असफलतामा हिम्मत हारिनन् तेस्रो प्रयासमा नाम निस्कियो

परिवारको साथ र सहयोग हरेक व्यक्तिका लागि अमूल्य सम्पत्ति हो । परिवारको साथ, सहयोग र हौसलाले गन्तव्यमा पुग्न सहयोग पुग्छ । अप्ठेरालाई छिचोल्न सहयोग पुग्छ । ठिक यस्तै साथ र सहयोग पाइन् सुनिताकुमारी दर्लामीले आफ्नो जीवनमा । वुवाको प्रेरणाले सानैदेखि निजामती क्षेत्रमा लाग्ने रुची जाग्यो । विवाहपछि श्रीमान्को पनि उस्तै हौसला र साथ पाइन् । जसकाकारण उनले सरकारी जागिर खाने लक्ष्य सजिलै पुरा गरिन् । प्रस्तुत छ, हाल श्रम तथा रोजगार कार्यालय सुर्खेतमा प्रमुखका रूपमा कार्यरत उनै दर्लामीको जीवन भोगाइ र निजामती क्षेत्रको अनुभवमा केन्द्रीत रहेर गरिएको कुराकानीको सम्पादित अंशः

रमाइलो थियो बाल्यकाल
सुनिता बुवा स्व. तीर्थबहादुर र आमा तुलसी दर्लामीकी कान्छी छोरी हुन् । २०४३ साल बैशाख २५ गते सुर्खेतको लेकवेशी नगरपालिका १० लामीदमारमा उनको जन्मभयो । मध्यम बर्गिय परिवारमा हुर्किएकी उनको बाल्यकाल सुखद् रह्यो । पेशाले बुवा ग्रामीण स्वास्थ्य कार्यकर्ता र आमा स्वयंसेविका थिए । आमा प्रायः मेलापातमै ब्यस्त हुन्थिन् । दाईहरूले घरायसी काममा सघाउँथे । कान्छी छोरी भएर होला उनलाई मेलापात गर्नैपर्ने बाध्यता थिएन । साथीसँग रहरले कहिलेकाँही मेलापात जान्थिन् । फुर्सदमा साथीसँग रमाउने र गर्मीयाममा पौडी खेलेर रमाउँथिन् । परिवारमा राजनीतिक चेतना पनि थियो । हजुरबुवा त्यसबेला गाउँका प्रधान थिए । २०५४ सालको आमनिर्वाचनमा आमा वडा सदस्य बनेकी थिइन् । यहीकारण सुनिताको बाल्यकाल रमाइलो थियो । अभाव, दुख र पीडाहरू कहिल्यै भोग्नु परेन ।

पढाइमा अब्बल
सुनिता पढाइमा सानैदेखि अब्बल थिइन् । माध्यमिक तहसम्म सधैं प्रथम भइन् । उनले गाउँकै कालिका प्राथमिक विद्यालयबाट औपचारिक पढाइ सुरु गरेकी हुन् । त्यहाँ कखरादेखि कक्षा १ सम्म मात्रै पढिन् । त्यसपछि कक्षा २ देखि एसएलसी सम्मको पढाइ भने खाँणदेवी माध्यमिक विद्यालयबाट पूरा गरिन् । उच्च शिक्षा अध्ययनको लागि वीरेन्द्रनगर आइन् । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट प्रमाणपत्र तह हँुदै स्नातक पास गरिन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस काठमाडौंबाट ग्रामीण विकासमा स्नातकोत्तर गरिन् । पढाइमा कहिल्यै असफलता भोग्नु परेन । विद्यालय तहमा हुने अतिरिक्त क्रियाकलाप मध्ये उनी हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुन्थिन् ।

सानैदेखि सरकारी जागिर खाने रहर
सुनिताका बुवा सरकारी सेवामा थिए । बुवाको चाहना पनि छोरीलाई सरकारी सेवामा पु¥याउने थियो । ‘अहिले राम्रोसँग पढ्ने, ठूलो भएपछि सरकारी जागिर खानुपर्छ’ प्रायः सुनितालाई बुवाले यस्तै भन्थे । पढाइका लागि अभाव हुन दिएनन् । परिपक्व भएपछि सरकारी जागिरको बारेमा चासो राखिन् । स्थायी र सम्मानित क्षेत्र भएका कारण उनले बुवाको चाहना अनुसार सरकारी जागिर नै खाने लक्ष्य बनाइन् । तर सोचाई एउटै भएन ।

सकेपछि एनजीओमा काम गर्ने कि ?

भनेर योजना बनाइन् । ग्रामीण विकासमा स्नातकोत्तर पढेकी उनले युएनमा इन्टनसिपका लागि छनौट भईन् । तर श्रीमान् प्रकाशचन्द्र वलीले निजामती क्षेत्रमै लाग्न जोड गरे । ‘तिमी प्रयास गर, अवश्य सफल हुन्छौँ’ श्रीमान्ले निजामति क्षेत्रमा आउन यसैगरी हौसला दिइरहन्थे । ‘श्रीमान्ले मलाइ निजामति क्षेत्रमै देख्न चाहानुहुन्थ्यो’ सुनिता भन्छिन्, ‘बुवाको प्रेरणा र श्रीमान्को हौसलाकै कारण निजामति क्षेत्रमा आउन उर्जा मिल्यो ।’ बुवाले देखाएको बाटो र श्रीमान्ले दिएको हौसलाह कारण २०७१ सालमा शाखा अधिकृत पदमा प्रतिस्पर्धा गरिन् ।

नभन्दै पहिलो प्रयासमै लिखित परीक्षामा पास भइन् । तर अन्तरवार्तामा भने सफल हुन सकिनन् । तर, हिम्मत भने हारिनन् । २०७२ सालमा पुनः शाखा अधिकृतको लिखित परीक्षा पास गरिन् । दोस्रोपटक पनि सफल भइनन् । प्रयास गर्दै जाँदा २०७२ साल चैतमा सहायक महिला विकास निरीक्षकबाट निजामतीमा प्रवेश गरिन् । महिला तथा बालबालिका कार्यालयमा नेपालगञ्ज पहिलो कर्मथलो बन्यो । करिव ६ महिनापछि अर्थात २०७३ साल कार्तिकमा शाखा अधिकृत सफल भइन् । त्यसपछि तत्कालीन क्षेत्रिय पशु सेवा निर्देशनालय सुर्खेत र कर्णाली प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सेवा गरिन् । २०७६ बैशाखदेखि उनी श्रम तथा रोजगार कार्यालय सुर्खेतमा कार्यालय प्रमुखको रूपमा कार्यरत छिन् । सुनिताकुमारी दर्लामी प्रमुख, श्रम तथा रोजगार कार्यालय, सुर्खेत

निजामितको गरिमा जोगाउने
सुत्र निजामती क्षेत्र आकर्षक र सम्मानित पेशा हो । जहाँ रोजागरीको स्थायित्व पनि छ । नागरिकसँग नजिक रहेर सेवा गर्न पाइन्छ । निजामति क्षेत्रलाई अझै राम्रो बनाउन सेवाग्राहीहरु अधिकार र कर्तव्यप्रति जवाफदेही बन्नुपर्ने सुनिताको सुझाव छ । ‘कतिपय सेवाग्राहीहरु कानूनी प्रक्रिया पुरा नगरेरै कर्मचारीलाई पैसा दिएर काम गराउँछु भन्ने सोच राख्छन्’ उनी भन्छिन्, ‘सेवाग्राही नै अधिकार र कर्तव्यप्रति जवाफदेही भए निजामति क्षेत्रमा गलत प्रवृत्ति आफै रोकिन्छन् ।’ सेवाग्राहीमा बढेको चेतना, आधुनिक प्रविधिको प्रयोग र कर्मचारीहरु पेशाप्रति जवाफदेही बनेको खण्डमा निजामति क्षेत्रको गरिमा बढ्दै जाने उनको बुझाई छ ।

तीन खुशी, एक दुख
सुनिता अभाव र अप्ठेरोदेखि नडराउने व्यक्ति हुन् । असफलतादेखि कहिले हारिनन्, सुखदुखलाई सहयात्री ठानिन् । यहीकारण उनीसँग दुखभन्दा खुशीका सम्झनलायक क्षणहरू धेरै छन् । २०५९ सालमा एसएलसी पास हँुदा पहिलो पटक निकै खुशी भइन् ।

ऊबेला एसएलसी पास गर्न कठिन मानिन्थ्यो । ५०/६० जना विद्यार्थी मध्ये उनीसहित तीन जना मात्रै पास भए । छात्रातर्फ एसएलसी पास हुने उनीमात्र थिईन् । २०७१ सालमा लोकसेवाको परीक्षामा पहिलो पटकमै लिखित परीक्षा पास हुँदा हर्षित बनिन् । २०७३ सालमा आमा बन्दा अर्को खुशी थपियो । २०७१ सालमा बुवा गुमाउँदा भने निकै पीडा महसुश गरिन् ।

तपाईको प्रतिक्रिया