ट्रेन्डिङमा ‘यात्रा’ र ‘लम्फू’

काठमाडौं : यतिवेला २ नेपाली फिल्म ‘यात्रा’ र ‘लम्फू’ युट्युब ट्रेन्डिङमा छन् ।

सम्राट शाक्यको लेखन तथा निर्देशन रहेको फिल्म ‘यात्रा’ ट्रेन्डिङ नम्बर एकमा छ भने भूपतिको लेखन तथा गोपालचन्द्र लामिछानेको निर्देशनमा बनेको ‘लम्फू’ नम्बर दुईमा छ  ।

१० दिनअघि युट्युबमा सार्वजनिक भएको ‘यात्रा’मा मलिका महत, सलिनमान बानियाँ, सलोन बस्नेत, रियर राईलगायत कलाकार मुख्य भूमिकामा छन् ।

उक्त फिल्मलाई युट्युबमा २८ लाखभन्दा बढी पटक हेरिएको छ भने ८० हजारभन्दा बढीले लाइक गरेका छन् ।

०७५ चैतमा प्रदर्शन भएको फिल्मले व्यावसायिक रूपमा ठूलो सफलता पाएको थिएन । तर, युट्युबमा भने फिल्मलाई अधिकांशले सकारात्मक प्रतिक्रिया दिएका छन्  ।

त्यस्तै ०७५ वैशाखमा प्रदर्शन भएको फिल्म ‘लम्फू’ एक सातामा साढे ११ लाखभन्दा बढी पटक हेरिएको छ ।

२३ हजारभन्दा बढीले लाइक गरेको फिल्ममा ५ सयभन्दा बढीले प्रतिक्रिया दिएका छन्। जसमध्ये अधिकांश सकारात्मक छन् ।

‘लम्फू’मा सलोन बस्नेत, कबिर खड्का, मरिष्का पोखरेल, चाँदनी शर्मालगायत कलाकारको मुख्य भूमिका छ ।

तपाईको प्रतिक्रिया