लखरपाटामा सिमेन्ट उद्योग सञ्चालनका लागि प्रक्रिया थालियो


सुर्खेत : सुर्खेतका पश्चिममा पर्ने लखरपाटा सिमेन्ट खानीमा उद्योग सञ्चालनमा ल्याउने कसरत गरिएको छ । बराहताल गाउँपालिकाको वडा नं. ७ मा पर्ने लखरपाटा सिमेन्ट खानी उत्खनन् गरेर पञ्चपुरी नगरपालिकाको वडा नं. ११ मा सिमेन्ट उद्योग सञ्चालन गर्ने कसरथ थालिएको हो ।

सूर्यतारा सिमेन्ट उद्योगले लखरपाटी सिमेन्ट उद्योग सञ्चालनको प्रक्रिया थालेको छ । उद्योग सञ्चालनका लागि सूर्यताराले पञ्चपुरी नगरपालिका वडा नं. ११ मा २३ रोपनी ऐलानी जग्गा किनेको छ । उद्योगलाई ५० रोपनी जग्गा आवश्यक छ । स्थानीयले वनको जग्गा उद्योगलाई दिन तयार भएका हुन् । जीवनज्योती सामुदायिक वन उपभोक्ता समितिले उद्योगलाई आवश्यक जग्गा दिन तयार भएको छन् ।

सबै ऐलानी जग्गा भएको सामुदायिक वनको जग्गा अधिग्रहण गर्नेगरी स्थानीयसँग सहमति भएको बताइएको छ । तर जग्गा अघिग्रहणका लागि सूर्यताराले वडा, नगर र प्रदेश सरकार हुँदै संघीय वन मन्त्रालयमा अनुमति माग गरिएको छ । उद्योगलाई जग्गा दिन वडा कार्यालय, पञ्चपुरी नगरपालिका र कर्णाली प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय हुँदै केन्द्र सरकारका वन मन्त्रालयमा फाइल पेश भएको हो ।

बराहतालबाट चुनढुङ्गा उत्खनन् गरेर पञ्चपुरीमा उद्योग सञ्चालनका लागि सूर्यताराले प्रारम्भिक अध्ययन सम्पन्न गरेको छ । वन मन्त्रालयले जग्गा अधिग्रहणको अनुमति दिए लगत्तै ईआईए गर्ने सूर्यताराले तयारी छ । लखरपाटा सिमेन्ट खानी विशाल सिमेन्ट उद्योगको नाममा छ । विशाल उद्योगले २०७६ सालमा सिमेन्ट खानी लिएको थियो ।

गएको चैतमै विसालबाट सूर्यताराका सञ्चालक मुकुन्द तिमिल्सिनाले सिमेन्ट खानी किनेको छन् । तर कानूनी रुपमा लखरपाटा सिमेन्ट खानी सूर्यताराको नाममा आइसकेको छैन। खानीको नामसारीका लागि कानूनी प्रक्रिया अगाडि बढेको सूर्यताराले जनाएको छ । तिमिल्सेना सिमेन्ट उद्योगी हुन् । उनी यसअघि सम्राट सिमेन्ट उद्योगमा आबद्ध थिए ।

१४ अर्ब लगानी, दश हजारलाई रोजगारी

सूर्यताराले सिमेन्ट उद्योग सञ्चालनका लागि १४ अर्ब लगानी गर्ने भएको छ । उद्योगबाट दैनिक तीन हजार मेट्रिकटन सिमेन्ट उत्पादन गर्ने लक्ष्य छ ।

उद्योग सञ्चालन भएको खण्डमा दशदेखि २० हजार स्थानीयले रोजगारी पाउने छन् । खानी उत्खनन्देखि प्रशोधन र वितरण लगायतका काममा स्थानीयले रोजगारी पाउने छन् । उद्योग सञ्चालन पूर्व विद्युत र सडकको सहज पहुँच आवश्यक पर्नेछ ।

यहीकारण उद्योग सञ्चालन भएपछि पश्चिमको विकास निर्माणमा ठूलो टेवा पुग्नेछ । यस्तै उद्योगबाट निस्किने तापबाट ६ मेगावाट विद्युतसमेत उत्पादन गर्ने कम्पनीको योजना छ । स्थानीय नागरिकले भने उद्योग सञ्चालनमा आउने भन्दै उत्साहित बनेका छन् । ‘पुरानो कम्पनीले उद्योग सञ्चालन गर्न खासै चासो दिएन, नयाँ कम्पनीले छिट्टै काम गर्छु भनेको छ’ वडा नं. ७ का वडाध्यक्ष कुलबहादुर बुचाले भने, ‘सूर्यताराले उद्योग सञ्चालन गर्न आशा देखाएको छ ।’ कम्पनीले खानी उत्खनन्का लागि स्थानीयसँग छलफल गरेर फर्किएको छ ।

यसअघिको विशाल सिमेन्टका प्रतिनिधिसँग आएर सूर्यताराले स्थानीयसँग छलफल गरेको हो । जनप्रतिनिधि र स्थानीयसँग चालु आर्थिक बर्षमै उद्योग सञ्चालनको काम थाल्ने सञ्चालक मुकुन्द तिमिल्सिनाले प्रतिबद्धता जनाएका थिए ।

तानातानमा उद्योग

खानीबाट सिमेन्ट उत्पादन नहुँदै सूर्यतारा सिमेन्ट उद्योग तानातानमा परेको छ । सुर्खेतबाट चुनढुङ्गा लिएर सुदुरपश्चिम प्रदेशमा उद्योग सञ्चालन गर्ने कि कर्णालीमै भन्ने विषयमा विवाद छ । प्रधानमन्त्री शेरबहादुर देउवा लगायतका सुदुरपश्चिमका नेताहरु कैलालीको लम्किस्थित डुडेझारीमा उद्योग राख्ने पक्षमा उभिएका छन् ।

उद्योगका लागि डुडेझारीमा जग्गा उपलब्ध गराउन स्थानीयहरु तयार छन् । तर केन्द्र सरकारका अर्थमन्त्री जनार्दन शर्मा लगायतका नेताहरुले भने सुर्खेतमै उद्योग सञ्चालन हुनुपर्ने अडान राखेका छन् । अर्थमन्त्री शर्माले उद्योगका लागि चाहिने सबै पूर्वाधारहरु बिजुली, बाटोको स्तरवृद्धि,, नयाँ ट्रयाक खोल्ने लगायतका कामहरु गरिदिने प्रतिबद्धता जनाएका छन् ।

खानीबाट उद्योगसम्म चुनढुङ्गा ओसार्न ३० देखि ३५ किलोमिटर लामो बाटो आवश्यक पर्छ । भिन्न भिन्न ठाउँमा गरेर २० किलोमिटर जति बाटो बनिसकेको र बाँकी ठाउँमा भने नयाँ ट्रयाक नै खोल्नुपर्ने छ ।

‘दुई महिनाभित्र काम सुरु हुन्छ’

सूर्यताराले अबको दुई महिनाभित्र सिमेन्ट उद्योग सञ्चालन हुने दाबी गरेको छ । सरकाले उद्योग सञ्चालनको अनुमति दिन ढिलाइ गरेको भन्दै दुई महिनाभित्र उद्योगको काम सुरु हुने दाबी गरेको हो ।

‘उद्योग सञ्चालनका लागि सरकारले अनुमति दिन ढिलाइ गरेको छ’ सूर्यतारा सिमेन्ट उद्योगका प्रतिनिधि अनिश तिवारीले भने, ‘कानूनी प्रक्रिया पुरा हुनेवित्तिकै उद्योग सञ्चालनको काम अगाडि बढ्छ ।’ खानीको उत्खनन् तथा उद्योग सञ्चालनका लागि सरकारी निकायबाटै ढिलाइ भएको उनको दाबी छ । ‘उद्योग सञ्चालन गर्ने भनेर नै खानी लिएको हो, ढिलोचाँडो सिमेन्ट उद्योग सञ्चालन न्छ’ उनले भने, ‘तर सरकारी निकायले कानूनी प्रक्रिया पुरा गर्न ढिलासुस्ती गरेको छ ।’

अबको दुई महिनाभित्र सबै कानूनी प्रक्रिया पुरा हुने उनको दाबी छ । सरकारले उद्योग सञ्चालनका लागि अनुमति दिनसाथ उद्योगका सञ्चालनका बाँकी कामहरु सुरु हुने तिवारीले बताए । ‘हामी त जतिसक्यो चाँडो उद्योग सञ्चालन गर्ने प्रक्रियामा छौँ, तर सरकारबाटै अनुमति दिन ढिलाइ भएको छ’ उनले भने, ‘अबको दुई महिनाभित्र उद्योग सञ्चालनको प्रक्रिया सुरु हुन्छ ।’

तपाईको प्रतिक्रिया