स्वास्थ्यकर्मी व्यवस्थापन


कर्णालीको स्वास्थ्य क्षेत्र सुधारको बारेमा बहस भएको धेरै भयो । यहाँको स्वास्थ्य पूर्वाधार, उपकरण, औषधि र जनशक्ति व्यवस्थापनको बारेमा बारम्बार बहस हुने गर्दछ । तर पनि दुर्गमको हालत उस्तै छ । अर्थात कर्णालीका दुर्गम बस्तीमा अहिले पनि नागरिकले सहज रुपमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।

दुर्गममा न औषधि, न त स्वास्थ्यकर्मी नै उपलब्ध छन् । यसले गर्दा पनि स्थानीयहरु धामीको शरणमा पर्ने गरेका छन् । त्यतिमात्र होइन, बिरामी हुँदा नागरिकले अस्पतालसम्म देख्न नपाउने अवस्था छ । यसका पछाडि धेरै कारणहरु छन् । त्यसमा पनि गाउँमा दरबन्दी र स्वास्थ्य संस्था भएर पनि स्वास्थ्यकर्मीहरु उपलब्ध छैनन् । भौगोलिक विकटता र अन्य सुविधाका कारण दक्ष चिकित्सक र स्वास्थ्यकर्मीहरु दुर्गममा जान मान्दैनन् ।

यसकारण पनि दुर्गममा दरबन्दी भएर पनि स्वास्थ्यकर्मीको अभाव हुने गर्दछ । स्वास्थ्यकर्मी अभावकै कारण कार्यालय सहयोगीले नै उपचार र औषधि गर्ने गरेका समाचारहरु आउने गरेका छन् । यो कर्णालीका लागि दुर्भाग्य नै हो । कर्णालीको यो समस्याबारे राज्य अनवज्ञि छैन । तर पनि यो समस्याको दिर्घकालिन समाधान हुन सकेको छैन । बरु पछिल्लो समय करार कर्मचारीको भरमा यहाँको स्वास्थ्य सेवा संचालन भइरहेको छ । करारमा भर्ना भएका स्वास्थ्यकर्मीले पनि समस्याको समाधान हुन सकेको छैन ।

दरबन्दी भन्दा कम जनशक्ति भएका कारण करारमा भर्ना गरिएको जनशक्तिले पनि यहाँको अभाव टार्ने अवस्था छैन । यसकारण पनि राज्य यहाँको यो समस्याप्रति अब गम्भिर बन्नै पर्दछ । नागरिकलाई सहज रुपमा स्वास्थ्य उपचार दिनु राज्यको दायित्व हो । साथै हरेक नागरिकले बाँच्न पाउनु उसको संवैधानिक अधिकार हो । यसका लागि पनि हरेक नागरिकले विरामी हुँदा भरपर्दाे उपचार र औषधि पाउनु पर्दछ । यसकारण पनि अब दुर्गममा दरबन्दी अनुसारका र आवश्यकता अनुसार चिकित्सक र स्वास्थ्यकर्मीहरुको व्यवस्थापन गर्नु जरुरी छ । यसका लागि राज्यका नीति निर्माता र नेतृत्वकर्ताहरुको गम्भिर बन्नै पर्दछ । एकातिर दुर्गममा दक्ष चिकित्सक छैनन् ।

अर्कोतर्फ भएका चिकित्सक र स्वास्थ्यकर्मीहरु पनि सुगममा मात्र केन्द्रीत बनेका छन् । दुर्गममा कोही पनि जान नमान्ने र सुगममा आवश्यकता भन्दा पनि पहुँचको भरमा जागिर खाने प्रवृत्तिका कारण कर्णालीमा यो समस्या समाधान हुन नसकेको हो । यसकारण अब प्रदेश सरकारले दुर्गमका नागरिकलाई सहज रुपमा उपचार दिलाउन र स्वास्थ्य क्षेत्रको सुधारका लागि आवश्यक नीतिगत व्यवस्था गर्ने, दुर्गममा स्वास्थ्यकर्मीलाई टिकाउन उत्प्रेरित गर्ने र पुरस्कारका योजनाहरु ल्याउन आवश्यक छ । यस्तै पहुँच र शक्तिको भरमा सुगममा मात्र बस्ने प्रवृत्तिलाई तोड्दै निश्चित अवधिसम्म अनिवार्य दुर्गममा काम गर्नुपर्ने बाध्यकारी नियमलाई कडाइका साथ कार्यान्वयन गर्न आवश्यक छ ।

साथै स्थानीय सरकारले पनि स्वास्थ्यकर्मीको दिगो व्यवस्थापनका लागि सोच्न आवश्यक छ । स्रोत र साधनधको व्यवस्थापन गरेर स्थानीय तहले पनि दुर्गममा रहेको अभावलाई टार्न सक्छन् ।

तपाईको प्रतिक्रिया