‘जनताले सम्झन लायक काम गरेका छौं’

बलबहादुर रोकाय

वडाध्यक्ष, वीरेन्द्रनगर–२, सुर्खेत

जनताको सबैभन्दा नजिकको सरकार स्थानीय सरकार हो । जनप्रतिनिधिसँग सहजै पहुँच हुने भएकाले पनि नागरिकले स्थानीय सरकारबाट धेरै अपेक्षा गरिरहेका छन् । तर पनि स्थानीय सरकारले नागरिकको अपेक्षाअनुसार काम गर्न नसकेको गुनासो बढेको छ । साढे चार बर्षको अवधिमा स्थानीय सरकारले धेरै काम गरेका छन् । यो अवधिमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ ले के कस्ता काम गर्यो ? जनप्रतिनिधिले जनताको बिचमा गरेका प्रतिवद्धता पुरा भए त ? यीनै विषयमा केन्द्रीत रहेर वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष बलबहादुर रोकायसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

हिजोआज के गर्दै हुनुहुन्छ ?

जनताको प्रतिनिधि भएकाले जनताकै काममा व्यस्त छु । अहिले हाम्रो पार्टी एमालेको महाधिवेशन पनि चलिरहेको छ । पार्टीको कामको लागि पनि दौडधुप गर्नुपर्ने भएकाले त्यतातर्फ केही समय दिइरहेको छु। यसैमा व्यस्त छु।

विकास निर्माणको अवस्था के छ ?

हामीले वीरेन्द्रनगरका १६ वटा वडाहरु मध्ये वडा नम्बर २ ले मात्र विकासका लागि छुट्याइएको सबै बजेट कार्यान्यन गर्न सक्यो । अहिले पनि छुट्याइएका बजेट कार्यान्वयन शुरु भइसकेको अवस्था छ । करिब ५० प्रतिशत योजनाको सम्झौता समेत भएर काम अगाडी बढिसकेको छ ।

विशेष गरेर वडामा सडक स्तरोन्नतिसँगै खानेपानीका आयोजनाहरुको काम शुरु भएका छन् । कृषि, पशुपालन र आयआर्जनतर्फ पनि केही बजेट हाम्रो वडाको लागि छ । त्यस अन्तरगतका काम पनि हामीले अगाडी बढाइसकेका छौं ।

यो बर्षको बजेटका प्राथमिकता के छन् ?

गतबर्ष हाम्रो वडाको शिक्षा र स्वास्थ्यको सुधारका लागि अधिकांश बजेट खर्च गरेका थियौं । हाम्रो वडा कृषि र पशुपालनको लागि पनि उपयुक्त वडा भएको हुँदा हामीले योबर्ष कृषि, पशुपालनका क्षेत्रलाई प्राथामिकताका साथ बजेट विनियोजन गरिएको छ ।

त्यसअनुसार काम पनि अगाडी बढिसकेको अवस्था छ । विशेषगरी हाम्रो वडाका युवाहरु बेरोजगार बसेको हुँदा हामीले कृषि र पशुपालन क्षेत्रमा आकर्षित गर्नेगरी योजना बनाएका छौं । वडाबाट ५० प्रतिशत अनुदानमा प्लाष्टिक टनेल पनि हामीले दिएका छौं ।

कोभिडका कारण रोजगारी गुमाएका र कृषि पेशामा आवद्धहरुलाई हामीले टनेल दिएका छौं । युवाहरुलाई कृषि र पशुपालन क्षेत्रमा स्वरोजगार बनाउने लक्ष्य लिएका छौं ।

काम गर्दा कस्ता चुनौती आउने रहेछन् ?

साविकको उत्तरगंगाको ७ वडा मिलाएर अहिले एउटा वडा बनाइएको छ । त्यहाँ बिना योजनाअनुसार सडक निर्माण गरिएका छन् । हामी निर्वाचन हुनुभन्दा पहिले यस्ता सडकहरु निर्माण भएका हुन् ।

ति सडकहरुलाई स्तरोन्नति गर्ने क्रमममा त्यहाँ नालाहरु निर्माण गर्न खोजिए पनि विगतमा गुरुयोजना नभएका कारण अहिले विवाद उत्पन्न भइरहेको छ । सँगै अन्य विविध चुनौतीहरुको सामाना गर्नुपर्दो रहेछ । जनताका चाहना धेरै छन् ।

तर हामीसँग स्रोत र साधन न्युन छ । तथापि विकासका काम त अगाडी बढाउनुपर्ने नै रहेछ । हामीलाई दिइएको जिम्मेवारी इमान्दिारिताका साथ हामीले पुरा गरिरहेका छांै ।

तपाइँको वडामा मुख्य समस्या के छन् ?

गुरुयोजना अनुसार सडक निर्माण भएका छैनन् । त्यसले गर्दा हामीले अहिले ति सडकलाई सुधार गर्दा विवाद उत्पन्न भइरहेको छ । अझैं पहिले ६ मिटरसम्म सडक निर्माण गर्ने मापदण्ड परिवर्तन भएर ८ मिटरका हुनुपर्ने भनिएको छ ।

पहिले बनिरहेका घरहरुलाई भत्काउने पर्नेहुन्छ । यसले त ठुलो समस्या सिर्जना गर्यो । पहिलो समस्या हो । त्यसका साथै वडामा विकासका माग धेरै तर बजेट पर्याप्त नहुँदा भने अनुसारको विकास गर्नसमेत समस्या छ । हाम्रो वडामा सुकुम्बासी समस्या धेरै छ । ७५ प्रतिशत ऐलानी जग्गामा मानिसहरु बसोबास गरिरहेका छन् ।

ती बस्तीका नागरिकको मुख्य आयस्रोत भारत लगायतका ठाउँमा गएर मजदुरी गर्ने हो । कोभिडका कारण धेरै मानिसहरुको मजदुरी गर्ने बाटो बन्द भएको छ । बजेट अभावकै कारण उनीहरुलाई स्वरोजगार मुखि बाटोमा लगाउन सकिएको छैन ।

रोजगारी सिर्जना गर्ने योजना के छन् नी ?

रोजगारीको समस्या वडाको ठुलो समस्या हो । हामीसँग प्रयाप्त साधन नहुँदा भनेअनुसारको रोजगारी सिर्जना गर्न सकेका छैनौं । हामीसँग भएको स्रोत र साधनले कृषि, पशुपालन र विभिन्न सीपमुलक तालिम दिएर केही युवाहरुलाई स्वरोजगारको बाटोमा लगाएका छांै ।

जनताको बिचमा गरिएका प्रतिवद्धता पुरा भए त ?

मैले जनताको बिचमा त्यस्तो कुनै पनि आश्वासन दिएको थिएन । मैले मात्र भनेको के हो भने जनताको काम गर्दा कुनै पनि अनियमितता हुन दिन्न भनेको थिएँ । बजेटलाई सही सदुपयोग गर्छु भनेको थिएँ । त्यहीअनुसार काम पनि गरेको छु। मलाइ कुनै लोभ छैन ।

केही युवाहरुलाई रोजगारी दिन्छु भनेको थिएँ । साथै उद्यमी बन्न सिकाउछु भनेको थिएँ । ती कुरा करिब पुरा भएका छन् । हामी जनताको प्रतिनिधिका रुपमा निर्वाचित भएको हुँदा सबै काम जनताकै पक्षमा गर्ने छौं ।

तपाईँ निर्वाचित भएपछि वडामा के परिवर्तन भयो त ?

म निर्वाचित भएपछि सबैभन्दा पहिले त तीनवटा पुलहरु जीर्ण अवस्थामा थिए । तिनको सुधार गरेका छौं । सबै टोलमा सडक पहुँच पुगेको छ । सबै सडक कच्ची थिए भने सडक नाला पनि बनेका थिएनन् ।

अहिले सडक कालोपत्रे हुन शुरु भएका छन् भने सबै बाटोहरु ग्राभेल गरिएको छ । नालाहरु बनेका छन् । शिक्षा क्षेत्रमा पनि सुधार भएको छ । विद्यालय भवनहरु जीर्ण अवस्थामा थिए । ति भवनहरुको सुधारसँगै जस्ता पाताका छाएका भवन पक्की बनेका छन् । विद्यालय घेरबार समेत गरिएको छ । शिक्षा क्षेत्रमा गुणस्तर कायम भएको अवस्था छ ।

स्वास्थ्य क्षेत्रमा पहिले एउटा मात्र भवन थियो । अहिले ६३ लाखमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । वीरेन्द्रनगर भ्यालीभित्रको विकट वडाको रुपमा रहेको मेरो वडामा सबै कुराले पछाडी थियो, अहिले यी सबैमा सुधार आएको अवस्था छ ।

कार्यकाल सकिन केही महिना बाँकी छ, यो अवधिमा के काम गर्नुहुन्छ ?

यो बर्ष छुट्याइएको बजेट सही तरिकाले कार्यान्वयन गर्नतर्फ मेरो ध्यान केन्द्रीत हुनेछ । वडामा विकास भइरकेका र विकास हुन बाँकी योजनाहरुलाई अगाडी बढाउन म रातदिन खटिएको छ । मैले जनतालाई कम्तीमा पनि गरिखाने योजना बोकेको मान्छे हुँ ।

हीअनुसार अगाडी बढ्छु। म अब जनप्रतिनिधि नभए पनि केही ठुला योजना अगाडी बढाएको छु । हाम्रै पालामा रिङरोड बनेको छ । साथै अन्य भौतिक संरचनाहरु प्नि निर्माण भएकाले जनताले पछिसम्म सम्झने छन् भन्ने मलाइ लाग्छ । म सधै जनताकै पक्षमा रहेर काम गर्नेछु।

तपाईको प्रतिक्रिया