लोकदोहोरी गायक राजु परियार सम्मानित

काठमाडौं : लोकदोहोरी गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ ।

बेसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक कार्यक्रमकाबीच परियारलाई सम्मान गरिएको हो। दरबार हाताभित्र पुनर्निर्माण गरिएको शिवमन्दिर र हनुमानको मूर्ति प्रतिस्थापन कार्यक्रमको अवसरमा परियारलाई लमजुङ गाउँसहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो ।

लोकदोहोरीको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँसहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए ।

परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा। जगमान गुरुङ र थापाले सम्मान गरेका हुन्। गायक राजु परियारसँगै उपकुलपति डा। जगमान गुरुङ, त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रमुख डा।बमबहादुर अधिकारी र गाउँसहरका जेष्ठ नागरिक १ सय ४ वर्षका रामबहादुर मालुवालाई अभिनन्दन गरिएको सशस्त्र प्रहरीका पूर्वएआइजी एवं लमजुङ गाउँसहर समाजका सदस्य रोहित थापाले बताए । उनका अनुसार कार्यक्रममा पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापाको समेत उपस्थिति रहेको थियो ।

बेसीसहर– २ चिसापानीमा जन्मिएका परियारले दोहोरी क्षेत्रमा झन्डै १५ हजार बढी गीतमा आवाज दिइसकेका छन् ।

तपाईको प्रतिक्रिया