‘भिनाजुले बाटो देखाएपछि निजामति क्षेत्रमा आएँ’

दिपेन्द्रकुमार सिंह
सह–लेखापाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुर्खेत

२०६८ सालतिर दिपेन्द्रकुमार सिंहले निकै कठिन समयको सामना गरे । उच्च शिक्षा पढ्दै गर्दा बुवालाई गुमाए । कलिलै उमेरमा अभिभावक गुमाए । पाँच भाई मध्येका दिपेन्द्र कान्छा छोरा थिए । तर पनि बुवाको मृत्युपछि उनले सहारा गुमाएको महशुस गरे । दाजुहरुको आम्दानीको बलियो माध्यम नहुँदा आर्थिक अभावबाट पिरोलिनुपर्छ कि भन्ने चिन्तामा परे । त्यही समय दिपेन्द्रले भिनाजु (देवबहादुर शाही) को ठूलो साथ पाए । भिनाजुले उनलाई आर्थिक अभाव हुन दिएनन् । स्थायी जागिरको लागि बाटो देखाए । उनकै सहयोगका कारण दिपेन्द्र निजामति सेवामा प्रवेश गर्न सफल भए । प्रस्तुत छ, हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सह–लेखापालको रुपमा कार्यरत उनी दिपेद्रको जीवन भोगाई र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

हमेलापात गर्दै हुर्किए

दिपेन्द्र, बुवा खड्ग र आमा देवीसिंह ठकुरीका कान्छा छोरा हुन् । २०५१ साल असार १२ गते जाजरकोटको छेगागाड नगरपालिका १२ काँडाताल्ममा उनको जन्मभयो । त्यही बस्तीमा मेलापात र गाईगोठालो गर्दै उनी हुर्किए ।

कृषक परिवार भएका कारण विद्यालय समयबाहेक उनी मेलापात गर्थे । घर परिवारलाई सघाउँथे । ‘साँझ विहान घरायसी काममा सघाउँथँे’ उनी भन्छन्, ‘ बाल्यकाल त मेलापात गर्दै वितेको हो ।’ एसएलसी पास नहुँदासम्म उनले घरपरिवारलाई सघाए ।

एसएलसी पास भएसँगै मेलापातको दैनिकी छुट्यो । घरदेखि टाढा (जिल्ला सदरमुकाम खलंगा) बसेर अध्ययन गर्न थालेपछि घरपरिवारलाई सघाउनुपर्ने बाध्यता हटेको थियो ।

अरुलाई पढाउँदै, आफूले पढ्दै

दिपेन्द्रले गाउँकै सरस्वती आधारभूत विद्यालयबाट औपचारिक पढाइ सुरु गरे । त्यहाँ कक्षा ३ सम्म अध्ययन गरे । त्यसपछि नारायण माध्यमिक विद्यालबाट पढाइलाई निरन्तरता दिए । नारायणमा उनले कक्षा ४ देखि एसएलसीसम्म अध्ययन गरे । नारायण मावि गाउँभन्दा अल्ली टाढा थियो ।

डेढ घण्टाको दुरीमा भए पनि सानोमा उनलाई विद्यालय पुग्न दुई घण्टा लाग्थ्यो । तर पनि हिँड्नमा दुःख मान्थेनन् । साथीभाइसँग रमाउँदै बाटो काटेको पत्तै पाउदैन्थे । किनकी बाल्यकालदेखि नै उनले उकाली ओराली गर्ने बानी परेका थिए । २०६६ सालमा एसएससी पास गरेपछि त्रिभुवन उच्च माध्यमिक विद्यालय खलंगाबाट उच्च शिक्षा आरम्भ गरे ।

शिक्षक बन्ने सानैदेखि रहर थियो । शिक्षक बन्ने उद्देश्यकासाथ विज्ञान विषयमा प्सलटु (कक्षा ११ र १२) पास गरे । प्सटु पास भएपछि वीएड अध्ययन गर्न रुकुमपश्चिमको शितल क्याम्पस चौरजहारी झरे । सोही समयमा उनले शिवालय गाउँपालिकाको चन्द्रज्योति आधार भूत विद्यालय पढाउने मौका पाए ।

विज्ञान विषय अध्ययन गरेका कारण उनले सहज भयो । क्याम्पसको पढाइ र पढाउने कामलाई सँगसँगै अगाडि बढाए । करिव साढे तीनबर्ष पढ्ने र पढाउने गरे । पढाइका हिसावले उनी मध्यम स्तरका विद्यार्थी हुन् । हालः उनी कानुन विषयमा स्नातक र जनप्रशासन विषयमा स्नातकोत्तर तह अध्ययनरत छन् ।


बुवाको अन्तिम पटक मुख हेर्न पाएनन्

२०६८ सालको कुरा हो । दिपेन्द्र खलंगामा बसेर कक्षा १२ को अध्ययन गर्दै थिए । त्यही समय उनले बुवालाई गुमाउनु प¥र्यो । दुर्भाग्य उनले बुवाको अन्तिम मुहार पनि हेर्न पाएनन् ।

‘बुवाको निधन भएको दिन खबर नै पाइनँ’ उनी भन्छन्, ‘अन्तिम पटक बुवालाई हेर्ने ठूलो धोका थियो, तर गाउँमा पुग्दा अन्तिम दाहसंस्कार भइसकेको रहेछ ।’ त्योबेला उनी मोवाइल फोन बोक्थेनन् । गाउँमा मोटर पुगेका थिएनन् ।

सोहीकारण उनले मृत्युपछि बुवाको अन्तिम पटक हेर्न पाएनन् । बुवालाई भेट्न नपाएको अहिले पनि पछुतो छ ।

अनि भिनाजुले बाटो देखाए…

बुवाको निधनपछि दिपेन्द्रलाई अप्ठेरो महसुस भयो । किनकी घरको आर्थिक अवस्था बलियो थिएन । उनीभन्दा आगाडिका चार दाजुहरु बेरोजगार थिए ।

‘दाईहरुले कमाउने पैसाले घरखर्च चलाउन ठिक्क हुन्थ्यो’ उनी भन्छन्, ‘बुवाको निधनपछि म निकै आत्तिएको थिएँ ।’ ‘पढ्ने खर्च कसले देला ? बुवा विनाको जीवन कसरी चलाउन सकिएलाअप्ठेरा कुराहरु खेलाउन थाले । तर उनका भिनाजु (देबहादुर शाही) ले उनलाई अप्ठेरो पर्न दिएनन् । पढाइ खर्च पु¥याए ।

तिमी प्रयास गर, म सहयोग गर्छु भन्दै हौसल्ला दिए । ‘बुवाको निधनपछि भिनाजुले नै बाटो देखाउनु भयो, म त्यही बाटोमा दौडिए’ दिपेन्द्र भन्छन्, ‘उहाँ (भिनाजु) कै कारण म निजामतिमा आउन सफल भएँ ।’ उसो त दिपेन्द्र शिक्षक बन्न चाहन्थे ।

‘ऊबेला जागिर भनेकैशिक्षक हो भन्ने बुझेको थिएँ, केही समय तयारी पनि गरेँ’ उनी भन्छन्, ‘तर भिनाजुले निजामति क्षेत्रमा लाग भनेपछि लोकसेवा आयोगको तयारी गरँे ।’ सँगैका केही साथीहरुले लोकसेवा पास गरेपछि उनको हौसला बढ्यो । करिव चार बर्षको तयारीपछि उनी निजामति क्षेत्रमा आउन सफल भए ।

२०७४ चैत ६ गते निजामति क्षेत्रमा प्रवेश गरे । नापी कार्यालय इलाम उनको पहिलो कार्यथलो बन्यो । तर त्यहाँ उनी धेरै समय बस्नु परेन । करिव पाँच तीन महिनापछि आफ्नै जन्मभूमि छेडागाडमा फर्किए ।

आफ्नो क्षमता विकास र अध्ययनलाई निरन्तरता दिने उद्देश्यले वीरेन्द्रनगर झरे । २०७६ बैशाखदेखि उनी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुर्खेतमा सहलेखापालको रुपमा कार्यरत छन् । असल मनसायले नागरिकको सेवामा तल्लीन रहने र उच्च तहसम्म पुग्ने उनको अपेक्षा छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार