आवेदन दिएका चार हजार नागरिकले पाएनन् खानेपानीको धारा


सुर्खेत : खानेपानीको धारा वितरण गर्न भन्दै २०७४ सालमा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले आवेदन माग्यो । धारा पाउने आशले वीरेन्द्रनगरका सात हजार दुईसय ६७ नागरिकले आवेदन दिए । धारा जडानका लागि स्किम  नं. बाट ६८ जना, स्किम न २ बाट एक हजार एकसय तीन जना, स्किम न ३ बाट पाँचसय १८ जना र स्किम नम्बर ४ बाट एकस ६४ जनाले आवेदन दिए ।

त्यस्तै स्किम नम्बर ५ बाट तीनसय ७६ जना, स्किम नम्बर ६ बाट चारसय ३० जना, स्किम नम्बर ७ बाट एकहजार ३० जना, स्किम नम्बर ८ बाट एक हजार तीनसय पाँच जना, स्किम नम्बर ९ बाट एक हजार सातसय ८७ जना र स्किम नम्बर १० बाट चारसय ९४ जनाले आवेद दिए। आवेदनसँग जडान शुल्कसहित संस्थाले उनीहरुबाट १२ अर्बबढी रकम पनि अशुल्यो । जडान शुल्कसहित फलामकापाइपलाइनलाई १७ हजार पाँचसय र प्लाष्टिकको पाइपलाइनलाई १६ हजार पाँचसयका दरले रकम अशुल्यो ।

तर आवेदन दिएको चार बर्ष वितिसक्दा पनि संस्थाले झण्डै चार हजार नागरिकलाई धारा दिन सकेको छैन । आवेदन दिएका नागरिकले कहिले धारा जडान गर्न पाउँछन् भन्ने निश्चित छैन । आवेदन दिएका मध्ये झण्डै तीन हजार नागरिकले भने धारा पाएका छन् । पहुँचवालाहरुलाई भने सुटुक्क धारा पाएका हुन् । बाँकीलाई पानीको स्रोत अपुग भएको भन्दै संस्थाले धारा वितरण गर्न गरेको छैन । उसो त प्राविधिक अध्ययन अनुसार करिव २२ हजार धाराबाट पानी वितरण गर्न सकिन्छ ।

तर हालः संस्थाले भने करिव वीस हजार धाराबाट मात्रै पानी वितरण गर्दै आएको छ । संस्थामा पदाधिकारीबीच पटक–पटक देखिने विवादका कारण पनि धारा वितरणमा ढिलाई भएको हो । गत असोजमा संस्थाले आवेदन दिएका सबैलाई धारा वितरण गर्ने निर्णय नै गरेको थियो । पदाधिकारी बैठकले धारा वितरण गर्ने निर्णय गरे लगत्तै संस्थाका पदाधिकारीबीच विवाद बढेको थियो । यही कारण एक बर्षदेखि धारा वितरण रोकिएको संस्थाले जनाएको छ । त्यस्तै पछिल्लो तीन बर्षदेखि संस्थालाई कुन मोडेलबाट सञ्चालन गर्ने भन्नेमा पनि विवाद छ ।

यही कारण उपभोक्ता समितिको कार्यकाल सकिएको तीन वर्षभन्दा वितिसक्दा पनि नयाँ कार्यसमिति बनेको छैन । संस्था कुन निकाय मातहत रहने र कस्तो संरचना बनाउने भन्नेबारे टुङ्गोसमेत लागेको छैन। संस्थालाई कम्पनी मोडेलमा जाने, संस्थाको समितिमा तीनै तहका सरकारका प्रतिनिधि र विज्ञसहितको टिम राख्नुपर्ने भन्नेमा तीब्र विवाद कायमै छ ।

‘छिट्टै आवेदन दिएका सबैले धारा पाउँछन्

यता सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले भने आवेदन दिएका सबैलाई एक बर्षभित्र धारा वितरण गर्ने जनाएको छ । ‘पानीको स्रोतको सुनिश्चितता नभएका कारण सबैलाई धारा दिन सकेका छैनौं’ संस्थाका अध्यक्ष कुलमणि देवकोटाले भने, ‘ ढिलोमा अबको बर्ष दिनभित्र आवेदन दिएका सबैले धारा पाउँछन् ।


’ पानी स्रोत बृद्धि नभएका कारण धारा वितरणमा ढिलाई भएको उनको तर्क छ । ‘पानीको स्रोत अपुग भएका कारण आवेदन दिएका सबैलाई एकै पटक धारा वितरण गर्न सक्ने सक्ने अवस्था भएन’ उनले भने, ‘अहिले केही स्रोत बृद्धि भएको छ, अब छिट्टै धारा वितरण गर्छाैँ ।

’ अहिलेको पानीको स्रोतले हाल २२ हजार धारामा पानी पु¥याउन सक्ने क्षमता छ । तर संस्थाले झण्डै वीस हजार धाराबाट पानी वितरण गर्दै आएको छ । शुक्रबार मात्रै बुलबुलेको पानीको स्रोत थप भएपछि स्रोत बृद्धि भएको संस्थाले जनाएको छ ।

भेरी पम्पिङ आयोजनामा ढिलाइ

यसैबीच भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याउने महत्वकाँक्षी आयोजना निर्माणमा ढिलाई भएको छ । आगामी ३० बर्षसम्म नगरवासीलाई पुग्नेगरी आयोजना अध्ययन थालिएको पाँच बर्ष वितिसक्दा पनि गति लिन सकेको छैन । भेरी पम्पिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बन्नमै बर्ष दिन लागेको थियो ।

डीपीआर तयार भए पनि थप कामहरु अगाडि बढ्न सकेको छैन । डीपीआर अनुसार अनुसार भेरी पुल र झुप्रा खोलाको दोभान नजिकबाट पानी पम्पिङ गरेर अमृतडाँडामा ल्याउने र त्यहाँबाट उपत्यकामा वितरण गर्ने योजना छ । तर अमृत डाँडामा वन क्षेत्रमा पर्ने भएकाले त्यहाँ भौतिक संरचना निर्माण गर्न थप समय लाग्ने देखिएको छ ।

‘यसअघि लगानीको स्रोत सुनिश्चितता नहुँदा भेरी पम्पिङ आयोजना निर्माणमा ढिलाई भएको हो’ संस्थाका अध्यक्ष देवकोटा भन्छन्, ‘अहिले लगानीको सुनिश्चितता भएको छ तर प्राविधिक कठिनाईका कारण काम अगाडि बढाउन सकिएको छैन ।’ झण्डै सात अर्बको भेरी पम्पिङ आयोजनामा विश्व बैंकले झण्डै ७० प्रतिशत लगानी गर्ने जनाएको छ । विगत पाँच वर्षदेखि यो अयोजना चर्चामा छ


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार