जुम्लाको घोडेङ्गामा बस दुर्घटना, दुई जनाको ज्यान गयो

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकामा बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । यस्तै दुई जना घाइते भएका छन् ।

कनकासुन्दरी गाउँपालिकाको गुठिज्यूलादेखि नेपालगञ्ज जाँदै गरेको बस सिंजा गाउँपालिका १ जुम्ला थार्पीबाडास्थित सडकदेखि करिब १०० मिटर तल परेर गाडी दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसार्ईंले जानकारी दिनुभयो । उक्त दुर्घटनामा परी गुराँस गाउँपालिका दैलेख निवासी ३२ वर्षीय बसचालक नविन रावल र पचालझरना गाउँपालिका कालीकोट निवासी ३२ वर्षीय विशाल बमको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रसाईले बताउनुभयो ।

बसमा चारजना सवार थिए । दुर्घटनाको जानकारी पाउने बित्तिकै घाईतेको तत्काल उद्धार गर्न जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षकको नेतृत्वमा नौ जनाको प्रहरी टोली त्यसतर्फ पठाईएको उहाँले बताउनुभयो । घटनास्थलमा प्रजिअ प्रसाई, सशस्त्र प्रहरी उपरीक्षक गगन श्रेष्ठ र प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द्र घटनास्थलतर्फ जानुभएको छ ।

दुर्घटनामा परी टाउकोमा चोट लागेर गम्भीर घाईते भएका कनकासुन्दरी गाउँपालिका ७ जियापाटा निवासी ३२ वर्षीय बीरबल घर्ती र सो गाउँपालिका रोकायाबाडा निवासी ४० वर्षीय उब्जी कार्कीलाई उपचारका लागि लिन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको एम्बुलेन्सले घटनास्थलमा पुगेर फर्केको जिल्ला प्रशासन जुम्लाले जनाएको छ ।

तपाईको प्रतिक्रिया