अब राजनीतिलाई उत्पादनमा जोडनुपर्छ : कमानबहादुर खड्का

बाँकेको वनकटवामा जन्मिएका कमानबहादुर खड्काले कर्मथलो जाजरकोटलाई बनाए । समाज सेवामा रुची राख्ने खड्का झण्डै दुई दशक राजनीतिमा विताइ सकेका छन् । माध्यमिक तहमा पढ्दै गर्दा राजनीतिमा होमिएका खड्का हाल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी जाजरकोटको सचिवालय सदस्य छन् । लामो समयसम्म उद्योग बाणिज्य संघ जाजरकोटको अध्यक्ष पदमा रहेर काम गरिसकेका खड्कासँग आजको जम्काभेट ।
कमानबहादुर खड्का
नेता, नेकपा जाजरकोट

बाल्यकाल

बाँके जिल्लामा जन्मिए पनि मेरो संघर्षको थलो भनेको जाजरकोट हो । जन्मेको तीन महिना हुँदा बुवाआमाले मलाई जाजरकोट ल्याउनु भएछ । जाजरकोटको खलंगामा रहेको शंकर भवन माध्यमिक विद्यालय बाहुनथानामा कक्षा पाँचसम्म पढेँ ।

कक्षा ६ देखी १२ सम्म खलंगाको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा पढेँ । प्लसटू सम्मको पढाइ पूरा गरेपछि पूर्णरुपमा राजनीतिमा होमिएँ ।

१६ वर्षमै राजनीतिमा लागेँ

सामाजिक काममा बढी रुची थियो । कक्षा ९ मा पढ्ने बेलामै राजनीतिको बाल मस्तिष्कमा पसिसकेको थियो । २०४६ सालको परिवर्तनपछि २०४८ सालमा राष्ट्रिय जनमोर्चा पार्टीको विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको विद्यालय कमिटीको सदस्य भएँ ।

२०५२ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टीले सशस्त्र युद्धको घोषणा गरेपछि तीन वर्ष राजनीतिबाट विश्राम लिएँ । २०५३ सालमा जनमोर्चा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी निकट विद्यार्थी संठगनबाट राजनीतिलाई निरन्तरता दिएँ । २०५५ सालमा खलंगा गाविसको उपाध्यक्ष पदमा निर्वाचित भएँ । २०६३ सालमा राप्रपाको जिल्ला सहसचिव भएँ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जाजरकोट अध्यक्ष भएर पनि काम गरेँ ।

नेकपामा प्रवेश

जनमोर्चाबाट राजनीति शुरु गरेको खड्का झण्डै दुइ दशक राप्रपामा आवद्ध भए । तत्कालिन नेकपा एमालेमा राप्रपाका सहमहामन्त्री गोविन्दविक्रम शाह सहितको नेतृत्वमा खड्कासहितको टोली सालमा समाहित भयो ।

२०७२ सालमा तत्कालिन नेकपा एमालेको जिल्ला कमिटी सचिवालय सदस्य तथा आर्थिक विभागमा प्रमुख भएर काम गरे । हाल उनी नेकपाको जाजरकोटको जिल्ला कमिटी सचिवालय सदस्य तथा उद्योग बाणिज्य विभाग प्रमुख छन् ।

सामाजिक क्षेत्रमा योगदान

२०५७ सालमा शंकरभवन माविको व्यवस्थापन समितिको अध्यक्ष भएका खड्का २०६२ सालमा त्रिभुवन उच्च माविको सञ्चालक समितिको सदस्य भए । २०६५ सालदेखी ९ वर्ष उद्योग बाणिज्य संघ जाजरकोटको अध्यक्ष भए ।

निर्माण व्यवसायी संघको सल्लाहकार रहेका खड्का भेरी ज्ञानोदय क्याम्पसको सञ्चालक समितिका सदस्य छन् । तीन वर्ष जाजरकोट अस्पताल विकास समितिको सदस्य भएका खड्काले जाजरकोटका व्यवसायीको हितमा राम्रो काम गरेको दावी गर्छन् ।

‘द्वन्द्वले शिथिल बनेको जाजरकोटको व्यवासयलाई सही गतिमा बढाउन ठूलो योगदान गरेको छु’ खड्का भन्छन्, ‘सडकको सहज पहूच नहुँदा २०६५ साल अघि जाजरकोट सदरमुकामको व्यवसायले गति लिएको थिएन ।

व्यवसायबारे जानकार नहुँदा कयौं व्यापारिहरु पलायन भइसक्नु भएको थियो । अध्यक्ष भएपछि कर तथा व्यापार सम्बन्धीका समस्या पहिचान गरेर व्यवसाय गर्नमा अग्रसर गराएँ ।’ संघमा रहँदा आयातमुखी बस्तुभन्दा जिल्लाकै कृषि उत्पादनलाई व्यवसायीकरण गर्न पहल थाल्यौं ।  जाजरकोटमा रहेका पर्यटकीय गन्तव्य बनाउन भएका गन्तव्यको प्रचारप्रसार र नयाँ गन्तव्यको खोजी ग¥यौं ।

महामारी, प्रकोपबाट प्रभावितलाई राहत वितरण ग¥यौं । सडक मर्मत, सरसफाई जस्ता विविध अभियानहरु आफू अध्यक्षहुँदा सञ्चालन गरे । २०६५ सालमा बन्द भएको साङटरी साल जलविद्युत आयोजनालाई २०६७ सालमा नियमित सुचारु गरे । विद्यालय भवन निर्माण र स्वास्थ्य चौकी स्थापना समेत गरेको खड्का बताउँछन् ।

पारिवारिक सहयोग

२०३७ सालमा तत्कालिन गाविस खलंगा–५ को वडाध्यक्ष भएका बुवाको प्रेरणाले राजनीतिमा होमिएको खड्का बताउँछन् । २०४९ सालदेखी फेन्सी व्यवसाय शुरु गरेका खड्काले उनका श्रीमति र बुहारीले व्यवसाय सम्हालेका छन् ।

‘छोरा र भाइले ठेक्कापट्टा जिम्मेवारी लिएपछि राजनीतिमा लाग्न सहज भएको छ’ खड्काले भने, ‘पूर्णकालिन रुपमा म राजनीतिमा होमिएको छु, परिवारको साथ र समर्थनले राजनीतिमा होमिन थप प्रेरणा मिलेको छ ।’

निष्ठाको राजनीति जरुरी

सम्पत्ति जोड्का लागि राजनीति गर्ने हैन । जनताका लागि काम नगर्दासम्म राजनीतिमा लाग्नुमा कुनै तुक छैन । अहिले कहीँ कतै सुनिन्छ, फन्दा परेको देखिन्छ नि राजनीतिभन्दा सम्पत्ती जोड्नकै लागि काम गरेका कयौं उदाहरण हामी समक्ष छन् ।

राजनीतिमा लागेपछि जनताले हामीलाई विश्वास गरेका हुन्छन् । उनीहरुको विश्वासलाई सधैँ कायम राख्न निष्ठाको राजनीति आवश्यक छ । उत्पादनमा जोड्ने खालका नीति कार्यक्रम अत्यावश्यक छ भने राजनीतिमा लाग्ने हामीले पनि उत्पादनमुखी काम गरेर पूर्णकालिन राजनीतिमा होमिन जरुरी छ ।

तपाईको प्रतिक्रिया