संस्कृतिको संरक्षण


नेपाल संस्कृतिको खानी हो । यहाँ विभिन्न प्रकारका संस्कृति छन् । नेपाल एउटा यस्तो देश हो, जहाँ मौलिक संस्कृति र पहिचान भएका जातजातीको बसोबास छ । आफ्नै मातृभाष र भेषभुसा छ ।

यही कारण त नेपाललाई विभिन्न जातजातीको फुलबारी भनिएको छ । देशभित्र रहेका फरकफरक र मौलिक भाषा, रहनसहन, भेषभुसा, बाजागाजा र संस्कारका कारण नेपालको पहिचान अलग्गै छ । यहीकारण नेपालमा अनेकतामा पनि एकता कायम छ । एक संस्कृतिले अर्को संस्कृतिलाई सम्मान गर्न प्रचलन यहाँ छ । यसले पनि देशमा मौलिक संस्कृतिको प्रवद्र्धन र संरक्षणमा टेवा पुग्दछ । तर पनि पछिल्लो समय नेपालमा पश्चिमा संस्कृतिको हस्तक्षेप बढ्दो छ ।

अर्थात मौलिक सस्कृतिको संरक्षणमा चुनौती थपिएको छ । आधुनिकताको नाममा आदिबासी र जनजातीहरुका भाषा, रहनसहन, चाडबाड र पोशाकहरु हराउन थालेका छन् । नयाँ पुस्तामा मौलिक संस्कृतिको ज्ञान नै छैन । यसले मौलिक संस्कृतिको संरक्षणमा कठिनाइ भइरहेको छ । कर्णाली सस्कृतिको धनी प्रदेश हो । यहाँ विभिन्न जातजातीको बसोबास छ । उनीहरुको आफ्नै मौलिक पहिचान पनि छ । जंगलमा घुमन्ते जीवन विताइरहेका राउटेदेखि कुसुन्डासम्म यही प्रदेशमा बसोबास गर्दछन् ।

धार्मिक मान्यता, चाडबाड, कला र संस्कार आफ्नै खालका छन् । त्यसमा पनि आदिबासी र जनजातीहरुको मौलिक संस्कृति र संस्कार भने हराउन थालेको छ । यो विषयमा सरोकारवालाहरु नै चिन्तित छन् । विगतमा मनाइने चाडबाडको शैली फेरिएको छ । पराम्परागत पोशाकहरु हराउन थालेका छन् । आधुनिकताको नाममा मौलिक गीतहरु नै लोप भएका छन् । मेला र महोत्सवमा मात्र सिमित बनेका छन् जनजातीका बाजाहरु । यसले ती समुदायहरुको पहिचान नै हराउने आशंका पैदा भएको छ ।


सुर्खेतमा बसोबास गरिरहेका थारु समुदायको संस्कृति पनि हराउन थालेको छ । थारु अगुवाहरुका अनुसार आधुनिकताको प्रभाव र राज्यले चासो नदिएका कारण यस्तो अवस्था आएको हो । देखासिकी र संरक्षण अभावमा मौलिक संस्कृति हराउन थालेकोमा चिन्ता बढ्न थालेको हो । कला र संस्कृति हाम्रो पहिचान हो । त्यसकारण पनि हरेक सुमदायलाई आफ्नो संस्कृति प्यारो नै हुन्छ ।

तर यसको संरक्षण र प्रवद्धन नभए त्यो विस्तारै हराउने खतरा हुन्छ । पछिल्लो समय हाम्रा कतिपय मौलिक संस्कृति र रहनसहनहरु हराउन थालेका छन् । विदेशी संस्कृति र सामाजिक संजालको प्रयोगले यो अवस्था आउन थालेको हो । यसकारण यहाँका मौलिक संस्कृति र पहिचानहरु जोगाउन सबै पक्ष गम्भिर बन्नै पर्दछ । त्यसमा पनि मुख्य जिम्मेवारी सम्बन्धित समु्दायको नै हो । समुदायले नै आफ् नौ संस्कृति जोगाउने र नयाँ पुस्तालाई हस्तान्तरण गर्दै जानु पर्दछ ।

यसो भएमा मात्र संस्कृतिको संरक्षण र जगेर्ना हुन्छ । साथै स्थानीय सरकारले पनि यसमा भूमिका निर्वाह गर्न सक्छन् । स्थानीय कला, संस्कृति र रहनसहनलाई स्थानीय पाठ्यक्रममा समावेश गर्नेतर्फ स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार