औद्योगिक क्षेत्र स्थापनाको टुंगो लगाऊ


आर्थिक विकासको मुख्य आधार औद्योगिक विकास हो । औद्योगिकरणले नै आर्थिक अवस्थालाई चलायमान बनाउने गर्दछ । आज जुन स्थानमा औद्योगिकरण भएको छ, त्यही स्थानमा आर्थिक विकासले पनि फड्को मारेको छ ।
यसकारण पनि आर्थिक विकास र समृद्धिका लागि औद्योगिकरण आवश्यक छ । आज संसारका विकसित भनिएका देशहरुमा उद्योग र कलकारखानाको तीव्र विकास भइरहेको छ । कलकारखानाबाटै ती देशहरुले पर्याप्त आम्दानी गरिरहेका छन् । त्यतिमात्र होइन, आज विश्व औद्योगिकरणको प्रतिस्पर्धामा छ ।
उद्योग र कलकारखाना स्थापनाका लागि राज्यले विषेश लगानी पनि गरिरहेका छन् । तर नेपालमा पनि अवस्था त्यस्तो हुन सकेको छैन । उद्योगबाट उत्पादन गर्नेभन्दा पनि नेपालमा तयारी सामानको मात्र बिक्री वितरण धेरै हुने गरेको छ । यसको मुख्य कारण भनेकै हामीकहाँ औद्योगिकरणको सुरुवात नहुनु नै हो ।
अझ राजनीतिक अस्थिरता र हस्तक्षेपका कारण भएका उद्योगहरु पनि बन्द भइरहेका छन् । जसले गर्दा देशमा औद्योगिकरणको युग नै सुरु हुन सकिरहेको छैन । कर्णालीको आन्तरिक आम्दानी कमजोर छ । अर्थात यहाँ प्रदेशभित्र कलकारखाना र उद्योगहरु छैनन् । ठूला उद्योग र कारखाना नहुँदा औद्योगिकरण विस्तार हुन सकिरहेको छैन । सम्भावना धेरै छन् । कच्चा पदार्थको उपलब्धता पनि धेरै छ ।
तर आवश्यक पूर्वाधारको अभावका कारण यहाँ उद्योगहरु स्थापना हुन सकेका छैनन् । त्यसमा पनि यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वले पनि यसतर्फ खासै ध्यान दिएको देखिदैन । यसैको परिणाम आज पनि कर्णालीमा उद्योगहरु स्थापना हुन सकेका छैनन् । अर्कोतर्फ कर्णालीमा स्थापना गर्ने भनिएको औद्योगिक क्षेत्रको योजना पनि अलपत्र छ ।
प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि सुर्खेतमा पाँच बर्षअघि नै सम्भाव्यता अध्ययन गरियो । जिल्लाका विभिन्न स्थानमा जग्गाको खोजी पनि भयो । तर हालसम्म औद्योगिक क्षेत्रको स्थापनाका लागि जग्गाको टुंगो लाग्न सकेको छैन । स्थानीयले जग्गा उपलब्ध गराउने बचन दिएका छन् ।
तर राज्य र प्रशासकीय नेतृत्वले यसका लागि आवश्यक चासो र पहलकदमी लिन सकेका छैनन् । प्रादेशिक औद्योगिक क्षेत्र स्थापना भएमा यस क्षेत्रको आर्थिक विकासमा टेवा पुग्नेछ । उद्योग तथा कलकारखानाहरु स्थापना हुनेछन् । लगानी पनि भित्रिने छ । यसले एकातिर उत्पादनमा बृद्धि हुनेछ भने अर्कोतर्फ रोजगारी पनि सिर्जना हुनेछ । यसकारण पनि औद्योगिक क्षेत्रको स्थापना चाँडो हुनु आवश्यक छ । यसका लागि प्रदेश सरकारले नै आवश्यक पहल चाल्नु आवश्यक छ । केन्द्र सरकारसँग आवश्यक समन्वय गरेर प्रदेश सरकारले सुर्खेतमा यसअघि सम्भाव्यता अध्ययन भइसकेको र स्थानीयले पनि आवश्यक पर्ने जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको स्थानमा नै औद्योगिक क्षेत्र स्थापना गर्नेतर्फ यहाँको राजनीतिक र प्रशासनिक नेतृत्वले अब ढिलाइ गर्नु हुँदैन । हालसम्म अलपत्र अवस्थामा रहेको यो योजना सुरु गर्नका लागि सम्बद्ध सबै पक्षहरु गम्भिर बन्नै पर्दछ ।

 

तपाईको प्रतिक्रिया