‘सानैदेखि सरकारी जागिर खाने सोच बोकेको थिएँ’

देवकिरण बुढा लेखा अधिकृत, गुर्भाकोट नगरपालिका, सुर्खेत

इमान्दार र लगनशील कर्मचारी मध्येका एक हुन् देवकिरण बुढा । हाल सुर्खेतको गुर्भाकोट नगरपालिकामा लेखा अधिकृत आठौँ तहमा कार्यरत उनले निजामति क्षेत्रमा तीन दशक पार गरिसकेका छन् । ३३ बर्षको यो अवधिमा उनीसँग निजामति क्षेत्रका धेरै अनुभव छन् । दश बर्षे द्वन्दकालमा रुकुममा रहेर सेवा गरेका उनले पेशाप्रतिको इमान्दारिता र असल मनले नागरिकको सेवा गरेका कारण अहिलेसम्म नमिठो क्षण भोग्नु परेका छैन । प्रस्तुत, उनै बुढाको जीवन भो गाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहरे गरिएको कुराकानीको सम्पादित अंश :

सुखद् बाल्यकाल

देवकिरण बुवा रामबहादुर र जुनादेवी बुढाका पहिलो सन्तान हुन् । २०२४ साल बैशाख २७ गते दैलेखको महावु गाउँपालिका वडा नं. ३ बाँसीमा उनको जन्म भएको हो । मध्यम कृषक परिवारमा जन्मिएका उनको बाल्यकाल गाउँमै वित्यो । कृषक परिवारमा जन्मिएकै कारण सानोमा घाँसदाउरा र मेलापात गरे । स्कूल छुट्टी भएको दिन आमाबुवालाई सघाउँथे ।

घरको जेठो छोरा भए पनि धेरै दुःख भने थिएन । पहिलो सन्तान भएका कारण उनी घरपरिवारमा पनि सबैका प्यारा थिए । आफै जान्नेबुझ्ने भएपछि गाउँ छोडेर जिल्ला सदरमुकाम आए । त्यसपछि उनका दिनहरु भने अली संघर्षमय भए। बाल्यकालदेखिको त्यही संघर्षले उनलाई सफलताको शिखरमा पु¥यायो ।

पढाइमा सधंै अब्बल

गाउँकै नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बाँसीबाट खकरा सिकेका देवकिरण पढाइमा सानैदेखि अब्बल थिए । पढाइमा लगनशिल पनि थिए । पढाइमा अब्बल भएकै कारण शिक्षकहरुले पनि निकै माया गर्थे । माध्यमिक तहमा उनी सधै कक्षा प्रथम हुन्थे । कक्षा ३ सम्म उनले गाउँकै विद्यालयम अध्ययन गरे ।

ऊबेला गाउँमा कक्षा ४ मा पढाइ हुने स्कूल थिएन । जसकाकारण कक्षा ४ को अध्ययन गर्न उनी डाँडीमाडी पुगे । तत्कालीन हिमालय माध्यमिक विद्यालयमा कक्षा ४ को पढाइ पुरा गरे । तर डाँडीमाडीको पढाइले उनलाई चित्त बुझेन । राम्रो पढाइ हुने विद्यालयको खोजी गर्दै जिल्ला सदरमुकाम दैलेख बजार पुगे ।

त्यसपछिको पढाइलाई दैलेख बजारमा रहेको त्रिभुवन माध्यमिक विद्यालयबाट अगाडि बढाए । कक्षा ५ देखि १० सम्मको अध्ययन त्रिभुवन माविबाट पुरा गरेका उनले २०४२ सालमा एसएसली पास गरे । एसएलसीमा भने गणित विषय सोचे जसरी गर्न पाएनन् । एउटा विषय बिग्रिएकै कारण एसएलसीमा दोस्रो हुनुप¥यो । त्यसपछि उच्च शिक्षाको लागि सुर्खेत झरे । तत्कालीन वीरेन्द्रनगर बहुमुखी क्याम्पसबाट आइकमदेखि स्नातकोत्तर तहसम्मको पढाइ पुरा गरे ।

पछि कानूनी ज्ञानका लागि एलएलवी विषय अध्ययन गरेका छन् । पढाइका अलवा उनी विद्यालयमा हुने दौड, हाजिरीजवाफ जस्ता प्रतियोगिताहरुमा सहभागी हुन्थे । लामो प्रतियोगितामा प्राय सधै सहभागी हुन्थे ।

जागिर र पढाइ सँगसँगै

माध्यमिक तह पुरा गरेपछि देवकिरणको जीवन थप संघर्षमय बन्यो । जेठो छोरा भएका कारण आर्थिक पाटोमा सघाउनुपर्ने समय आयो । यहीकारण उच्च शिक्षा पुरा नहुँदै उनी सरकारी जागिरमा जोडिए । सानैदेखि सरकारी जागिरमा जोडिनुपर्छ भन्ने सोच राख्ने उनी २०४५ साल बैशाख ३ गते निजामति क्षेत्रमा प्रवेश गरे ।

मालपोत कार्यालय सुर्खेत पहिलो कार्यथलो बन्यो । कार्यालयमा सहलेखापाल भएपछि दैनिक खर्च धान्न सहज भयो । सुर्खेतमै कार्यथलो भएका जागिर र पढाइलाई सँगसँगै अगाडि बढाए। २०५१ साल फागुन २ गते उनी लोकसेवा आयोगबाट लेखापाल पदमा उत्र्तिण भए। २०५१ सालतिर तत्कालीन माओवादीले जनयुद्ध सुरु गरेको थियो । विद्रोही पक्षलाई जनकारबाही भन्दै हत्याहिंसा गथ्र्याे । त्यहीबेला जनयुद्धको बलियो पकड भएको क्षेत्र रुकुममा उनको सरुवा भयो । त्यसपछि भनेको केही समय भने निकै त्रासपूर्ण रह्यो । सोही समयमा रुकुमका नेपाली कांग्रेसका सभापति हरिभक्त वली र एमालेका यदु गौतमलाई हत्या भएको थियो ।

सदरमुकाममै बसेर पनि सेवा गर्न असहज वातावरण थियो । पेशाप्रतिको इमान्दारीता कहिल्यै भुलेनन् । करिव २२ महिनापछि पुनः सुर्खेतमा सरुवा भएर फर्किए । शसस्त्र विद्रोहको अवधिभर सुर्खेतलाई नै कार्यथलो बनाएर सेवा गरे । शान्ति प्रक्रियापछि भने कर्णालीका विभिन्न जिल्लामा बसेर सेवा गरे । शान्ति प्रक्रियापछि माओवादीको त्रास हट्यो । त्यसपछि कर्मचारीलाई जुनसुकै क्षेत्रमा बसेर भए पनि काम गर्ने वातावरण बन्यो । दुर्गममा जाने कर्मचारीलाई पनि विशेष सम्बोधन गर्ने नीति ल्यायो । त्यसपछि कर्मचारीहरु दुर्गममा जान थाले । हाल सुर्खेतकै गुर्भाकोट नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत छन् ।

छोरी नै हाकिम हुँदा…

निजामित क्षेत्रमा ३३ बर्ष विताइ सकेका देवकिरणसँग धेरै अनुभवहरु छन् । धेरै तितामिठा अनुभवहरु छन् । समयले बाबुछोरी नै एउटै कार्यालयमा रहेर सेवा गर्ने अवसर मिल्यो । २०७५ सालको कुरा हो ।
देवकिरण जिल्ला स्वास्थ्य कार्यालय कालीकोटको लेखापाल र उनकी छोरी डाक्टर पुजा विसी कार्यालय प्रमुख भइन् । यही क्षण उनका लागि निकै अविस्मरणीय रह्यो ।

कानून समय सुहाउँदो हुनुपर्छ

देवकिरणले निजामति क्षेत्रमा काम गरेको तीन दशक पुरा भइसक्यो । आर्थिक क्षेत्रमा रहेर काम गर्दै आएका उनलाई भने कानूनले कर्मचारीलाई हातखुट्टा बाँधि दिएको जस्तै लाग्छ । ‘ आर्थिक ऐन, कानूनहरु समय सुहाउँदा छैनन् । सरकारले बजेट थुपार्छ । तर काम गर्नका लागि हातखुट्टा बाँधिदिन्छ’ उनी भन्छन्, ‘आर्थिक ऐनहरु समय सुहाउँदो नभएकै कारण हरेक बर्ष बजेट फ्रिज जान्छ ।’ ठेक्का तथा टेन्टर प्रक्रिया निकै झन्झटिलो भएको कारण हरेक बर्ष विकासे आयोजनाको बजेट फ्रिज जाने गरेको उनको बुझाई छ ।

‘विकासे आयोजनामा कानूनी प्रक्रिया पुरा गर्दागर्दै आधा बर्ष वित्छ’ उनी भन्छन्, ‘एक बर्षमा गर्ने काम ६ महिनामा गर्न खोज्दा बजेट नै फ्रिज जान्छ ।’ प्राविधिक स्टमेटको तयारी, ठेक्का तथा टेन्डर प्रक्रियाको समय अवधि छोटो बनाउन नसके विकासले कहिले गति नलिने उनको तर्क छ ।

तपाईको प्रतिक्रिया