एमाले सुर्खेतमा चुनाव भए अध्यक्षमा डण्डी र धु्रव भिड्दै

सुर्खेत, २५ पौष ।
नेकपा एमाले सुर्खेतको आठौ जिल्ला अधिवेशनबाट नेतृत्व चयन गर्ने कार्य सर्वसहमत हुन नसेको अवस्थामा चुनावी मोर्चा र उम्मेदवारको आन्तरिक तयारी तथा टिम निर्माण तिव्र बनेको छ । अध्यक्ष पदमा दावि गर्दै आएका अमृत बहादुर विसी र कुलमणी देवकोटालाई जिल्ला कमिटी र प्रदेश कमिटीमा भूमिका, जिम्मेवारी दिनेगरी निवर्तमान अध्यक्ष धु्रव कुमार शाही चुनावी मोर्चाको कमाण्ड सम्हाल्दै चुनावी प्रतिस्पर्धाको मैदानमा आउने तयारी गरेका छन् ।

एउटा टीमबाट धुव्रकुमार शाही र अर्को टीमबाट डण्डी प्रसाद शर्मा अध्यक्ष पदमा उम्मेवारी घोषणा गर्दै पदाधिकारीमा प्यानल बनाएर चुनावी मैदानमा उत्रिने आन्तरिक गृहकार्य दुवै पक्षको सुरु भैसकेको छ । अध्यक्ष पदका प्रत्यासी दुई जना भन्दा शसक्त र बलियो देखिएका शाही चुनाव भएको अवस्थामा अध्यक्षमा पुनः दोहोरीने आकांक्षा देखाएका हुन ।

अध्यक्ष पदमा दावि गर्दै आएका कुलमणी देवकोटा, अमृत बहादुर विसी र धु्रव कुमार शाहीले अध्यक्ष मण्डलका संयोजक कँडेललाई शनिबार राती भेट गरी आ–आफ्नो दावि प्रस्तुत गरेका छन् । निर्वाचन भएको खण्डमा देवकोटा र विसी भन्दा निवर्तमान अध्यक्ष रहेका धु्रव कुमार शाहीकै नेतृत्वमा प्यानल घोषणा गरेर चुनावी मैदानमा उत्रिने आन्तरिक गृहकार्य सुरु भैसकेको छ ।

धु्रव कुमार शाही अध्यक्षको उम्मेदवार भएपछि उनको प्यानलबाट वीरेन्द्रनगरबाट उपाध्यक्षमा हरिहरनाथ योगी, सचिवमा भेरीगंगाका यज्ञ प्रसाद ढकाल उम्मेदवार बन्ने सम्भावना बलियो बन्दै गएको छ । अन्य पदाधिकारीमा सिम्ताबाट कविन्द्र कुमार केसी, लेकबेशीबाट देव राना, वीरेन्द्रनगरबाट गंगाराम तिमिल्सेना, बराहतालबाट घनश्याम पाण्डेको दावि तथा चर्चा चलेको छ ।

अध्यक्ष पदका अर्का प्रत्यासी डण्डी प्रसाद शर्माको समेत चुनावी मोर्चाको आन्तरिक टिम निर्माण तथा छलफल पनि चलेको छ । शर्मा टिमबाट उपाध्यक्षमा पञ्चपुरीबाट रेशम बहादुर राना, सचिवमा वीरेन्द्रनगरबाट ऋषि गिरीका साथै पदाधिकारीमा टेकेन्द्र कुमार बस्नेत, बखत खत्री, टोप बहादुर अधिकारी, शान्ति छन्तेल, डम्मर गरंजाको चर्चा तथा दावि रहेको छ ।

निवर्तमान अध्यक्ष एवं प्रतिनिधी सभा सदस्य रहेका शाहीलाई सिम्ताबाट गाउँपालिका अध्यक्ष कविन्द्र कुमार केसी, गुर्भाकोटबाट स्वयंम आफै, भेरीगंगाबाट यज्ञ प्रसाद ढकाल, लेकबेशीबाट नगर प्रमुख गगंनसिंह सुनार, देव राना, चिङ्गाडबाट प्रदेश सभा सदस्य खड्क बहादुर खत्री, वीरेन्द्रनगरबाट कुलमणी देवकोटा, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, बराहतालबाट घनश्याम पाण्डे, पञ्चपुरीबाट धन बहादुर थापा र चौकुनेबाट गाउँपालिका अध्यक्ष धिर बहादुर शाहीको बलियो साथ समर्थन जुटाएका छन् ।

अध्यक्ष पदका अर्का उम्मेदवार डण्डी प्रसाद शर्मा चुनावी मैदानमा उत्रिएको अवस्थामा सिम्ताबाट टेकेन्द्र कुमार बस्नेत, जित बहादुर सिंह, नेत्रलाल महतारा, गुर्भाकोटबाट कुमान खत्री, कृष्णा ओली, लेकबेशी नगरपालिकाबाट टीकाराम सोमै, नगर उपप्रमुख शान्ति छन्तेल, भेरीगंगाबाट धनसिंह खड्का, टिकाराम सुवेदी वीरेन्द्रनगरबाट ऋषि गिरी, डम्मर तिवारी, नन्दलाल शर्मा चिङ्गाडबाट बोधविक्रम जिसी, टोप बहादुर अधिकारी, बखत खत्रीको साथ र कडा समर्थन रहेको छ ।

त्यसैगरी बराहताल गाउँपालिबाट पालिका कमिटी अध्यक्ष हरिलाल सलामी, ताराकेशर गौतम, डम्मर गरंजा, पञ्चपुरीबाट रेशम बहादुर राना, भिम रावत, चौकुने गाउँपालिकाबाट पालिका उपाध्यक्ष निर्मला मगर, लाल बहादुर थापा, काँशिराम देवकोटा, हरि प्रसाद अधिकारीको बलियो साथ तथा समर्थन जुटाएका छन् ।

सर्वसम्मत अध्यक्षमा तीन जनाकै दावि
नेकपा एमाले सुर्खेतको आठौ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना न्यून हुँदै गएको छ । अध्यक्षका प्रत्यासी तीन जनाले आफुलाई सर्वसम्मत अध्यक्ष स्वीकार्न एकले अर्कोलाई प्रस्ताव गरेपनि एकले अर्कोलाई नस्वीकार गरेपछि सर्वसम्मत हुने सम्भावना न्यून बन्दै गएको हो ।

शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको आठौ जिल्ला अधिवेशनको बन्दसत्रमा भएको छलफलमा पार्टी र बलियो बनाउन एक ढिक्का भएर सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने अधिवेशन प्रतिनिधिहरुको ठुलो आवाज रहेको थियो । सर्वसम्मत अध्यक्ष मण्डलले घोषणा गर्ने नभई विभिन्न पदका आकांक्षीहरुको उम्मेदवारी लिएर उनीहरुकै विचमा छलफल गराई उनीहरुबाटै साझा र सर्व स्वीकार्य व्यक्तिकै नेतृत्वमा जिल्ला कमिटी गठन गर्नुपर्ने आवाज उठेको थियो ।

सर्वसम्मत नेतृत्व चयन गर्नका लागि अध्यक्ष मण्डलले शनिबार राती अबेरसम्म छलफल चलाइएको थियो । अधिवेशन प्रतिनिधीहरुका विचमा भएको छलफलमा सर्वसम्मत नेतृत्व चयनको विधि, प्रक्रिया, मापदण्ड माथी नै प्रश्न उठाएका थिए । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको संयोजकत्वमा गठन भएको आठ सदस्यीय अध्यक्ष मण्डलमा समेत सर्वसम्मत नेतृत्व चयनको विधि, प्रक्रिया, मापदण्डमाथीनै फरक मत रहेको छ ।

अध्यक्ष मण्डलका संयोजक कँडेल आफ्नै टीमबाट दुई उम्मेदवार मध्ये एमाले जिल्ला कमिटीका उपाध्यक्ष अमृत बहादुर विसीलाई प्रदेश कमिटीमा व्यवस्थापन गर्ने आश्वासन दिएर कुलमणी देवकोटालाई अगाडी सार्न चाहेका छन् भने अध्यक्ष मण्डलका सदस्य एवं सुर्खेत जिल्ला इन्चार्ज नवराज रावत पार्टीलाई थप बलियो, एकढिक्का बनाउन जिल्ला कमिटीको नेतृत्वमा नयाँ अनुसार युवाहरुको टिमबाट जिल्ला कमिटी निर्माण गर्नुपर्ने चाहनामा रहेका छन् ।

तपाईको प्रतिक्रिया