‘चोर’ नेता र लिङ्देनको सोच


राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष निर्वाचित भएपछि राजनीतिमा राजेन्द्र लिङ्देनको चर्चा एकाएक चुलिएको छ । लिङ्देनको उचाइ नेपाली कांग्रेसको महाधिवेशनमा प्रकट रूपमा देखा परेको छ । भृकुटीमण्डपमा उनको व्यक्तित्व र उनले प्रकट गरेको विचारले चर्चा पाउने कुरालाई कसरी बुझ्नुपर्छ भन्ने विषयमा पनि बहस हुन थालेको छ । खासगरी राजनीतिक दलका नेताहरूलाई ‘ चोर’को संज्ञा दिएपछि लिङ्देनको पक्षमा भएको हुटिङले सत्ताधारी दलका नेताहरूको मुटुमा ढ् याङ्ग्रो ठोकिएको छ । राजतन्त्र स्थापना गर्ने प्रतिगामी विचार बोकेको व्यक्तिले नेताहरूका बारेमा चर्चायोग्य कुरा उठान गर्नुले राजनीतिले गलत दिशा समातेको छ भन्ने बुझ्न गाह्रो पर्दैन । आफूलाई निकै लोकप्रिय भएको दाबी गरिरहेका नेताहरू राजतन्त्र स्थापना गर्न हिँडेका नेताको पक्षमा देखिएको हुटिङबाट झस्किएका छन् । लिङ्देनको पक्षमा हुटिङ हुनुमा कांग्रेस, एमाले र माओवादीका नेताहरू धेरै हदसम्म जिम्मेवार छन् । उनीहरूले जनताको बलिदानबाट प्राप्त गणतन्त्रलाई आफ्नो स्वार्थपूर्तिका लागि केही व्यक्ति र गुटको खोपीमा कैद गर्न खोजेपछि नेताहरूका विरुद्धमा वितृष्णा फैलिएको छ । त्यही वितृष्णालाई राजेन्द्र लिङ्देनले ‘क्यास’ गर्न खोजेका छन् । प्रमुख दलका नेताहरूको असफलता राजेन्द्र लिङ्देनको सफलताको मापन बन्न थालेको छ । पार्टीभित्र शक्तिशाली र झण्डै १५ वर्ष अध्यक्षको रूपमा नेतृत्व गरेका कमल थापालाई पराजित गरेपछि लिङ्देनको उचाइ चुलिएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशमा हिन्दु राज्य र राजतन्त्रको पुनस्र्थाथापना हुनुपर्ने माग अगाडि सार्दै आएको छ । त्यसबाहेक राजेन्द्र लिङ्देनका आफ्नै राजनीतिक एजेण्डा पनि रहँदै आएका छन् । प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, समानुपातिक निर्वाचन प्रणाली, सांसद मन्त्री हुन नपाउने, जातका आधारमा होइन, वर्गका आधारमा आरक्षण दिनुपर्नेलगायत एजेण्डाहरू उनका छन् । देशका सबै राजनीतिक दलभित्र पुरानै नेताहरूले नेतृत्व कब्जा गर्ने थिति रहेकै बेला राप्रपामा लिङ्देन उदाएपछि अन्य राजनीतिक पार्टीभित्र पनि हलचल मच्चिएको छ । पार्टीभित्रको प्रतिस्पर्धामा आफूलाई स्थापित गर्न सक्नु उनको ठूलो सफलता मान्नुपर्छ । लिङ्देनले उठाएका मुद्दाहरूप्रति भने सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू निकै चनाखो बन्नुपर्छ । ‘गणतन्त्रमा आस्था राख्ने’ नयाँ पुस्ताका केही व्यक्तिहरूले राजेन्द्र लिङ्देनको जसरी गुणगान गाइरहेका छन्, तिनीहरूले लामो लडाइँबाट प्राप्त गणतन्त्रमाथि भद्दा मजाक गरिरहेका छन् । तिनीहरूले गणतन्त्रका लागि लडेका सयौँ सहिदहरूको अपमान गरेका छन् । आज नेपाली जनताले जुन स्वतन्त्रता प्राप्त गरेका छन्, जुन मौलिक हकहरू प्राप्त गरेका छन्, जनताका छोराछोरी देशको सर्वाेच्च पदमा जान सक्ने जुन मार्ग स्थापित गरेका छन्, त्यो कुनै राजेन्द्र लिङ्देनहरूले खनेको बाटो होइन । राजनीतिक दलहरूको अगुवाइमा लाखौँ जनताको संघर्षको परिणाम हो । गणतन्त्रवादीहरूले यो वास्तविकतालाई भुल्ने चेष्टा त गरिरहेका छैनन् भन्ने शंका उत्पन्न भएको छ । राजेन्द्र लिङ्देन यस्ता व्यक्ति र पार्टीको प्रमुख हुन्, जसले हजारौँ जनतालाई आफ्नो विरोध गरेबापत जेलको चिसो छिँडीमा पु¥याउने राजतन्त्रको वकालत गरिरहेका छन् । उनले जन्मदै सर्वश्रेष्ठ व्यक्ति बन्ने, जनताको स्वतन्त्रताको घाँटी रेट्ने राजतन्त्र फिर्ता ल्याउन चाहन्छन् । एमाले, कांग्रेस, माओवादी कार्यकर्ताहरूले राजेन्द्र लिङ्देनको लोकप्रियताको बखान गर्नु प्रतिगमन र हजारौँ शहीदहरूको अपमान हो । तर, आफ्ना कार्यकर्ता र जनतालाई राजेन्द्र लिङ्देनको बखान गर्ने ठाउँसम्म पु¥याउने काम भने शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहालहरूले पु¥याएका हुन् । राजेन्द्र लिङ्देनको लोकप्रियता कांग्रेस, एमाले, माओवादी र तिनका प्रमुख नेताहरूको भ्रष्ट र निरंकुश प्रवृत्ति, कुशासन, असक्षमताको परिणाम पनि हो । यिनीहरूले जतिजति भ्रष्ट शासन चलाउँदै जान्छन्, जति कुशासन चलाउँदै जान्छन्, जति अस्थिरता, अराजकता र असक्षमता प्रदर्शन गर्छन्, राजेन्द्र लिङ्देनहरू उदाउने खतरा त्यतित्यति बढ्दै जानेछ । गणतन्त्रमा राजनीतिक दल र प्रमुख नेताका कारण कैयौँ खराबीहरू देखिएका छन् । जनताले निरीह महसुस गरेका छन् । संसद्, अदालत, सरकार सबै निकम्मा बनेको देखेका जनताले नेताहरूका विरुद्ध आक्रोश पोख्नु स्वाभाविक छ । राजनीतिक दलका नेताहरू खराब हुनुको अर्थ, देशमा सुशासन नहुनुको अर्थ, नेपाली नेताहरू बदनाम हुनुको अर्थ राजतन्त्रको आवश्यकता छ भन्ने हुँदैन, हुन सक्दैन । राजेन्द्र लिङ्देनहरूले जनताको बलिदानबाट प्राप्त भएको स्वतन्त्रताको, मौलिक हकको, गणतन्त्रको फाइदा लिइरहेका छन् । गणतन्त्रबाट फाइदा लिइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सडेगलेको राजतन्त्र बोकेर किन हिँडिरहेको छ भने देशको पिछडिएको अवस्था, अझै पनि राजा मान्ने मान्छेहरू छन् र तिनीहरूको नेता बनिरहन पाइन्छ भन्ने लालसा हुनुपर्छ । एक÷दुई जना नेताको लालसालाई गणतन्त्रवादी नेता÷कार्यकर्ताले मलजल गर्नुहुँदैन भन्ने कुरा सचेतनापूर्वक हेक्का राख्नुपर्छ । गणतन्त्रको विकल्प फेरि पनि गणतन्त्र नै हो । जनताको लामो त्याग, बलिदान र संघर्षले फ्याँकेको राजतन्त्र होइन । राजनीतिक दलका नेता÷कार्यकर्तामा जनताको अधिकार, गणतन्त्र, स्वतन्त्रता, समानताका लागि लाखौँ जनताले गरेको योगदानका बारेमा प्रशिक्षणको अभाव देखिएको छ । त्यसको प्रकट रूपमा नेपाली कांग्रेसको महाधिवेशनमा छर्लङ्गै देखियो । दलहरूले आफ्ना कार्यकर्तालाई प्रशिक्षण गर्न नसकेको देखिनु दयनीय अवस्था हो । यदि गणतन्त्रवादी राजनीतिक दलका नेता÷कार्यकर्ताहरू गणतन्त्रप्रति सचेत भइदिएको भए राजेन्द्र लिङ्देनलाई समर्थन गर्दै हुटिङ गर्ने थिएनन् । कांग्रेसको महाधिवेशन उद्घाटनसत्रबाट के देखिन्छ भने नेपाली कांग्रेसले यस्तो गएगुज्रेको चेतना लिएर जनताको नेतृत्व गर्न सक्दैन । देशमा राजनीतिक दलका प्रमुख नेताका कारण गणतन्त्र बदनाम भएको छ । गणतन्त्र बदनाम हुनुको अर्थ देशमा राजतन्त्र आवश्यक छ भन्ने होइन। गणतन्त्रको यति धेरै बदनाम भएको राजेन्द्र लिङ्देनका कारण होइन, सत्ताधारी दल र तिनका प्रमुख नेताहरूका कारण हो । सत्तामा बसेर गणतन्त्रमाथि मजाक उडाउने, देश र जनताका पक्षमा काम गर्न नसक्ने, तर त्यसको दोष राजेन्द्र लिङ्देनमाथि थोपर्ने कुरा सही हुन सक्दैन । लिङ्देन घोषित रूपमा राजतन्त्र पुनस्र्थापनाका लागि लागेका छन् । राजनीतिक दलहरूले जनताको पक्षमा काम गरेको अवस्थामा लिङ्देनको विचारका विरुद्ध जनताको तहबाटै संघर्ष हुनेछ । नेताहरूले देशको विकास, समृद्धिमा होइन, आफ्ना व्यक्तिगत स्वार्थका लागि सम्पूर्ण पार्टीपङ्क्ति र जनताको शक्तिको दुरुपयोग गरिरहेका छन् । राजनीतिक दलका लाखौँ कार्यकर्ताले दलका निश्चित नेताको स्वार्थपूर्ति गरिदिनुपरेको छ । यस प्रकारको कुशासनका विरुद्ध राजनीतिक दलहरूभित्रै पनि निर्मम प्रकारले लड्नुपर्ने आवश्यकता छ । । राजा ज्ञानेन्द्रले राजतन्त्रलाई जसरी बदनाम गराएका थिए, राजनीतिक दलका नेताहरूले अहिले गणतन्त्रलाई त्यसरी नै बदनाम गराइरहेका छन् । नेताहरूले देश र जनताका विरुद्धमा प्रदर्शन गरेका व्यक्तिकेन्द्रित स्वार्थका पक्षमा तथा गणतन्त्रविरोधी क्रियाकलापका विरुद्धमा सम्पूर्ण जनता सचेत हुनुपर्ने आवश्यकता छ । गणतन्त्रको विकल्प राजेन्द्र लिङ्देनहरूले बोकेको राजतन्त्र होइन, उन्नत प्रकारको गणतन्त्र हो । जहाँ न्याय, स्वतन्त्रता, समानता, मौलिक हकको कार्यान्वयन, विकास र समृद्धि निरन्तर अगाडि बढिरहेको हुन्छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार