बागमती प्रदेशका सांसदले लिए दशैं भत्ताबापत ५१ लाख रूपैयाँ

हेटौंडा : बागमती प्रदेशको सांसद तथा मन्त्रीहरुका लागि दशैं भत्ता बापत ५१ लाख १९ हजार ८० रुपैयाँ वितरण गरिएको छ।

संघीय सरकारले कोरोनाको कारण खर्च कटौती गर्दै संघीय सांसदहरूलाई दशैं भत्ता वितरण नगरे पनि बागमती प्रदेश सरकारले भने प्रदेशको मन्त्रीसहितको १०९ सांसदलाई दशैं भत्ता वितरण गरेको हो। प्रदेशसभा सचिवालयले प्रदेशसभाको पदाधिकारी र सदस्यहरूलाई उक्त रकम उपलब्ध गराएको जनाएको छ।

अघिल्लो वर्षको दशैंमा सांसद र स्वकीय सचिवलाई ८२ लाख ५० हजार ७९० रुपैयाँ वितरण गरेको प्रदेश सरकारले यस वर्ष भने स्वकीय सचिवहरूलाई दशैं भत्ता वितरण गरेको छैन। केन्द्र सरकारले कोरोनाका कारण खर्च कटौतीका लागि ल्याएको मापदण्डलाई प्रदेश सरकारले स्वीकृत गरेसँगै सांसद तथा मन्त्रीका स्वकीयहरू दशैं भत्ताबाट वञ्चित भएका हुन्।

कोरोनाका कारण संघीय सरकारले सरकारी खर्च कटौती गर्न मापदण्ड तयार गरेको थियो। सोही मापदण्डलाई स्वीकृत गरेका कारण यस वर्ष स्वकीयहरुलाई भत्ता उपलब्ध नगराइएको प्रदेशसभा सचिवालयका लेखा अधिकृत गोविन्द अधिकारीले बताए। उनले स्वकीयलाई भत्ता उपलब्ध नगराउँदा प्रदेशको करिब ३१ लाख ३१ हजार रुपैयाँ बचत भएको जानकारी दिए।

अधिकारीको अनुसार अघिल्लो वर्ष तीन जना सांसदले दशैंभत्ता फिर्ता गरे पनि यस वर्ष हालसम्म कसैले पनि फिर्ता गरेका छैनन्। सांसदहरूको बैंक खातामा दशैं भत्ता जम्मा गरिदिएको बताए उनले ।

प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सुविधासम्बन्धी विधेयकमा उल्लेख भएअनुसार सभामुखले ६१ हजार ४८० रुपैयाँ, उपसभामुख र प्रमुख प्रतिपक्षी दलको नेताले ५८ हजार रुपैयाँ, समितिका सभापति र मुख्य/प्रमुख सचेतकले ५६ हजार ८४० रुपैयाँ, सचेतकहरुले ५४ हजार ५२० रुपैयाँ र प्रदेशसभा सांसदहरुले ५२ हजार २०० रुपैयाँका दरले दशैं भत्ता पाएका छन् ।

तपाईको प्रतिक्रिया