सडक पूर्वाधारमा खेलाँची नगर


पूर्वाधार विकासमा कर्णालीको अवस्था कमजोर नै छ । विकासका पूर्वाधारमा कमजोर रहेको कर्णालीमा सडक पूर्वाधारको अवस्था सवल छैन । अहिले पनि हुम्ला सडक संजालमा जोडिन सकेको छैन । डोल्पामा बल्लतल्ल गाडी पुगेका छन् । त्यहाँ पनि सडकको अवस्था राम्रो छैन । अन्य जिल्लाहरुमा सदरमुकाममा सडकको पहुँच राम्रो भए पनि ग्रामीण क्षेत्रहरु अहिले पनि सडकको पहुँचमा छैनन् । स्थानीय सरकार गठन भएपछि केही स्थानमा नयाँ सडक त खनिएका छन्, तर ती पनि सवारी साधन संचालन हुनसक्ने अवस्था बनिसकेको छैन । यस्तो अवस्थामा केन्द्र सरकारले कर्णालीका विभिन्न ४० वटा स्थानीय तहसम्म पुग्ने सडक सुधारको कार्यक्रम अगाडि सारेको छ । अघिल्लो वर्ष तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ती सडकहरुको एकैसाथ शिलान्यास गरेका थिए । तर पनि हालसम्म कर्णालीमा शिलान्यास गरिएका कुनै पनि सडकको काम सुरु हुन सकेको छैन । बरु ती सडकको काम अगाडि बढ्ने वा नबढ्ने भन्नेमा अन्यौलता कायमै छ । स्थानीय तहसँग आफ्नै आम्दानी पर्याप्त छैन । प्रदेश सरकार पनि केन्द्र सरकारले दिने अनुदानको भरमा छ । यस्तो अवस्थामा कर्णालीमा चाहेर पनि सडक पूर्वाधारमा पर्याप्त बजेट विनियोजन गर्न सक्ने अवस्था छैन । यसकारण पनि यहाँ तीव्र र समयमै सडक पूर्वाधारको विकास र स्तरोन्नति गर्ने हो भने केन्द्र सरकारले नै लगानी गर्नुपर्ने हुन्छ । तर केन्द्र सरकारले नै लगानी गर्नका लागि अगाडि सारिएका यहाँका ४० वटा सडकहरुको काम अहिले अलपत्र छ । यी सडकहरु समयमै सुरु भएमा वा आयोजना अगाडि बढेमा यहाँको आर्थिक विकासमा टेवा पुग्नेछ । नागरिकहरु अहिले पनि सडक नहुँदा पैदल हिँड्न बाध्य छन् । दुर्गममा त विरामीलाई अस्पतालसम्म लैजानका लागि मान्छेले नै बोक्नुपर्ने वा हेलिकोप्टरमा महँगो खर्च गर्नुपर्ने अवस्था छ । यो अवस्थाको अन्त्यका लागि पनि जतिसक्यो चाँडो हरेक स्थानीय तहमा सडकको पहुँच र गुणस्तर सुधारमा ध्यान दिनुपर्ने हुन्छ । यसका लागि केन्द्र सरकारले आफैले ल्याएको योजनालाई अब कार्यान्वयन गर्न ढिला गर्नु हुँदैन । सडक नै विकासको पहिलो आधार हो । सडक भएमा स्थानीयले आउजाउमा मात्र होइन, उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउन र जीविकोपार्जनमा सहयोग पुग्छ । सडक पुगेमा नागरिकले उत्पादन गरेका कृषि उपजहरु बजारसम्म लैजान सहज हुन्छ । अर्कोतर्फ गाउँमा सहरबाट निर्माण सामग्रीहरु पनि ढुवानीमा सहज र छरितो हुन्छ । यसले गाउँको विकासमा पनि सजिलो हुन्छ । तसर्थ कुनै पनि हालतमा कर्णालीले पहिलो प्राथमिकतामा सडकलाई नै राख्नु पर्दछ । सडक विना विकासको परिकल्पना गर्न सकिन्न । कर्णालीको समग्र विकास र समृद्धिको पहिलो शर्त वा आधार भनेकै सडक हो । त्यसकारण पनि स्थानीय, प्रदेश र केन्द्र सरकारले सडक निर्माण र स्तरोन्नतिमा ध्यान दिनु आवश्यक छ । यस्तै केन्द्र सरकारले पनि सडक सुधार कार्यक्रमलाई तत्काल सुरु गर्नु पर्दछ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार