हुम्लामा हवाई सेवा पुनः सुरु


हुम्ला : हुम्लामा दुई दिनपछि हवाई सेवा पुनः सुरु भएको छ । बिहीबार बिहानबाट लगातार वर्षा भइरहेको कारण हवाई सेवा अवरुद्ध भएको थियो । शनिबार मौसममा सुधार आएपछि हवाई सेवा सुचारु भएको हो ।

नागरिक उड्डयन प्राधिकरण सिमकोट शाखाका प्रमुख मोहन गिरीले शनिबार मौसममा सुधार आएपछि हवाई उडान सुरु भएको बताए। केही दिनअघि मौसममा सुधार नआएको कारण हवाई यातायात अवरुद्ध भएको उनको भनाइ थियो । उनका अनुसार हुम्लामा मौसम बिग्रिँदा नेपालगञ्ज विमानस्थलमा उडान भर्न तयारी अवस्थामा रहेका जहाजहरुले सिमकोटका लागि दुई दिन लगातार उडान भर्न पाएनन् । शनिबार बिहानैबाट भने उडान सुचारु भएको छ ।

शनिबार बिहानै नेपाल एयरलाइन्स, तारा, समिट र सीता एयरका जहाजले उडान भरेका छन् । यससँगै नेपालगञ्जबाट यात्रु हुम्ला आएका छन् । कार्गोको सामान ढुवानीसमेत भएको छ । हवाई सेवा रोकिँदा खाद्य व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीको खाद्यान्न ढुवानीसमेत रोकिएको थियो । शनिबार उडान नियमित भएसँगै खाद्यान्नको ढुवानी पनि सुरु भएको कम्पनीले जनाएको छ ।

तपाईको प्रतिक्रिया