भ्रष्टाचार नियन्त्रणमा नागरिकको भूमिका

विकास र समृद्धिको मुख्य बाधक भ्रष्टाचार बनिरहेको छ । यो नेपालको मात्र समस्या होइन । आज अल्पविकसित र राजनीतिक अस्थिरता भएका देशमा ठूलो चुनौतीको रुपमा रहेको छ । नेपालमा राजनीतिक स्थिरता हुन सकेको छैन ।

बेलाबेला भइरहने राजनीतिक आन्दोलन र शासन प्रणालीको परिवर्तनले विकास निर्माणमा भ्रष्टाचार बढिरहेको छ । नीति निर्माण तहमा नै अनियमितता हुने गरेका छन् । यसले देशको समग्र विकास र समृद्धिको यात्रामा अवरोध गरिरहेको छ ।

हुन त हरेक शासक र सरकारको नेतृत्वकर्ताको मुख्य नारा नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने भन्ने नै हुन्छ । तर नेपालमा त्यसलाई व्यवहारमा कार्यान्वयन गर्ने संस्कारको खडेरी नै छ । अझ जसले देशमा भ्रष्टाचार र अनियमितता रोक्नुपर्ने हो, उनीहरुबाटै भ्रष्टाचारका घटनाहरु भइरहेका छन् ।

राजनीतिक नेतृत्व नै भ्रष्टाचारमा डुबेकाले पनि देशमा रहेका अन्य निकायहरु त्यसबाट अछुतो रहन सकेका छैनन् । यसैको प्रभाव आज देशमा प्रायः सबै निकायमा भ्रष्टाचारको जरो गढेर बसेको छ । नागरिकले तिरेको करबाट सरकार संचालन हुन्छ ।

तर त्यही जनताको पसिनामा नै राजनीतिकज्ञ र कर्मचारीहरुले आँखा गाड्ने गरिरहेका छन् । पछिल्लो समय राज्यको अधिकांश स्रोत स्थानीय तहमा पुगेको छ । स्थानीत तहमा स्रोत पुगेसँगै त्यसको व्यापक दुरुपयोग पनि हुन थालेको छ । कतिपय जनप्रतिनिधिहरु नै घुससहित पक्राउ पर्न थालेका छन् । यसले पनि गाउँका सिंहदरबार भनिने स्थानीय तहमा कसरी भ्रष्टाचार भइरहेको छ भन्ने देखाउँछ ।


त्यतिमात्र होइन, सरकारका जिम्मेवार व्यक्तिहरु नै आयोजना र कार्यक्रममा कमिशन माग्ने गरेका घटनाहरु बाहिर आउने गरेका छन् । यस्तो अवस्थामा कसैको एक्लो प्रयासले मात्र देशमा भ्रष्टाचार रोक्न सम्भव छैन । यसका लागि त आम नागरिकको सहभागिता र खबरदारी आवश्यक छ ।

यसकारण पनि देशमा सुशासन कायम गर्न, विकास निर्माणमा भइरहेको अनियमितता रोक्न र विकास आयोजनामा गुणस्तरियता कायम गर्नका लागि नागरिकले खबरदारी गर्नै पर्दछ । समाजमा हुने विकास नागरिकका लागि नै हो । त्यो विकास नागरिककै करबाट हुने हो ।

यसकारण पनि आफैले तिरेको करबाट हुने विकास निर्माणमा नागरिकले चासो दिनु पर्दछ । त्यहाँ हुने अनियमितता र बदबासीलाई रोक्न नागरिकले नै हिसाव खोज्नु पर्दछ । त्यतिमात्र होइन, हरेक नागरिकले आफ्नो गाउँ र टोलमा हुने विकास निर्माण र त्यहाँ हुने अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि जानकारी गराउन सक्छन् ।
अहिले त सामाजिक संजालको प्रयोगबाट पनि अख्तियारमा उजुरी दिन सकिन्छ । साथै जिल्ला प्रशासन कार्यालयमार्फत पनि उजुरी दिन सकिन्छ । त्यतिमात्र होइन टेलिफोनबाट पनि उजुरी लिने गरिएको छ ।

प्रविधिको सदुपयोग गर्दै नागरिकले विकास आयोजनामा हुने अनियमितता र वद्मासीको बारेमा अख्तियार लगायतका नियामक निकायलाई जानकारी दिएर पनि सुशासन कायम गर्न भूमिका निर्वाह गर्न सक्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार