सीमा वार्ता : भारतले ‘अनुचित माग’ राखेको चीनको आरोप

सीमा विवादबारे भएको वार्तामा भारतीय पक्षले ‘अनुचित माग’ राखेको चीनकाे आरोप  छ । चिनियाँ जनमुक्ति सेनाको पश्चिमी थिएटर कमान्डका प्रवक्ता कर्नेल लोङ शाओहुवाले चिनियाँ पक्षले सैन्य अधिकारीहरूको वार्तामा तनाव कम गर्नका लागि ‘ठूलो पहल’ गरेको दाबी गरेका हुन् ।

‘तर भारत आफ्नो अनुचित र अवास्तविक मागमा अडिग रह्यो जसले छलफलमा अप्ठ्यारो खडा गर्‍यो,’ सोमबार जारी गरिएको विज्ञप्तिमा भनिएको छ । दुई महिनाको अन्तरालपछि भारत र चीनका सैन्य अधिकारीबीच आइतबार पुनः एक उच्चस्तरीय वार्ता भएको थियो । समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार लद्दाखको पूर्वी क्षेत्रमा बचेका सैनिकलाई पनि हटाउने विषयमा सो बैठकको आयोजना गरिएको थियो । कोर कमान्डर स्तरको वार्ताको यस १३ औँ चरण पूर्वी लद्दाखको वास्तविक नियन्त्रण रेखा (एलएसी) को चीनको हिस्सामा पर्ने मोल्दोमा आयोजना भएको जनाएको छ ।

लगभग तीन हप्ताअघि भारतीय विदेशमन्त्री एस जयशंकरले दुशांबेमा चीनका विदेशमन्त्री वाङ यीसँग भेटघाट गरेका थिए । सो भेटमा उनले दुवै देशले पूर्वी लद्दाखको बाँकी क्षेत्रको मुद्दालाई पनि चाँडोभन्दा चाँडो समाधान गर्न काम गर्नुपर्ने बताएका थिए । दुई नेताबीचको छलफल एससीओ शिखर सम्मेलनका दौरान १६ सेप्टेम्बरमा भएको थियो ।

यसअघि भारत र चीनका सैन्य अधिकारीबीच ३१ जुलाईमा १२ औँ चरणको वार्ता भएको थियो । यसको केही दिनपछि दुवै देशका सैनिक गोगराबाट पछि हटेका थिए । सो क्षेत्रमा शान्ति बहला गर्ने दिशामा सो कदमलाई महत्त्वपूर्ण मानिएको थियो । गत वर्ष सो क्षेत्रमा भारत र चीनबीच कयौँ झडप भएका थिए । यो वर्षको सुरुवातमा भारतले सीमा क्षेत्रमा ५० हजार थप सैनिक पठाएको थियो ।

तपाईको प्रतिक्रिया