दुई बर्षसम्म प्रेम सम्बन्ध अनि सल्लाहमा नै विह

नवराज क“डेल ÷ विद्याकुमारी भट्टराई

भनिन्छ नी, जन्म, मृत्यु र विहे व्यक्तिले चाहेर मात्र हुँदैन । अर्थात यी तीन विषय व्यक्तिको नियन्त्रणमा हुँदैनन् । त्यसमा पनि विहे गर्ने र जीवनसाथी रोज्ने काम चाहे अनुसारको नहुन पनि सक्छ । बर्षौंसम्म पे्रम गरेकाहरु बिचमै छुटिन्छन् । देख्दै नदेखेकाहरु पनि विहे बन्धनमा बाँधिनुपर्ने हुन्छ । तर अधिकांशले मन पराएको व्यक्तिसँग नै विहे गर्न चाहन्छन् । मन परेको मान्छेलाई नै जीवनसाथी बनाउन चाहन्छन् । कतिको भने विहेपछि मात्र प्रेम सुरु हुन्छ । कतिपय अवस्थामा भने क्याम्पसमा पढ्दा साथीको माध्यमबाट पनि विहे हुन्छ । यस्तै भयो सुर्खेतका नवराज क“डेल र विद्याकुमारी भट्टराईको जीवनमा पनि । प्रस्तुत छ, यो जोडीसँग गरिएको कुराकानीको शारासं  :

साथीको घरमा जाँदा देखादेख

नवराज कँडेल दैलेखबाट पढाइको लागि सुर्खेत आए । उनले वीरेन्द्रनगरमा रहेको जन माध्यमिक विद्यालयमा पढ्थे । उनीसँग मिल्ने साथीको रुपमा विद्याका दाइ थिए । उनीहरु हरेक समय एउटै बेन्चमा बस्थे । कतै जाँदा पनि दुबै जना सँगै जान्थे । एकदिन विद्याको दाइले नवराजलाई आफ्नो घरमा लिएर गए । साथीले जाम भनेपछि नवराज पनि साथीसँगै विद्याको घरमा गए । त्यहाँ पुगेपछि उनले विद्यालाई देखे । विद्यालाई देखेपछि उनी आकर्षित भए। उनको ध्यान अरुभन्दा विद्यातिरै थियो । उनले केही भन्न सकेनन् । भोलिपल्ट नवराज र उनको साथी वीरेन्द्रनगर फर्किए । फेरी अर्कोदिन पनि नवराजलाई साथीको घरमा जान मन लागिरहेको थियो । उनी समयसमयमा विद्याको घरमा जान थाले । त्यही क्रममा उनीहरुबिच सामान्य कुराकानी पनि हुन्थ्यो । तर नवराजले आफ्नो मनको कुरा भन्न सकेका थिएनन् ।

दुई बर्षसम्म प्रेम सम्बन्धमा

नवराज लगातार विद्याको घरपरिवार र विद्यासँग नजिक हुन थाले । एकदिन उनले विद्यालाई आफुले मन पराएको कुरा भने । विद्या त झसँग् भइन् । उनले एक्कासी दाइको साथीले प्रेम प्रस्ताव राखेको रातभर सम्झिन् । उनले नवराजको सबै बानी व्यवहार बुझ्दै गइन् । उनलाई पनि नवराजको सबै कुरा मन पर्न थाल्यो । अनि विद्याले जवाफ दिँदै आफुले पनि मन पराएको र प्रेम गर्ने बताइन् । अनि उनीहरुको बिचमा प्रेम सम्बन्ध बढ्दै गयो । घरपरिवार र विद्याको दाईलाई सामान्य जानकारी त थियो । तर उनीहरुले सबै थाहा पाएका थिएनन् । उनीहरुले एकअर्काको समस्या मात्रै होइन, भावी योजनासमेत लुकेर बनाउँथे । उनीहरु बिचको बिचको प्रेम सम्बन्ध करिब दुई बर्षसम्म रह्यो ।

नवराजले बिहेको प्रस्ताव राखे

लामो समय उनीहरुबिचमा प्रेम सम्बन्ध रह्यो । नवराजले बिवाह गर्ने प्रस्ताव अगाडी सारे । उनीहरु दुबै जना बिवाह गर्ने मुडमा अगाडी बढे । तर घरपरिवारलाई भने यो सबै जानकारी थिएन । एउटै संसारमा बाँच्ने उनीहरुको चाहना पुरा गर्न प्रेम गरेको दुई बर्षपछि बिवाह बन्धनमा बाँधिए । उनीहरुले २०५४ साल भदौ १७ गते बिवाह गरेका हुन् । बिवाह गरेका शुरुका दिनमा बुहारी भएर आउँदा विद्यालाई केही असहज महसुस भएको थियो । तर नवराजको र घरपरिवारको मायाले उनलाई सहजतामा ल्यायो । उनी विस्तारै सबैसँग घुलमिल हुँदै गइन् ।


हनिमुन मनाउने योजना रद्द

उनीहरुले बिवाहपछि हनिमुन मनाउन जाने योजना बनाएका थिए । त्यतीबेला हनिमुन मनाउने चलन थिएन । उनीहरुले एकपटक हनिमुन मनाउने भनेर बाहिर जाने योजनासमेत बनाएका थिए । तर खासै चलनमा नरहेको र गाउँमा गलत बुझाई हुन्छ भनेर उनीहरुले
हनिमुन मनाउन जाने योजना रद्द गरे । बरु उनीहरु आफ् नो पढाइलाई निरन्तरता दिनको लागि अगाडी बढे । उनीहरुको आफ्नो ध्यान पढाइमा दिए ।

जीवनमा संघर्ष

दुबै जनाले आफन्तकोमा बसेर पढाइ र काममा मेहेनत गरे । उनीहरुबिचमा काम गर्दा सल्लाह र सहकार्य भने सानोसानो कुरामासमेत हुने गथ्र्यो । उनीहरुले सबै जिम्मेवारी पुरा गर्नुपर्ने, आफ्नो पढाइलाई निरन्तरता दिनुपर्ने, जागिरलाई पनि अगाडी बढाउनुपर्ने थियो । उनीहरुले छोराछोरी स्याहार गर्नसमेत फुर्सद पाउँदैन्थे । उनीहरु धेरै संघर्ष गरे । आर्थिक अभाव पनि झेल्नुपर्यो । घरपरिवारमा विभिन्न उतारचढावहरु आइरहे । तर उनीहरु डटेर सामाना गरे । लामो मेहनेत र संघर्षपछि पढाइसँगै सामाजिक क्षेत्रमा काम गर्ने अवसर पाए । त्यसपछि उनीहरुको जीवनमा सहजता आयो । यता विद्याले पनि मेहेनत गरेर पढिन् । उनले पनि उच्च शिक्षा हासिल गरेकी छन् । नवराज भने विभिन्न सामाजिक क्षेत्रमा सक्रिय छन् । उनी अहिले जनहितकारी सहकारीको कोाषाध्यक्ष छन् । छोराछोरीलाई राम्रो शिक्षा दिएका छन् । उनका छोरा इन्जिनियर छन् भने छोरी व्याचलर पढ्दै छन् । जीवनलाई सहज बनाउन संघर्ष गर्न आवश्यक रहेको उनीहरु बताउँछन् ।

कस्तो थियो बाल्यकाल ?

बुवा मणिप्रसाद कँडेल र आमा : कौशिला कँडेलको कोखबाट २०३० साल जेठ ३१ गते दैलेखको गुराँस गाउँपालिका सेरीमा नवराज जन्मिएका हुन् । उनको बाल्यकाल सामान्य नै वित्यो । उनका औपचारकि शिक्षा शान्ति निमावि साविकको सेरी गाविस दैलेखबाट भएको हो । निमाविसम्म सेरीमा पढेका उनले माध्यामिक शिक्षा भने वीरेन्द्रनगरको जनमाविबाट गरेका हुन् । त्यसपछि २०४३ देखी ०४६ उच्च शिक्षा आइकम वीरेन्द्रनगर वहुमुखी क्याम्पसबाट गरेका उनले महेन्द्र वहुमुखी क्याम्पस नेपालगंज एमए गरेका हुन् । यस्तै बुवा पुरीचन्द्र भट्टराई र आमा धनसरा भट्टराईको कोखबाट २०३२ साल चैत १७ गते साविकको जर्बुटा गाविस वडा नं १ सुर्खेतमा विद्याकुमारी भटराईको जन्म भएको हो । सानोमा सामान्य र भद्र स्वभावकी उनको घरपरिवार पनि कृषि पेशा गर्दथे । उनको औपचारिक शिक्षा गाग्रेताल विद्यालयबाट भएको हो । प्राथमिक तहको शिक्षा त्यही विद्यालयबाट गरेकी उनले अमरज्योती माध्यमिक विद्यालयबाट २०५१ सालमा एसएलसी पास गरेकी हुन् । त्यसपछि उनले शिक्षा क्याम्पस सुर्खेतबाट २०५४ आइएड गरेकी उनी पढाइमा धेरै मेहेनत गर्थिन् ।

सल्लाह र सहकार्य

यो जोडीले जुनसुकै काम गर्दा पनि सल्लाह र आपसी समझदारीमा गर्दछन् । काम गर्नुभन्दा पहिले उनीहरु बिचमा छलफल हुन्छ । र काम बाँडफाँड गरेर अगाडी बढाउने गर्दछन् । उनीहरुको योजना जहिले पनि समझदारीमा हुने गर्दछन् । सानो कुरामा पनि सल्लाह गरेर काम गर्छन् । दुबै जना हरेक काम गर्दा एकअर्काको सहकार्य र सहयोग विना कुनै काम गर्दैनन् । यो जोडी कहिलेकाँही फुर्सद मिलाएर रमाइला ठाउँहरुमा घुम्न पनि जान्छन् । घरको खाना बनाउने काम पनि बाँडफाँड गरेर दुबै जनाले काम गर्छन् । सहयोगी स्वभाव र राम्रा ठाउँ घुम्न पनि जान्छन् । आपसी विश्वास र सहकार्यले नै सम्बन्धमा खटपट नल्याउने उनीहरुको बुझाइ छ । त्यही भएर नै उनीहरु सफल जोडी बन्न सफल भएका छन् । उनीहरुले सम्बन्ध टिकाउन एकअर्कालाई विश्वास गर्नुपर्ने र जुनसुकै काममा पनि सल्लाह गर्नुपर्ने सुझाव दिन्छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार