सर्वोच्च अदालतमा पहिलो पटक गोला प्रथाबाट पेसी तोकियो

काठमाण्डौ : सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेसी तोक्न सुरु भएको छ । आज दुईवटा एकल इजलाससहित १० वटा इजलास गठन भएका छन् ।

गोला प्रथामार्फत ११ इजलासमा दुई सय १७ मुद्दाको पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जानकारी दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा कोरोना संक्रमित भएपछि प्रधानन्यायाधीशपछिका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा गोला प्रथामार्फत पेसी र इजलास तोकिएको हो ।

सर्वोच्च अदालतमा आज सबै प्रकृतिका मुद्दामा पेसी तोकिएको छ । सर्वोच्च अदालत नियमावली संशोधन र गोला प्रथाबाट पेसी तोक्नेसम्बन्धी निर्देशिका जारी गरेर सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायाधीशहरुको इजलास गठन गरी मुद्दा तोक्ने अधिकार प्रधानन्यायाधीशबाट कटौती गरेको हो । यसबाट पेसी व्यवस्थापनमा देखिएका विकृति र विसंगति कम हुने अनुमान गरिएको छ ।

गोला प्रक्रियाद्वारा मुद्दाको पेसी तोकिएपछि गएको कात्तिक ८ गतेदेखि इजलास बहिष्कार गरेका सर्वोच्चका न्यायाधीशहरू पनि इजलासमा फर्किएका छन् । नेपाल बार एसोसिएशनले समेत गोला प्रथाको स्वागत गर्दै प्रधानन्यायाधीश सहितको इजलासमा बहस नगर्ने र अन्य न्यायाधीशको इजलासमा सबैखाले मुद्दामा बहस गर्ने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया