राजनीति

कांग्रेसको कर्णाली सभापतिमा ललितजंग


सुर्खेत : नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन समूहका ललितजंग शाही विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी भूपेन्द्रजंग शाहीलाई १०५ मतले पछि पार्दै ललितजंग प्रदेश सभापतिमा विजयी भएका हुन् ।

शनिबार भएको निर्वाचनबाट ललितजंगले ४२२ मत ल्याएर सभापतिमा निर्वाचित हुँदा संस्थापनइतर समूहका भूपेन्द्रजंगले ३१७ मत ल्याएका छन् । यस्तै निधि समूहबाट सभापतिका उम्मेदवार बनेका मोतीराज बमले ७ मत प्राप्त गरेका छन् । जम्मा ७५४ मत खसेकोमा ८ मत बदर भएको निर्वाचन समितिले जनाएको छ । कर्णाली प्रदेशको बाँकी पदाधिकारीमा पनि संस्थापन पक्षको प्यानलकै जित भएको छ । देउवा पक्षबाट उपसभापतिमा कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकायाले जितेका छन् ।

यस्तै सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाया कुमारी शाही निर्वाचित भएका छन् । कर्णाली प्रदेशको पहिलो कांग्रेस सभापति बनेका जुम्लाका शाही यसअघि २०७० सालमा संविधान सभा सदस्य थिए । सभापतिमा पराजित भएका भूपेन्द्रजंग शाही र मोतीराज बम कालिकोटका हुन् । भूपेन्द्रजंग तरूणदलका महामन्त्री हुन् । यसअघि उनी नेपाल विद्यार्थी संघको उपाध्यक्ष पनि थिए । उनी तीन कार्यकाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका थिए ।

२०७० सालको संविधान सभा निर्वाचन र २०७४ को प्रतिनिधि सभामा उम्मेदवार बनेका शाही दुवै पटक माओवादीका महेन्द्रबहादुर शाहीसँग पराजित भएका थिए । मोतीराज बम केही समयअघि मात्र निधि समूहमा लागेका थिए ।

तपाईको प्रतिक्रिया