अब जिल्ला लिगमा पनि रेलिगेशन हुने


सुर्खेत :  यहि मंसिर २१ गतेदेखि वीरेन्द्रनगरमा सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगितामा पहिलो पटक रेलिगेशनसहितको हुने भएको छ । यस वर्षको लिगका लागि हालसम्म दर्ता भएका १७ क्लवमध्ये अघिल्लो लिगको अंक तालिकामा पहिलोदेखि छैठौंैैं स्थानसम्म रहने टोलीले सोझै दोस्रो चरणको लिगमा प्रवेश पाउने छन् । बाँकी टोलीले पहिलो चरणमा हुने नकआउट चरणका खेलमा प्रतिस्पर्धा गर्ने र तीमध्ये पुछारमा रहने दुई टोलीले अर्को वर्ष फेरि नकआउट चरणबाटै प्रतिस्पर्धा गरी अघि बढ्नुपर्नेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ नीति अनुसार जिल्ला लिगमा पनि पुछारका दुई टोली रेलिगेशनमा पर्ने सुर्खेत जिल्ला फुटबल संघका महासचिव गणेशकुमार कार्कीले जानकारी दिए । अंक तालिकाको पुछारमा रहने दुई टोलीले अर्को वर्ष हुने प्रतियोगितामा फेरि प्रतिस्पर्धा लिग चरण्बाटै प्रतिष्पर्धा गर्नुपर्नेछ, उनले भने, यसबाट क्लवहरुबीचमै स्वस्थ प्रतिस्पर्धाको भावना विकसित हुने अपेक्षा लिएका छौं ।

जिल्ला लिगका लागि हालसम्म दर्ता भएका कुल १७ मध्ये ५ वटा नयाँ क्लव रहेको महासचिव कार्कीले बताए । क्लवले पेश गरेका कागजातको छानविन र प्रमाणिकरणपछि मात्र क्लव दर्ताको आधिकारिकता दिइने उनले जानकारी दिए ।
यसपटक वीरेन्द्रनगर उपत्यकाभित्रबाट बौद्ध स्पोर्टस क्लव, भैरव युवा क्लव, राइजिंग एसकेटी क्लव नव प्रवेशीका रुपमा रहेका छन् ।

विगतमा उपत्यका भित्रकै क्लवहरुको बढी सहभागिता रहने जिल्ला लिगमा यसपटक गुर्भाकोटबाट मेहेलकुना स्पोर्टस क्लव, चौकुनेबाट सिंगारीताल युवा क्लव पनि नव प्रवेशीका रुपमा सहभागिता रहनेछ । उपत्यका बाहिरबाट पनि क्लवहरुको उत्साहपूर्ण सहभागिता जनाउनु फुटबलका लागि राम्रो पक्षको भएको बताउँदै महासचिव कार्कीले भने, यसबाट फुटबल प्रतिको लगाव र मोहपनि गाउँ गाउँसम्म पुग्नेछ ।

यसबाहेक प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको लागि अनिवार्य विमा गर्नुपर्ने व्यवस्थापनि गरिएको छ । प्रतियोगिता अवधिभर हुनसक्ने सम्भावित दुर्घटना वा भवितब्यबाट थप आर्थिक भार कसैलाई पनि नपरोस भन्ने उद्देश्यले खेलाडी विमा अनिवार्य गरिएको बताइएको छ । मंसिर २० गते दिउँसो ३ बजे संघको कार्यालयमा खेलतालिका सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यस वर्षदेखि जिल्ला फुटबल संघले विजेता र उपविजेतालाई दिने आप्mनै मौलिक किसिमको ट्रफी दिने तयारी गरेको महासचिव कार्कीको भनाई छ । विगतमा बजारमा पाइने ट्रफी प्रदान गरिंदै आएकोमा अब काँक्रेविहारको प्रचार प्रसार र प्रवद्र्धन समेत गराउने उद्देश्यले काँक्रेविहारको संरचनाकै जिल्ला लिग ट्रफी प्रदान गरिने बताइएको छ ।

आगामी वर्षदेखि पनि जिल्ला लिगका विजेता उपविजेतालाई सोहि किसिमको ट्रफी प्रदान गर्दै काँक्रेविहार संरचनाको ट्रफीलाई सुर्खेत जिल्लाको मौलिक र आधिकारिक ट्रफीका रुपमा स्थापित गर्ने योजना रहेको महासचिव कार्कीले बताए ।

तपाईको प्रतिक्रिया