अमेरिकाद्वारा नेपाललाई एक लाख बढी फाइजर खोप प्रदान

काठमाडौं । अमेरिकाले नेपाललाई एक लाख ६२० मात्राको कोभिडविरुद्धको फाइजर खोप प्रदान गरेको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित एक कार्यक्रममा अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपालका निर्देशक सेपिडे केभान्सशाडले मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई सो खोप हस्तान्तरण गरेकी हुन् ।

अनुदान सहायतास्वरूप युनिसेफमार्फत् खरिद गरी टेकुस्थित स्वास्थ्य सेवा विभागमा राखिएका चार थान अत्यन्त न्यून तापक्रमका फ्रिजरमा सो खोप लगाउनु अघिसम्म भण्डारण गरिनेछ ।

कार्यक्रममा बोल्दै निर्देशक केभान्शाडले कोभिड महामारीको समयमा नेपालप्रतिको हाम्रो सहयोगलाई निरन्तरता दिने कार्यक्रम अनुसार १ लाखभन्दा बढी कोभिडविरुद्धको फाइजर खोप नेपाललाई सहयोग गर्न पाउँदा अमेरिकालाई खुशी लागेको बताए ।

उनले यो खोपलाई भण्डारण तथा वितरण गर्नका लागि उचित संरचना समेत सुनिश्चत गर्दै नेपाललाई थप सहयोग गर्न पाएकोमा गर्व लागेको बताइन् । निर्देशक केभान्शाडले अमेरिकाले यसअघि नेपाललाई असारमा एक मात्रा मात्र लगाए पुग्ने १५ लाख ३० हजार मात्राको जोन्सन एण्ड जोन्सन खोप पनि अनुदानस्वरूप उपलब्ध गराइएको स्मरण गराइन् ।

त्यसैगरी, अमेरिकाले करिव १२ करोड २० लाख डलरभन्दा बढीको स्वास्थ्य सुरक्षा सामग्री नेपाललाई उपलब्ध गराइसकिएको पनि कार्यक्रममा जानकारी गराइएको छ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. पोखरेलले अमेरिकाले एक लाखभन्दा बढी मात्राको कोभिडविरुद्धको फाईजर खोप उपलब्ध गराएकोमा आभार व्यक्त गरे ।

अमेरिका कोभिड महामारीको अन्त्य गर्ने र सुरक्षित विश्वको निर्माण गर्ने कार्यमा नेपालसँग सहकार्य गर्न पाउँदा खुशी भएको पनि यूएसएआईडीले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया