निर्वाचनमा शक्तिको दुरुपयोग भयो : शर्मा

सुर्खेत, ३० पौष ।
नेकपा (एमाले) सुर्खेतको आठौं अधिवेशनमा नेतृत्वले शक्तिको दुरुपयोग गरेको आरोप लागेको छ । बिहीबार वीरेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै अध्यक्षका प्रत्याशी डण्डीप्रसाद शर्माले निर्वाचनमा शक्तिको दुरुपयोग भएको आरोप लगाएका हुन् । अध्यक्षका उम्मेद्वार उनी अमृतबहादुर विसीसँग पराजित भएका थिए । अधिवेशनमा एमालेका स्थायी समिति सदस्य एवम् कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलले शक्तिको दुरुपयोग गरेर आफूहरुलाई हराइएको आरोप शर्माले लगाए ।

‘निर्वाचनका बेला इन्चार्जले स्थायी समिति सदस्य र प्रदेशको इन्चार्ज हुँ भन्ने विर्सनु भयो’ नेता शर्माले भने, ‘पार्टी कब्जा गर्ने मनसायले प्रतिनिधि छनौटदेखि मतदानस्थलसम्म शक्तिको दुरुपयोग गर्नुभयो ।’ वीरेन्द्रनगरबाट एकसय ३९ जना प्रतिनिधि छनौट गर्ने प्रावधान भए पनि कँडेलले एकसय ५४ जना प्रतिनिधि छनौट गरेको, मतदातालाई धम्काएको, कतिपय उम्मेद्वारलाई आवश्वासन दिएर उम्मेद्वारी फिर्ता लिन लगाएको, मतदाताको कार्डको दुरुपयोग गरेर अर्कै व्यक्तिले मतदान गरेका लगायतका आरोप लगाएका छन् ।

नेतृत्वकै कारण २० सीट जितेको एमाले प्रतिपक्षमा बस्नुपरेको स्मरण गर्दै शर्माले पार्टी प्रदेश इन्चार्जले सुर्खेतमा पनि एमालेलाई कमजोर पार्ने गतिविधि सुरु गरेको बताए । त्यस्तै उपाध्यक्षका प्रत्याशी ऋषि गिरीले पनि प्रदेश इन्चार्जले एकलौटी गर्ने थालेपछि निर्वाचन गर्नु परेको बताए। आफूहरु पनि सर्वसम्मत नेतृत्व चयनको पक्षमा भए पनि प्रदेश इन्चार्जले एकलौटी गर्न थालेपछि निर्वाचनमा जानु परेको उनको दावी थियो ।

निर्वाचनमा जाँदा हारिने निश्चित भएपछि अर्काे समूहले निर्वाचनको मिति लम्ब्याएर मतदातालाई प्रभावित पारेको उनले आरोप लगाए । निर्वाचनमा पराजय ब्यहोरोको टोलिले पार्टी कब्जा गर्छु भन्ने मानसिकता भएका व्यक्तिहरुले सपथ ग्रहण कार्यक्रममा आफूहरुलाई नबोलाएको र एकलौटी ढंगले जिल्ला कमिटी सदस्य मनोनित गरेको समेत आरोप लगाए ।

बिहीबार बसेको एमाले सुर्खेतको प्रथम बैठकले खिमलाल देवकोटा, गणेशमान खनाल, प्रमोद हमाल, निरज भट्टराई र कमल विसीलाई जिल्ला कमिटी सस्यमा मनोनित गरेको छ । देवकोटा उपाध्यक्षका कुलमणि र खनाल नगरकमिटी अध्यक्ष निलकण्ठ खनालाई सहोदर भाइहरु हुन् ।

तपाईको प्रतिक्रिया