एमाले सुर्खेतमा शर्मा परिवारको ‘कमब्याक’

सुर्खेत, २३ पौष ।
नेकपा एमाले सुर्खेतको संगठन निर्माण तथा नेता, कार्यकर्ताको उत्पादन, संगठन तथा सदस्य विस्तारमा शर्मा परिवारको ठुलो योगदान छ । नेकपा एमाले सुर्खेतको रामघाटमा सम्पन्न भएको प्रथम जिल्ला अधिवेशनबाट जिल्ला कमिटी सदस्यमा सबैभन्दा बढी लोकप्रिय मत ल्याएर ऋषि प्रसाद शर्मा विजयी भएपछि एमाले सुर्खेतमा शर्मा परिवारको इन्ट्रि भएको थियो ।

२०५४ सालमा पार्टी विभाजन भएर माले–एमाले हुँदा एमाले सुर्खेत जिल्ला कमिटी उपसचिव रहेका स्वर्गिय सहिद ऋषि प्रसाद शर्माले सानो टीमसहित बचेका केही नेता, कार्यकर्तालाई उत्साहित बनाउँदै सुर्खेतमा एमाले जोगाएका थिए । जिल्लाको नेतृत्वसहित ठुलो संख्यामा नेकपा मालेतिर लागेका नेता तथा कार्यकर्ता पछि पुनः ऋषि प्रसाद शर्माकै बाटो मुलघर एमालेमै फर्किएका थिए । उनीहरु अहिले एमाले पार्टीको महत्वपूर्ण भूमिका र जिम्मेवारीमा रहेका छन् ।

नेकपा एमाले सुर्खेतको तेस्रो, चौथो र पाँचौं जिल्ला अधिवेशन स्वर्गिय शर्माकै नेतृत्वमा सम्पन्न भएको थियो । उहाँले चाहे अनुसारकै व्यक्तिहरुलाई नेतृत्वमा पु¥याउँदै नेतृत्व र पुस्ता हस्तान्तरण गर्नुभएको थियो । एक पटक जिल्ला उपसचिव, दुई पटक पार्टी जिल्ला सचिव र एक पटक अञ्चल कमिटी सचिव रहेका ऋषि प्रसाद शर्माको प्रथम संविधान सभा निर्वाचनको प्रचारका क्रममा २०६४ चैत्र २६ गते मैनतडाको लोदेमा गोली हानि हत्या गरियो । उहाँको हत्यापछि भएको उप निर्वाचनमा धर्मपत्नि कमला शर्मा पहिलो संविधान सभा सदस्य पदमा निर्वाचित हुनुभएको थियो । पार्टी, संगठन निर्माणमा लामो योगदान पु¥याएको शर्मा परिवारको संसदीय मोर्चामा उक्त अवसर पहिलो र अन्तिम बनेको छ ।

ऋषि प्रसाद शर्माको हत्यापछि विभिन्न अरोह–अवरोह, छेकबार–अवरोधका विचमा उनका भाई डण्डी प्रसाद शर्मा नेकपा एमाले सुर्खेतको सक्रिय राजनीतिमा देखा पर्नुभएको छ । नेतृत्व चयनका लागि छैठाँै जिल्ला अधिवेशनमा नवराज रावतको पक्षमा उभिएर आफु र नेतृत्व विजयी हाँसिल गर्नुभएका शर्माले साताँै जिल्ला अधिवेशनमा धु्रव कुमार शाहीको पक्षमा उभिएर आफ्नो र टीम नेतृत्वको विजय हाँसिल गर्नुभएको थियो ।

घटनाक्रमले आठौं जिल्ला अधिवेशनमा सर्वसम्मत रुपमा जिल्ला नेतृत्वका दावि गर्दै आफ्नो दावि पेश गर्नुभएको छ । नेकपा एमाले जिल्ला कमिटी सुर्खेतको आठौँ जिल्ला अधिवेशन आज शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु हुँदैछ । आठौं जिल्ला अधिवेशनका लागि प्रतिनिधी छनौंट, अध्यक्ष मण्डल गठन गर्नुका साथै अधिवेशन प्रतिनिधी ५ प्रतिशत मनोनितको मापदण्ड टुङ्गाइएको छ ।

सुर्खेतमा १२ हजार ८० जना संगठित सदस्यहरुबाट छनौंट भएका प्रतिनिधीले चार बर्षे कार्यकालका लागि जिल्लाको नयाँ नेतृत्व चयन गर्दैछन । जिल्ला अधिवेशनहरुका सम्बन्धमा एमाले केन्द्रले अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने, सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने गरी नेतृत्व चयन गर्ने गरी अपानी जारी भएको छ । पार्टी केन्द्रले जारी गरेको अपानी अनुसार भए सर्वसम्मत नभए लोकतान्त्रिक प्रकृयाबाट जिल्ला नेतृत्व छनौंट गर्ने जिल्ला कमिटी बैठकमा छलफल भएको छ ।
विहिबार वीरेन्द्रनगरमा सम्पन्न भएको सातांै जिल्ला अधिवेशनबाट निर्वाचित जिल्ला कमिटीको अन्तिम बैठकमा सर्वसम्मत रुपमा जिल्ला अध्यक्षका लागि डण्डी प्रसाद शर्माले आफ्नो नाम तथा दावि पेश गर्नुभएको छ ।

बैठकमा पेश भएका आर्थिक, सांगठनिक प्रतिवेदनमाथी छलफलसहित नेतृत्वका लागि जिल्ला कमिटी सदस्य शर्माले सर्वसम्मत जिल्ला नेतृत्वका लागि आफ्नो नाम तथा दावि पेश गर्नुभएको हो । जिल्ला कमिटी बैठकमा आर्थिक प्रतिवेदन उपाध्यक्ष अमृत बहादुर विसी र सांगठनिक प्रतिवेदन जिल्ला अध्यक्ष धु्रव कुमार शाहीले पेश गर्नुभएको थियो ।

जिल्ला कमिटी बैठकमा बोल्दै उहाँले पार्टी विभाजनले पार्टी संगठनमा असर गरेको यस गम्भिर अवस्थाबाट पार्टीलाई एकताबद्ध–सुदृढ, सुसंगठित गर्नका लागि सर्वसम्मत जिल्ला कमिटी अध्यक्षमा आफ्नो दावि रहेको बताउनुभयो । जिल्लाको नेतृत्व सर्वसम्मत हुन नसक्ने अवस्थामा पार्टी केन्द्रको अपानी, जवजका मुल्यमान्यता र सिद्धान्त अनुसार लोकतान्त्रिक विधि, प्रकृयाको बाटो खुल्ला राख्नुपर्ने उहाँको भनाई थियो । जिल्ला अधिवेशनमा सहभागि हुनुभएका सम्पूर्ण प्रतिनिधिहरुको भावना र चाहना अनुसार भए सर्वसम्मत नभए लोकतान्त्रिक विधि र प्रकृयाबाट जिल्लाको नेतृत्व चयन हुनुपर्ने उहाँको भनाई थियो ।

उहाँले सामाजिक सञ्जालमा लेख्नुहुन्छ ‘राजनिती अन्य ब्यक्तिहरुलाई प्रभावित गर्ने सिद्धान्त र व्यबहार हो, साथै प्रमुख ऐतिहाँसिक रचना पनि हो । शक्ति र श्रोतको न्यायिक बितरण प्रणाली हो । यसबाट जनताको नेतृत्व गर्ने सत्ता प्राप्त हुन्छ । जनताको बुद्धिमताबाट सत्ता निर्धारित हुन्छ । सत्ताले मानिसलाई भ्रष्ट गर्छ । स्वतन्त्रता हरेक ब्यक्तिको राज्यसत्ताको सहभागिता हो । सामुहिक अधिकारले ब्यक्तिगत अधिकारलाई दबित गरेन भने सत्तावादको उच्चरुप ब्यक्तिवादमा परिणत हुन्छ । जसले कम्युनिष्ट पार्टीको जात बिहिन, बर्गबिहिन, धर्म बिहिन, सत्ता बिहिन कम्युनिस्टको राजनीतिलाई धुलोमा मिसाएर समाप्त गरिदिन्छ ।’


नेतृत्वका लागि सर्वसम्मतको प्रयास
एमाले सुर्खेतका नेताहरूका अनुसार नेतृत्वका लागि सकभर सर्वसम्मतको प्रयास भइरहेको छ । जिल्ला अध्यक्ष तथा पदाधिकारीका लागि सहमतिमा नेतृत्व छान्न करसत थालिएको उनीहरूले बताएका हुन् । अहिलेसम्म अध्यक्षका लागि तीन जनाको चर्चा छ । बहालवाला उपाध्यक्ष अमृतबहादुर विसी, डण्डीप्रसाद शर्मा र कूलमणि देवकोटा अध्यक्षका उम्मेदवार बन्ने सम्भावना देखिएको हो ।

यद्यपि उम्मेदवारी दिने वा नदिने बारे यी नेताहरूले सार्वजनिक रूपमा अभिव्यक्ति भने दिइसकेका छैनन् । नेता निकटका व्यक्तिहरूले उनीहरूको अध्यक्षमा दाबी रहने बताउँदै आएका छन् । अध्यक्षका आकांक्षी यी तीन जनाबीच सहमति जुट्न नसके निर्वाचनको प्रक्रियामा जाने नेताहरूको भनाई छ । जिल्ला कमिटी बैठकले गठन गरेको अधिवेशन अध्यक्ष मण्डलमा रहेका शाही जिल्ला अध्यक्षको उम्मेदवार हुने सम्भावना भने न्यून छ ।

अन्य पदाधिकारीका लागि युवा नेता टेकेन्द्र कुमार बस्नेत, ताराकेशर गौतम, ऋषि गिरी, हरिहरनाथ योगी, ऐनबहादुर चन्द, पूर्ण प्रसाद पौडेल, कविन्द्रकुमार केसी, गंगाराम तिमिल्सेना, हरि प्रसाद अधिकारी, डम्मर गरंजा, घनश्याम पाण्डे, डम्मर तिवारी लगायतको चर्चा छ । यो पटक बाट एमालेको जिल्ला कमिटीमा पाँच जना पदाधिकारी रहने छन् । यस अघि चार जना पदाधिकारी हुने व्यवस्था थियो । अब भने अध्यक्ष, उपाध्यक्ष, सचिव, र दुई जना उपसचिव रहनेछन् ।

जिल्ला अधिवेशनको अध्यक्ष मण्डल
नेकपा एमाले जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नका लागि अधिवेशन हुँदैछ । अधिवेशनको पूर्वसन्ध्यामा बसेको जिल्ला कमिटी अन्तिम बैठकले अध्यक्ष मण्डल गठन गरेको छ । जिल्ला अधिवेशनमा पेश हुने आर्थिक प्रतिवेदन पार्टी उपाध्यक्ष अमृत विसी र प्रगति तथा सांगठनिक प्रतिवेदन जिल्ला अध्यक्ष धु्रव कुमार शाहीले पेश गर्नुभएको थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य तथा एवं कर्णाली प्रदेश इन्चार्ज यामलाल कँडेलको संयोजकत्वमा ८ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ । सर्वसम्मत नेतृत्व चयन गर्ने उद्देश्यले अध्यक्ष मण्डल गठन गरिएको हो । अध्यक्ष मण्डलको सदस्यमा एमाले केन्द्रीय सदस्य नवराज रावत, केन्द्रीय सदस्य मोहनमाया ढकाल, कर्णाली प्रदेश कमिटी सचिव कमल शाही, जिल्ला कमिटी अध्यक्ष धु्रव कुमार शाही, प्रदेश कमिटी सदस्यद्धय चुडामणी शर्मा र कृष्ण हमाल रहनुभएको छ ।

६५८ जना प्रतिनिधिबाट नेतृत्व चयन
अधिवेशन प्रतिनिधिमा चौकुने गाउँपालिकाबाट ६० जना, पञ्चपुरी नगरपालिकाबाट ५२ जना, बराहताल गाउँपालिकाबाट ३४ जना, वीरेन्द्रनगरबाट १५४ जना, चिङ्गाड गाउँपालिबाट ३६ जना, सिम्ता गाउँपालिकाबाट ४९ जना, भेरीगंगा नगरपालिकाबाट ७५ जना, गुर्भाकोट नगरपालिकाबाट ५३ जना, लेकबेशी नगरपालिकाबाट ५७ जना प्रतिनीधिहरु छनौंट भएका छन् ।

अध्यक्ष मण्डल, गाउँ–नगर कमिटीका अध्यक्षहरुसंगको परामर्शमा जिल्ला कमिटी अध्यक्ष र उपाध्यक्षले जिल्ला अधिवेशन प्रतिनिधीको ५ प्रतिशतले हुने ३१ जना जिल्ला अधिवेशन प्रतिनिधी मनोनयन गर्ने निर्णय भएको छ । जिल्ला कमिटी सदस्य ४८ जना, पालिका कमिटीका अध्यक्षहरु ९ जना गरी ५७ जना अधिवेशन आयोजक रहेका छन् ।

निर्वाचन प्रक्रियाका लागि पूर्व निजामती कर्मचारी कृष्णदेव गिरीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ । वीरेन्द्र थापा, रामबाबु विसी, नारायणनाथ योगी, निलकण्ठ गौतम सदस्य रहेको निर्वाचन समितिले निर्वाचनका प्रक्रिया पुरा गर्ने जनाइएको छ ।

यस्तो छ मापदण्ड
अधिवेशनसम्बन्धी अन्य विषय देहायबमोजिम गर्ने :

  • जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएको पार्टी सदस्यतालाई नै आधार बनाउने ।
    अधिवेशनको लागि प्रतिनिधि चयनको अनुपात र मापदण्ड पार्टी विधानको व्यवस्था अनुसार सम्बन्धित कमिटीले तय गर्ने ।
  • जिल्ला अध्यक्षहरू माथिल्लो कमिटीमा निर्वाचित भएको हालको अवस्थामा निजकै अध्यक्षतामा जिल्ला अधिवेशन आयोजना गर्न सकिने ।
  • मौसमी प्रतिकूलताका कारणलेपुस २३ मा जिल्ला अधिवेशन आयोजना गर्न नसकिने हिमाली जिल्लाका हकमा केन्द्रीय कार्यालयसँगको परामर्शमा अर्को मिति तोक्न सकिने ।
  • जिल्ला अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण प्रदेश संगठन कमिटीले र प्रदेश अधिवेशनका लागि अतिथि व्यवस्थापनको सहजीकरण केन्द्रीय कार्यालयले गर्ने ।
  • अधिवेशनमा प्रतिनिधिहरूलाई सर्वसम्मत नेतृत्व चयनका लागि प्रेरित गर्ने ।
  • सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने ।
  • निर्वाचनको विधि र प्रक्रियाका हकमा पार्टीको केन्द्रीय निर्वाचन आयोगको निर्देशन अनुसार गर्ने ।
  • अधिवेशन सम्पन्न भएको एक हप्ताभित्र निर्वाचित पदाधिकारीको नामावली सहितको प्रतिवेदन केन्द्रीय कार्यालयमा पठाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार