटर उचाइको करिब पाँच किलोमिटर दूरीमा एक दर्जनभन्दा बढी दह छन् । धार्मिक आस्थाका केन्द्र, नलगाड नदीका आधार, बारेकोटको स्वच्छ पानीका स्रोत, जलवायु परीवर्तनको जोखिमका सूचक तथा न्यूनीकरणका सारथि, साइबेरिया क्षेत्रबाट जाडोयाममा बसाइँसराइ गरी आउने चराको बाटोमा बास बस्ने यी दह पर्यटकीय आकर्षणका केन्द्र पनि हुन् । विषम भूगोलमा अवस्थित यी जलसम्पदा, यहाँका पारिस्थितिकीय संरचना, जैविक तथा अजैविक पक्ष अध्ययन अनुसन्धानको हिसाबले पनि उत्तिकै महìवपूर्ण छन् । दिउँसो २ बजे सुपाकुना, बारेपाटन, देउराली दह, शङ्ख दह, सुँगुर दह, नयाँ ताल, कुकुर दह, पाले दह, सात पोखरी, खेताली पाटन हुँदै साइकुवारी दह र सँगैको मन्दिर क्षेत्रमा पुगियो । नाग पञ्चमी र जनै पूर्णिमा तथा त्यस आसपासका दिनमा साइकुवारी क्षेत्रमा तीर्थालुको बृहत् मेला लाग्ने गर्छ । हरेक वर्ष ३० हजारभन्दा बढी भक्तजन त्यस क्षेत्रमा पुग्ने बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

हिउँले ढाकिएको साइकुवारी क्षेत्र र पानी जमेको साइकुवारी दहको सुन्दरता शब्दमा बयान गर्न सकिन्न । त्यसपछि हामी ठाडा पाटनको ओडारमा बास बस्न फर्कियौँ । पाटन, दह र चट्टानले सिँगारिएको बारेकोट क्षेत्रको एकहप्ते भ्रमण, गोठ र ओडारको बसाइ, मकैको रोटी र सिस्नुको साग तथा मेरा लागि थप १३ प्रजातिका चराको दर्शन अविस्मरणीय रह्यो ।लिम्सा फर्किएपछि बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहसँग भेट भयो । उहाँले बारेकोटलाई पर्यटनको राष्ट्रिय र विश्व बजारसम्म चिनाउन यसका बहुआयामिक पक्ष समेट्दै पर्यटन गुरुयोजना बनाउन लागेको बताउनुभयो । खासगरी ओझेलमा परेका नयाँ भूगोलमा पदयात्रा र अन्वेषण गर्न रुचाउने प्रकृति तथा वन्यजन्तुप्रेमीका लागि यो क्षेत्र आकर्षक हुनसक्छ । पर्यापर्यटन प्रवद्र्धनका लागि पदमार्गको स्तरोन्नति, बास बस्न सकिने आश्रयस्थल निर्माण, सूचनामूलक तथा प्रवद्र्धन सामग्री बनाउनुका साथै प्रचारप्रसार अत्यन्तै जरुरी छ । यसका लागि गाउँपालिका वा जिल्ला तहसँगै प्रदेश र केन्द्र सरकार र सरोकारवाला निकाय सबैको हातेमालो आवश्यक छ । बारेकोटका यी सुन्दर प्राकृतिक सम्पदा र वन्यजन्तुको संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धनका उद्देश्यले बारेकोट संरक्षण क्षेत्र बनाउने नेपाल सरकारको पहललाई सार्थक पार्न सबैले पहल र सहयोग गरौँ । अनुकूल मिले एकपटक बारेकोट पदयात्रामा निस्कौँ । (गोरखापत्र दैनिकबाट साभार)


Leave a Reply

Your email address will not be published.


ताजा समाचार