दसैँलगत्तै चाँदीको मूल्य बढ्यो, सुनको मूल्यमा सामान्य वृद्धि

दसैँ लागेसँगै चाँदीको मूल्य वृद्धि भएकाे छ । दसैँ सकिएको भोलिपल्ट अर्थात् आज बिहीबार मात्र चाँदीको मूल्य एक हजार २६० रुपैयाँ पुगेको हो । जबकी गत असोज २५ गतेसम्म चाँदीको मूल्य जम्मा एक हजार १८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

२५ गतेबाट बढ्न थालेको चाँदीको मूल्य आज कार्तिक ४ गतेसम्म आइपुग्दा तोलामा ८० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २५ गते एक हजार १८० रुपैयाँमा कारोबार भएर बन्द भएको बजारमा कार्तिक १ गते एकैपटक अधिकतम ४५ रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य एक हजार २२५ रुपैयाँ पुगेको थियो ।

यस्तै, कार्तिक २ गते १० रुपैयाँले वृद्धि हुँदै एक हजार २३५ रुपैयाँ र ४ गते थप २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता सुनको मूल्य भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ । गत असोज २५ गते तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कार्तिक चार गते ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गत बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।

तपाईको प्रतिक्रिया