पत्रकार आचार्यले ल्याए ‘रुइबा’ उपन्यास

नेपाली साहित्य क्षेत्रमा पत्रकारहरूले पनि सक्रियतापूर्वक कलम चलाउन थालेका छन् । लेखन पेसामै लागिरहेका पत्रकारहरू बीचमा पछिल्लो समय आख्यान र गैरआख्यानका कृति प्रकाशनमा प्रतिस्पर्धा जस्तै चलेको छ । यही मेसोमा चिनियाँ अन्तर्राष्ट्रिय रेडियो सीआरआई नेपाली सेवामा कार्यरत पत्रकार चेतनाथ आचार्य पनि उपन्यास लिएर नेपाली साहित्यको बजारमा देखिएका छन् । दसैँको अवसरमा आचार्यको उपन्यास ‘रुइबा’ फिनिक्स बुक्सले प्रकाशन गरेको हो ।

नेपाली साहित्यिक बजारमा रुइबाले फरक स्वाद पस्किएको छ । नेपाली परिवेश र चिनियाँ परिवेशलाई यो उपन्यासले सँगसँगै प्रस्तुत गरेको छ । धादिङ जिल्लाको तामाङ समाजबाट सुरु भएको उपन्यास विभिन्न घुम्ती पार गर्दै चीनमा पुगेको छ । उपन्यासले तामाङ संस्कृति र चालचलनलाई निकै गहन ढङ्गले प्रस्तुत गरेको छ ।

तामाङ संस्कृतिलाई केन्द्रमा राखेर सिर्जना गरिएकाले उपन्यासको नाम ‘रुइबा’ राखिएको आचार्य बताउँछन् । धेरै नेपाली पाठकलाई ‘रुइबा’ शब्दको अर्थ थाहा नभएकाले यो चिनियाँ शब्द हो कि भन्ठान्छन् । आचार्य चीनको राजधानी बेइजिङमा बसेर पत्रकारिता गरिरहेको र बेइजिङमै बसेर उपन्यास लेखेकाले उपन्यासको नाम चिनियाँ भन्ठान्नु स्वाभाविक पनि हो । ‘रुइबा’ चिनियाँ शब्द नभएर तामाङ भाषाको शब्द हो ।

तामाङ जातिको मृत्यु संस्कारमा पछ्याइने एउटा परम्परागत चलन हो ‘रुइबा’ । हिजोआज तामाङ जातिमै लोप हुँदै गएको यो चलनलाई आफूले उपन्यासमा उतारेका आचार्यले बताए । उपन्यासले नेपाली ग्रामीण क्षेत्रको सामाजिक तथा आर्थिक पाटोलाई बोकेको र युवाहरू खाडी क्षेत्र तथा मलेसियामा पठाउने दलाली पेसाले गाउँलाई खोक्रो बनाएको विषयबाट उपन्यास सुरु भएको उनले औँल्याए ।

तामाङ मातृसत्ता प्रणाली अपनाउने जाति हो । तामाङ जातिमा छोरीलाई बिहे गरेर दिँदा माइती पक्षले बाउको थर र हाड दिँदैनन् । बिहे गरेकी चेलीको मृत्यु भएपछि माइतीले अस्तुका रूपमा चेलीको हड्डी ल्याएर सेलाउने चलन छ । यही संस्कृतिलाई व्यक्त गर्ने शब्द हो ‘रुइबा’ । तामाङ भाषामा हड्डीलाई रुइ भनिन्छ । अनि लास जलाएपछि लिइने अस्तुलाई चाहिँ रुइस्याल अथवा रुइबा भनिन्छ । उपन्यासले बोकेको सार यही भएको आचार्य बताउँछन् ।


काठमाडौँ वरिपरि निकै बाक्लो तामाङ जातिको बसोबास रहेको भए पनि तामाङ जातिलाई केन्द्रमा राखेर लेखिएका आख्यानका कृतिहरू निकै थोरै छन् । पूर्व इलाम स्थायी बसोबास गर्ने आचार्यले बेइजिङमा बसेर लेखेको उपन्यासको पृष्ठभूमि चाहिँ धादिङ जिल्लाको उत्तरपश्चिम क्षेत्रका तामाङ जातिको चालचलनका बारेमा केन्द्रित छ । आफूले उपन्यासको आधा भाग तामाङ संस्कृति र आधा भाग चिनियाँ संस्कृतिलाई विषय बनाएर लेखेको उल्लेख गर्दै आचार्यले भने ‘तामाङ संस्कृतिलाई आख्यानमा उतार्नका लागि निकै अध्ययन गर्नुपर्ने रहेछ । तामाङ संस्कृति अध्ययन गर्दै उपन्यास लेख्दा ७ वर्ष लाग्यो ।’

काठमाडौँ वरिपरिको भूभाग तामाङ बस्ती भए पनि सिन्धुपाल्चोक र धादिङका तामाङमा फरक संस्कृति अँगाल्ने थाहा पाएपछि उपन्यास लेखनमा आफूलाई अझ कठिन भएको उनी सुनाउँछन् । ‘काठमाडौँ पूर्वका तामाङ र काठमाडौँ पश्चिमका तामाङका सांस्कृतिक गतिविधिमा धेरै फरक रहेछ’ उपन्यास लेख्दाको अनुभवका आधारमा आचार्यले भने ‘धादिङका तामाङको संस्कृति अध्ययन गर्नका लागि काभ्रेका तामाङलाई सोधेर नहुने रहेछ । आकाश जमिनको फरक पर्ने भएपछि मलाई निकै समस्या भयो ।’

‘रुइबा’ उपन्यासले नेपाली समाजमा व्याप्त गरिबी, भोकमरी, वैदेशिक रोजगार, शोषण, पीडा र आँशुलाई बोकेको छ । यथार्थवादी सामाजिक चित्रण गरिएको उपन्यासले धादिङ र काठमाडौँको जनजीवनलाई निकै आहतपूर्ण तरिकाले पाठकसामु राख्ने प्रयास गरेको आचार्य बताउँछन् ।

विगत २५ वर्षदेखि पत्रकारिता पेसा अँगाल्दै आएका आचार्यको यो छैटौँ कृति हो भने साहित्यिक कृतिमा चाहिँ यो उनको चौथो सिर्जना हो । उनका साहित्यिक कृतिहरूमा रित्तो कथाको तस्बिर ९कथा सङ्ग्रह० २०६८, बुद्धको उपहार ९कथा सङ्ग्रह० २०७१ र उपहार ९कथा सङ्ग्रह० २०७५ प्रकाशित छन् । गैर आख्यानमा मेरा आँखामा चीन ९समसामयिक लेख सङ्ग्रह० २०७२ र चीन चियाउँदा ९संस्मरण० २०७४ प्रकाशित छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार