सुर्खेतमा दश बर्षको अवधिमा थपिए २८ हजार नयाँ घरपरिवार

पछिल्लो दश बर्षको अवधिमा सुर्खेतमा २८ हजारभन्दा बढी नयाँ घरपरिवार थपिएका छन् । जसमध्ये वीरेन्द्रनगरमा मात्रै ६० प्रतिशत नयाँ परिवार थपिएका हुन् । वीरेन्द्रनगर प्रदेश राजधानी भएका कारण घरधुरीको संख्या पनि बृद्धि भएको हो ।

सुर्खेत । २०६८ मा जनगणना हुँदा सुर्खेतमा घरपरिवारको संख्या ७२ हजार थियो । तर यो दश वर्षको अवधिमा जिल्लामा घरपरिवारको संख्या बढेको छ । तथ्यांक अनुसार यो दश वर्षको अवधिमा जिल्लामा २८ हजार नयाँ घरपरिवार थपिएका छन् । हाल जिल्लाभर घरपरिवारको संख्या एक लाखभन्दा बढी पुगेको छ ।

जनगणना कार्यालय सुर्खेतले गत भदौमा गरेको घरधुरी सर्वेक्षण अनुसार सुर्खेतमा २८ हजार नयाँ घरधुरी थपिएको देखाएको हो । तथ्याङ्क कार्यालयका अनुसार पछिल्लो दश बर्षको अवधिमा सुर्खेतमा २८ हजारभन्दा बढी नयाँ घरपरिवार थपिएका छन् । जसमध्ये वीरेन्द्रनगरमा मात्रै ६० प्रतिशत नयाँ परिवार थपिएका हुन् ।

वीरेन्द्रनगर जिल्ला सदरमुकाम तथा प्रदेश राजधानी भएका कारण घरधुरी संख्या बृद्धि भएको कार्यालयले जनाएको छ । सेवा सुविधाका लागि वीरेन्द्रनगरमा बसाई–सराई गरी आउनेको संख्या धेरै छ । वीरेन्द्रनगरमा घरधुरी बृद्धिको मुख्य कारण बसाई–सराई नै भएको तथ्याङ्क कार्यालयको अनुमान छ ।

यद्यपि जनसंख्या बृद्धिका कारण पनि घर थपिने गर्दछन् । वीरेन्द्रनगर बाहेकका क्षेत्रमा घरधुरी बृद्धि हुनुको मुख्य कारण भने जनसंख्या बृद्धि नै भएको कार्यालयले जनाएको छ । घरधुरीमात्रै होइन, यो दश बर्षको अवधिमा जनसंख्या पनि बृद्धि भएको अनुमान तथ्याङ्क कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सुर्खेतको जनसंख्या कुल तीन लाख ५० हजार आठसय जना थियो ।

तर अहिले नै जिल्लामा बृद्धि भएको जनसंख्याबारे एकीन गर्न नसकिने जिल्ला जनगणना कार्यालय सुर्खेतका प्रमुख पोपनारायण पौडेलेले जनाए । जनसंख्या बृद्धिको आधिकारिक पुष्टि जनगणनापछि मात्रै हुने उनले बताए । हाल सुर्खेतसहित देशभर जनगणना चलिरहेको छ । आउँदो मंसिर ९ गतेभित्र देशभरको जनगणना गरिसक्ने लक्ष्य राखिएको छ ।

जिल्लाभर जनगणना गर्न पाँचसय १८ गणक र एकसय १६ जना सुपरीवेक्षक खटिएका छन् । जसमध्ये वीरेन्द्रनगरमा दुईसय तीन जना, भेरीगंगामा ५८ जना, गुर्भाकोटमा ६० जना, लेकवेशीमा ३८ जना, चिङ्गाडमा १७ जना, सिम्तामा ३१ जना, बराहतालमा ३३ जना, पञ्चपुरीमा ४० जना र चौकुने गाउँपालिकामा २७ जना गणक खटिएका हुन् । त्यस्तै संस्थागत रुपमा थप ११ जना गणकहरु खटिएका छन् ।

ति ११ जना भने सुरक्षा निकायको जनगणना गरिरहेका छन् । शनिबारसम्म सबै स्थानमा जनगणना सहज रुपमा चलिरहेको छ । जनगणनापछि सुर्खेतमा जनसंख्या बृद्धिको संख्या एकीन हुने जनगणना कार्यालयले जनाएको छ ।

वीरेन्द्रनगरमा बने तीन बर्षमा दुई हजार नयाँ घर

यस्तै पछिल्लो तीन बर्षको अवधिमा वीरेन्द्रनगरमा झण्डै दुई हजार नयाँ घर निर्माण भएका छन् । आर्थिक बर्ष २०७५÷०७६ देखि २०७७÷०७८ सम्म झण्डै दुई हजार अर्थात कुल एक हजार नौसय २५ वटा नयाँ घर बनेका हुन् । उनीहरु सबैले पूर्ण रुपमा घर निर्माणको नक्सा पास लिइसकेका छन् ।

वीरेन्द्रनगर नगरपालिकाको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा मात्रै वीरेन्द्रनगर आठ सय नयाँ पक्की घर निर्माण भएका छन् । आर्थिक बर्ष २०७७÷०७८ मा झण्डै आठसय अर्थात सातसय ७५ वटा नयाँ घर बनेको वीरेन्द्रनगर नगरपालिकाको भवन तथा वस्ती विकास उपशाखाका सवईन्जिनियर उपेन्द्र लामिछानेले जनाए ।

उनका उनुसार सोही अवधिमा आठसय सय ९० घरले आशिंक नक्सापास गराएका छन् । तिमध्ये आठसय दश वटा घरले पुर्ण नक्सापास गरेका छन् । त्यस्तै आर्थिक बर्ष २०७६÷७७ मा पाँचसय ७५ घर निर्माण भएको छन् । आर्थिक बर्ष २०७५÷७६ मा पनि पाँचसय सय ७५ वटा नै घर निर्माण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । सोही अवधिमा पूर्ण नक्सापास नौ सय ७४ घरले बनाएका थिए ।

वीरेन्द्रनगर प्रदेश राजधानी बनेसँगै बर्षेनी धमाधम घर निर्माण भईरहेको छन् । रत्नराजमार्गदेखि तल्लो क्षेत्रमा अहिले धमाधम नयाँ घर निर्माण भईरहेका छन् । अव्यवस्थित बसोबारका कारण वीरेन्द्रनगर क्रुप बन्ने खतरा बढेको छ । गुरुयोजनाको मिच्दै वीरेन्द्रनगरको खेतीयोग्य जमिनमा घर तथा भवन निर्माणका लागि धमाधम पलटिङ गर्नेक्रम बढ्दो छ । खेतियोग्य जमिन मासिदा कृषि उत्पादन घट्ने निश्चित छ ।

तपाईको प्रतिक्रिया