सुर्खेतमा पनि भित्र्याइयो फुलपाति

सुर्खेत । आज फूलपाती अर्थात बडा दशैंको सातौं दिन । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइएको छ । सुर्खेतमा पनि पुजारीसहित सुरक्षा निकायहरुले फुलपाती भित्र्याएका छन् । मंगलगढीस्थित सैनिक महाविद्यालयमा रहेको दशैँ घरबाट फूलपाती लिएर जिल्ला प्रशासन कार्यालयमा भित्र्याइएको हो ।

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले विधिवत पूजा गरेर फुलपाती भित्र्याउनु भएको छ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइने चलन छ ।

देवीलाई बलियो बनाउन सहायक देवीको भूमिका हुने शास्त्रीय मान्यता पनि छ । फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजाराधना गरिन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि छ ।

तपाईको प्रतिक्रिया