मेडिकल शिक्षाको आधार

शिक्षाले मानिसलाई योग्य र क्षमतावान बनाउँछ । शिक्षाले जीवनलाई सहज पनि बनाउँछ । यही कारण आज विश्वमा शिक्षाको महत्व बढेको छ । नेपालमा भने अहिले पनि अधिकांश नागरिक शिक्षाको पुहँचमा छैनन् । बल्लतल्ल छोरीलाई पनि विद्यालय पठाउने र उच्च शिक्षा दिने प्रचलन सुरु भएको छ । कतिपय बस्ती र समुदायमा अहिले पनि छोरीलाई शिक्षा दिनेबारे चासो देखिदैन ।
सामान्य शिक्षा पाउन मुश्किल भइरहेको अवस्थामा प्राविधिक र मेडिकल शिक्षा पाउन सहज हुने भएन । त्यसमा पनि भौतिक विकासमा भर्खर बामे सर्दै गरेको कर्णालीमा मेडिकल शिक्षाको जग बसिसकेको छैन ।

यहीकारण पनि पछिल्ला केही वर्षदेखि मेडिकल शिक्षाको बहस चर्को बनिरहेको छ । यसैका लागि सुर्खेतमा मेडिकल कलेज स्थापनाको बहस भएको धेरै भएको छ । यद्यपि त्यसले मूर्तरुप लिन सकेको छैन । सुर्खेतमा सरकारले नै मेडिकल कलेज स्थापनाका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । तर त्यसले प्रभावकारी रुपमा काम गर्न भने सकेको छैन ।

सुर्खेत कर्णालीको राजधानी हो । यहाँ भौतिक पूर्वाधारको विकास विस्तारै हुँदैछ । लामो मेहनत र संघर्षबाट केही वर्षअघि मात्र सुर्खेतमा विश्वविद्यालय स्थापना भएको छ । यसले यहाँका नागरिकलाई उच्च शिक्षा आर्जन गर्न सहज भएको छ ।
महँगोमा पढ्नकै लागि बाहिर जानुपर्ने बाध्यता टरेको छ । तर अहिले पनि मेडिकल शिक्षा अर्थात डाक्टर पढ्नका लागि बाहिर जानुपर्ने बाध्यता छ । सामान्य आर्थिक अवस्था भएका परिवारले सन्तानलाई डाक्टर पढाउन सक्ने अवस्था छैन । यसको पछाडि नजिकै मेडिकल कलेज नहुनु नै हो ।

यही विषयलाई आत्मसात गर्दै सुर्खेतमा मेडिकल कलेज स्थापनाको प्रक्रिया अगाडि बढेको छ । ढिलै भए पनि सरकारले सुर्खेतमा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पूर्वाधार निर्माण गर्नका लागि स्वीकृति प्रदान गरेको छ । यो कर्णालीको लागि सुखद पक्ष हो । कर्णालीका नागरिकले पनि आँगनमै सहज रुपमा मेडिकल शिक्षा लिन पाउने ढोका खुल्नेछ ।

अब कुनै पनि बहानामा काम गर्न ढिलाइ गरिनु हुँदैन । बहस भएको धेरै भयो । अब काम अगाडि बढ्नु पर्दछ । अर्थात मेडिकल कलेजका लागि जग्गाको टुंगो चाँडै लगाउनु पर्दछ । आवश्यक प्रक्रिया पूरा गरेर स्थानीय, प्रदेश र केन्द्र सरकार मिलेर सहकार्यमा मेडिकल कलेज स्थापनाका लागि गम्भिर हुनै पर्दछ ।

यो आयोजना चाँडै निर्माण भएमा यहाँको मेडिकल शिक्षाको आधार यही मेडिकल कलेज हुनेछ । यसतर्फ सरोकारवाला सबै गम्भिर बन्नुपर्ने हुन्छ । विकासमा भन्दा पनि विकासका लागि राजनीति हुनु पर्दछ । यसो भएको खण्डमा मात्र विकासले गति लिनेछ । आँगनमै मेडिकल शिक्षा आर्जन गर्ने कर्णालीबासीको सपना साकार हुनेछ ।

यसकारण पनि यो आयोजना सफलन बनाउनेतर्फ यहाँको राजनीतिक नेतृत्वले आवश्यक सहजीकरण र सहयोग गर्नु आवश्यक छ । साथै प्रदेश सरकारले पनि यसलाई आफ्नो गौरवको आयोजनाको रुपमा अगाडि बढाउने पहल गर्नु पर्दछ ।

तपाईको प्रतिक्रिया