शान्तिले डराउँदै प्रेमपत्रको जवाफ पठाएकी थिइन

मिनबहादुर छन्तेल ÷ शान्तिकुमारी छन्तेल

चोखो माया गर्नेलाई कसैले पनि रोक्न सक्दैनन् । न आफन्तले रोक्न सक्छन्, न त कुनै जात र भुगालेले नै। उमेर पुगेपछि मान्छेले कसैलाई मन पराउन थाल्छ । अनि एकअर्काविना बाँच्न नसक्ने अवस्थामा पुग्छन् । अनि परिवार र आफन्तको बार नाघेर विहे गर्न पुग्छन् । आफैले मन पराएको र रोजेको मान्छेसँग विहे गर्न पाउँदा धेरै जोडीहरु जीवनमा खुशी पनि हुन्छन् । बर्षौंसम्म पे्रम गरेर एकअर्कालाई बुझेर बिवाह गर्नेहरुको जीवन रहरलाग्दो हुन्छ । सानैदेखि एकअर्काबिचमा भेट भइरहदा बिवाह भएको पनि पत्तो हुँदो रहेनछ । यस्तै भयो हाल सुर्खेतको लेकबेशी नगरपालिकाका उपप्रमुख शान्तिकुमारी छन्तेल र शिक्षक मिनबहादुर छन्तेलको जीवनमा पनि । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको शारासं :

सानैदेखिका साथी

मिनबहादुर छन्तेल र शान्तिकुमारी छन्तेल एउटै गाउँमा हुर्किए । एउटै विद्यालयमा पढे । सँगै विद्यालय जाने र आउने गर्थे । उनीहरु सधै भेट हुन्थे । शान्ति मिनबहादुरकै घर अगाडीको बाटो भएर विद्यालय आउने र जाने गर्थिन् ।

उनीहरु सानैदेखिका साथी जस्तै थिए । विद्यालयमा मात्र होइन, घरमा आएपछि पनि दुबै जनाको भेट हुन्थ्यो । विद्यालय समय बाहेक घरमा भएको बेला उनीहरु कुनै न कुनै अवस्थामा भेट हुन्थे । मिनबहादुर शान्तिभन्दा केही अगाडीको कक्षा पढ्थे । सानैदेखि नै एकअर्कालाई चिन्ने छिमेकी भएकाले पहिले कसले बोलायो भन्ने याद भने छैन ।

पहिलो प्रेमपत्र

उनिहरु साथिकैरुप एउटै गाउँमा बस्ने, जतिबेला पनि भेट भइरहने हुन्थ्यो । उमेर पनि बढ्दै थियो । शान्ति किशोरावस्थामा प्रवेश गरिन् । मिनबहादुर शान्तिभन्दा केही व्यवहारिक भइसकेका थिए । मिनबहादुरलाई शान्ति खुबै प्यारो लाग्थ्यो । शान्तिलाई भने त्यस्तो केही सोच थिएन । एकदिन मिनबहादुरले शान्तिको नाममा चिठ्ठी पठाए । त्यतीबेला अहिलेको जस्तो टेलिफोन र अन्य प्रविधि थिएन ।

उनी त्यतीबेला भर्खर १६÷१७ बर्षको उमेरकी थिइन् । शान्ति धेरै सोझी केटी थिइन् । अनि त्यो पत्र शान्तिले पढिन् । उनले केही जवाफ दिन भने सकिनन् । उनले त्यो चिठ्ठी करिब ५ दिन जत्ती बारबार पढ्नि । उनले यो कुरा कसैसँग पनि भन्न सकेकी थिइनन् । चिठ्ठी पठाएको लामो समयसम्म उनले सोचिन् ।

उनलाई पनि मिनबहादुर राम्रो लाग्थ्यो । उनले जवाफी पत्र लेखेर पठाइन् । तर उनी धेरै डराएकी थिइन् । मिनबहादुर माध्यमिक शिक्षा पास गरेर त्यही आफैले पढेको विद्यालयमा प्रावि तहमा पढाउन थाले । शान्तिसँग अझै भेटघाट बाक्लियो । उनीहरु एकअर्काबिचमा दुखसुख साट्ने काम गर्थे ।

सानोमा लगाएको माया बिर्सन गाह्रो हुँदो रहेछ, शान्ति भन्छिन् । शान्तिलाई मिनबहादुरले साह्रै माया गर्थे । उनी पनि त्यस्तै माया गर्थिन् । शान्तिलाई राम्रोसँग पढ्न उनले सुझाउँथे । शान्तिलाई उनले भनेको गाली पनि मन पथ्र्यो । सबै विर्सेको जस्तो हुन थाल्यो ।

उनीहरुबिचमा केहीदिन भेट नहुँदा के के न भयो जस्तो हुन्थ्यो । दुबै जनाले एकअर्काबिचको मायालाई प्रगाढ बनाउने बाचासमेत गरेका थिए ।

भागेर विहे गरे

उनीहरु एकअर्काबिना जीउन नसक्ने अवस्थामा पुगि सकेका थिए । मिनबहादुरले गर्ने माया र स्नेहसँगै जीवनको सोचाइ देखेर शान्ति उमङ्गीत हुन्थिन् । मिनबहाद्ुर पनि उनको माया र उनको व्यवहारलाई धेरै मन पराउँथे । तर उतिबेला अन्तरजातीय बिवाहलाई गाउँमा मान्यता दिइन्थ्यो ।

मिनबहादुर छन्तेलको छोरा र शान्ति बाहुनकी छोरी हुन् । उनीहरुले कहिलेकाँही यो कुरा गरेर कस्तो समाज होला भनेरसमेत भन्थे । तर मायाको अगाडी कसैको केही लाग्दैन भनेजस्तै चोखो मायामा पनि मरे सँगै मर्ने र बाँचे सँगै बाँच्ने उनीहरुले हिम्मत गरे ।

दुबै जना २०६० सालमा विवाह गरेर भागे । केही समय गाउँमा कुरा काटियो । तर उनीहरुले कसैको कुराको प्रवाह नगरी अगाडी बढे । दुबै जनाले घरपरिवारलाई कन्भिन्स गरे । अनि उनीहरु आफ् नो बैवाहिक जीवन अगाडी बढाए । मिनबहादुर त गाउँमै पढाउँथे ।

शान्ति १० कक्षामा पढ्दै थिइन् । अनि जिम्मेवारीका हिसाबले शान्ति परिपक्व भइसकेकी थिइनन् । तर पनि उनी सबै कुराको ज्ञान भने राख्थिन् । बिवाह गरेर घरमा जाँदा केही असहज महशुस त भएको थियो । तर मिनबहादुरको माया र घरपरिवारले सबै जिम्मेवारी गर्न सिकाएपछि उनी घुलमिल हुन सकिन ।

नीमुन मनाउने रहर मात्रै


उनीहरुको बिवाहपछि केही समय त गाउँ र समाजलाई सम्झाउनमै ठिक्क भयो । विवाह हुनुभन्दा अगाडी उनीहरुले हनिमुन मनाउन काठमाडौं जाने सल्लाह गरेका थिए । तर घरको आर्थिक अवस्थाका कारण उनीहरु हनिमुन मनाउन जान सकेनन् ।

बिवाह गर्नुभन्दा अगाडी मिनबहादुरले हनिमुन मनाउन जाउँला भनेर भन्थे । तर त्यो यो जोडीको रहर मात्रै भयो । उनीहरुबिचमा कहिलेकाँही झगडा पनि हुन्छ । तर झगडा तीन मिनेट पनि रहदैन । मायामा झगडा नहुँदा माया नै लाग्दो रहेन्छ, उनीहरु भन्छन् ।

जीवनमा धेरै संघष

उनीहरुले बिवाहपछि जीवनमा धेरै संघर्ष गर्नुपर्यो । शान्तिको पढाइ सकिएको थिएन। उनले आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने थियो । घरको जिम्मेवारी पनि पुरा गर्नुपथ्र्यो । घरको आर्थिक अवस्था पनि कमजोर थियो । ति समस्याहरुसँग जुध्नुपर्ने हुन्थ्यो ।

मिनबहादुरले पढाउँथे । तर उनको कमाइले मात्र सबै घरको खर्च टार्न पुग्दैन्थ्यो । शान्तिले पनि पढाइलाई निरन्तरता दिइन् । उनले प्लसटु पास गरिन् । दुबै जनाले मेहेनत गरे । जिम्मेवारी थपिदै गयो । छोराछारीसमेत जन्मिएपछि अझै धेरै जिम्मेवारी थपियो । अनि शान्तिले पनि गाउँकै विद्यालयमा पढाउने मौका पाइन् ।

दुबै जनाले पढाउन थालेपछि उनीहरुको जीवनमा केही सहजता आयो । उनीहरु नियमित आफ्नो घरको कृषि कर्म गर्दै विद्यालयमा पढाउन जान्थे । आफ्नो पढाइलाई भने उनीहरुले जसोतसो अगाडी बढाइरहेका थिए । अनि शान्ति पढाउन छोडेर समाजसेवामा लागिन् । मिनबहादुरले स्थायी शिक्षकमा नाम निकाले ।

शान्ति अहिले लेकवेशी नगरपालिकाको उपप्रमुख भएर काम गरिरहेकी छन् भने मिनबहादुर मावि तहको शिक्षक हुन् । उनीहरु अहिले आफ्नो जीवनको लागि मात्र होइन, समाज रुपान्तरणको लागि समेत संघर्ष गरिरहेका छन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा कपिलदेव चपाइँ र आमा तुलसी चपाइँको कोखबाट विस २०४५ पौष १४ गते सुर्खेतको लेकबेशी नगरपालिका वडा नं १० लामिदमारमा शान्तिकुमारी छन्तेलको जन्म भएको हो । इमान्दार र एकदमै गम्भिर स्वभावकी थिइन् ।

उनी घरको जेठो छोरी हुन् । उनका बुवाले कृषि कर्म गर्थे । उनले आफ्नो पढाइमा धेरै मेहेनत गर्थिन् । सानो कक्षा गाउँमै पढेकी उनले विद्यालय शिक्षा नेराप्रावि पोखरीचौरबाट गरेकी हुन् । प्लसटु भने चन्द्रज्योति मावि र खाँडादेवी मावि चौरासेबाट गरेकी हुन् ।

यस्तै बुवा खड्कबहादुर छन्तेल र आमा लिलावती छन्तेलको कोखबाट २०३८ साल कात्तिक १५ गते सुर्खेतको लेकवेशी नगरपालिका वडा नम्बर १० लामिदमारमा नै जन्मिएका हुन् मिनबहादुर छन्तेल । उनी घरको जेठो छोरा हुन् ।

सामान्य परिवारमा जन्मिएका उनले सानो कक्षा पनि गाउँमै पढे । मेहनती र दयालु स्वभावका उनले धेरै दुख गरेर पढेका हुन् । उनलाई विद्यालय पढ्दा सबैले धेरै आश मान्थे । विद्यालय शिक्षा सकेर उनले पढ्दै पढाउँदै गरेका हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट एमए गरेका छन् । अहिले उनी गाउँकै मावि विद्यालयमा पढाउँछन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् ।

दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् । यो जोडी विदाको समयमा फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् । घरमा राजनीतिक र सामाजिक विषयमासमेत बहस गर्छन् ।

उनीहरुले गाउँमा हुने विभिन्न समस्यामा दुबै जनाले सहयोग गर्ने गर्छन । अहिले यो जोडी चखेवाको जस्तो बनेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार