रहर शिक्षक बन्ने थियो तर निजामतिमा होमिए

हेमकुमार ढकाल
निर्देशक, सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना कार्यालय, सुर्खेत

भनिन्छ, जीन्दगीलाई समय अनुसार चलाउनुपर्छ । अझ भनौं, समय र परिस्थिति अनुसार चल्नु नै सबैभन्दा महानता हो । हो, त्यही समय अनुसार चल्ने मध्येका एक हुन् हेमकुमार ढकाल । सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनामा निर्देशकको रुपमा कार्यरत उनले सानैदेखि शिक्षक हुने सपना देखेका थिए । ऊबेला शिक्षकको जागिर पनि सजिलै पाइन्थ्यो । शहरमाभन्दा गाउँमा शिक्षक बन्न अझ सजिलो थियो । गाउँमै हुर्केका उनले पनि सानैदेखि शिक्षक बन्ने सपना देखे । त्यही सपना पुरा गर्ने उद्देश्यले शिक्षा संकायतर्फ उच्च शिक्षा पढे । तर गाउँमा शिक्षकको जागिर पाउन मुस्कील हुने अवस्था आयो । बरु शिक्षकभन्दा निजामति क्षेत्रमा भविष्य खोज्नेहरु बढ्न थाले । अधिकांश साथीभाई पनि निजामतिकै जागिर खानुपर्छ भन्नथाले । २०५७ सालमा उनले तत्कालीन जिल्ला विकास समिति सुर्खेतमा अस्थायी रुपमा कार्यक्रम अधिकृत भएर काम गर्ने मौका पाए । त्यही अवसर र साथीभाईको संगतले उनी निजामति क्षेत्रमा होमिए । प्रस्तुत छ, उनै ढकालको जीवन भोगाइ र निजामति क्षेत्रको अनुभवमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश :

गाउँमै वित्यो बाल्यकाल

हेमकुमार सानैदेखि कर्मशिल थिए । हरेक कामहरु मन लगाएर गर्थे । कृषक परिवारमा जन्मिएका कारण उनी कर्मशिल थिए । घाँस र दाउरा तथा मेलापात गर्दागर्दै जीवन संघर्ष रहेछ भन्ने बुझे । ‘दुख त थिएन, तर कृषको छोरा भएका कारण सानैदेखि हरेक काममा बाआमालाई सघाउँथे’ उनी भन्छन्, ‘मेलापात गर्दागर्दै जीवन संघर्ष हो भन्ने बुझेँ ।’
कर्मशिल बाल्यकाल विताएका उनले अभावहरु भने कहिलै खेप्नु परेन । आमा हिरादेवी र बुवा पूर्णप्रसादबाट २०३२ साल फागुन २ गते वीरेन्द्रनगर–१६ मेहेलीमा उनको जन्म भएको हो । बाल्यकाल मेहेलीमै वित्यो । ‘कहिले गाईगोठाला त कहिले घाउँदाउरा गर्थँे’ उनी भन्छन्, ‘गाउँमै पढाइ र मेलापात गर्दागर्दै बाल्यकाल वित्यो ।’

अनि शिक्षक बन्ने रहर त्यागे

हेमकुमारले आदर्श मावि मेहेलीबाट कखरा सिके । त्यही विद्यालयबाट कक्षा ८ सम्मको अध्ययन पुरा गरे । त्यसपछिको पढ्नकै लागि उनी वीरेन्द्रनगर झरे । अमरज्योति माध्यमिक विद्यालय नेवारेबाट कक्षा ९ र १० पढे । माध्यमिक तहमा पढ्दा उनी विद्यालयमा हुने वादविवाद, हाजिरीजवाफ, निवन्ध लेखन जस्ता गतिविधिमा रुचि राख्थे । माध्यमिक तह पार गरेपछि भने अतिरिक्त क्रियाकलापमा सहभागी हुने धेरै अवसर पाएनन् ।
२०४८ सालमा एसएलसी पास गरेका उनले सुर्खेत क्याम्पस शिक्षाबाट इन्टरदेखि स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका छन् । शिक्षक बन्ने उद्देश्य लिएर उनले शिक्षा क्याम्पसबाट उच्च शिक्षा पढेका हुन् । ‘ऊबेला शिक्षकको जागिर सहजै पाइन्थ्यो, अन्य जागिरमा त रुचि नै थिएन’ उनी भन्छन्, ‘म त शिक्षक बन्ने उद्देश्यले नै शिक्षा संकाय पढेको थिएँ ।’ तर समयक्रम एउटै भएन । साथीभाईको संगत र समयले निजामति क्षेत्रमा डो¥यायो ।
‘अधिकांश साथीहरु जागिर खाए त लोकसेवाकै खाने हो भन्थे’ उनी सुनाउँछन्, ‘साथीहरुको यही संगतले हौसिएको म अस्थायी जागिर खाएपछि निजामति क्षेत्रमै भविष्य खोजेँ ।’ २०५७ सालदेखि करिव तीन बर्ष उनले तत्कालीन जिल्ला विकास समिति सुर्खेतमा कार्यक्रम अधिकृत भएर काम गर्ने अवसर पाएका थिए । त्यसपछि निजामित क्षेत्रमै भविष्य खोजे । लोकसेवा आयोगको भरपुर तयारी गरे । शिक्षक बन्ने सानैदेखिको सपना त्यागेर २०६० सालमा निजामतिमा प्रवेश गरे ।

विद्यालय निरीषक हुँदै उपसचिव

हेमकुमारले निजामति क्षेत्रमा प्रवेश गरेको १८ बर्ष भयो । १८ बर्षको अवधिमा उनले विद्यालय निरीक्षक हुँदै उपसचिवसम्म पुगेका छन् । २०६० सालमा विद्यालय निरीक्षकबाट निजामति क्षेत्रमा प्रवेश गरेका ढकाल अहिले उपसचिव पदमा पुगेका छन् ।
जीवनमा आइपर्ने सुख, दुःखलाई सामान्य रुपमा लिने ढकालले पेशाप्रतिको इमान्दारिता भुलेनन् । यो अवधिमा उनले धेरै कार्यालयमा रहेर सेवा गर्ने अवसर पाए । तत्कालीन जिल्ला शिक्षा कार्यालय दैलेखको उनको पहिलो कार्यथलो बन्यो ।
केही समयको अन्तरालपछि सरुवा भएर जिल्ला शिक्षा कार्यालय बर्दिया पुगे । त्यहाँ पनि उनको बसाई लामो हुन सकेन । त्यसयता उनले सुर्खेतलाई नै कार्यथलो बनाएका छन् । तत्कालीन क्षेत्रीय शिक्षा निर्देशनालय सुर्खेत र शिक्षा विकास निर्देशनालय सुर्खेतमा बसेर सेवा गरेका उनी केही समय स्थानीय तहमा पुगेर सेवा गर्ने मौका पाए ।
संघीयतापछि दैलेखको दुल्लु नगरपालिका खटिए । २०७६ बैशाखदेखि भने सुर्खेत मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यरत उनी हाल आयोजना निर्देशक जिम्मेवारी सम्हालेका छन् । आफ्नै कार्यकालमा सुर्खेतमा मेडिकल कलेज स्थापना गर्ने उनको अठोट । हाल उनी मेडिकल कलेजका लागि पूर्वाधार निर्माणको योजनाहरु तयार पारिरहेका छन् ।

तपाईको प्रतिक्रिया